कांग्रेस जिल्ला अधिवेशन सर्‍यो



काठमाडौं, (नेस) ।

नेपाली कांग्रेसको जिल्ला अधिवेशन दुई दिन पर सरेको छ । यसअघि फागुन १३ गते निर्धारण गरिएको अधिवेशन दुई दिन पछि सारेर फागुन १५ गते हुने भएको हो । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेको संयोजकत्वमा केन्द्रीय कार्यालय वीपी स्मृति भवन ललितपुरमा बसेको बैठकको निर्वाचनसम्बन्धी निर्णयहरू विज्ञप्तीमार्फत जानकारी दिएको छ ।

कांग्रेसको सिन्धुली, सिन्धुपाल्चोक, चितवन, मकवानपुर, नवलपुर, बाँके, अछाम, कैलाली, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा जिल्लामा अधिवेशन हुन बाँकी रहेको छ ।

नेपाली कांग्रेसको विधान (संशोधनसहित) को धारा ५९ को व्यवस्था र सिद्धान्तलाई आत्मसात् गर्दै पार्टीको कुनै तहको अधिवेशनमा कार्यसमितिको पदाधिकारी वा सदस्य पदमा उम्मेदवार भई पराजित भएको व्यक्ति सोही अधिवेशन अवधिमा सोभन्दा वा तल्लो तहको कार्यसमितिको पदाधिकारी वा सदस्य पदमा उम्मेदवार हुन नमिल्ने तर महाधिवेशन प्रतिनिधिको उम्मेदवार भई पराजित भएको क्षेत्रीय प्रतिनिधिले एकभन्दा बढी निर्वाचन भएको जिल्लामा, जिल्ला कार्यसभापतिबाहेक अन्य पदमा उम्मेदवारी दिन सकिने बताएको छ ।

साथै प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिको सभापति र प्रदेश सभा क्षेत्रीय कार्यसमिति सभापतिले मनोनीत गर्ने बढीमा सात÷सात जना क्षेत्रीय प्रतिनिधिले पार्टीको चौधौं महाधिवेशनअन्तर्गत हुने जिल्ला अधिवेशनमा भाग लिन र जिल्ला कार्यसमितिको निर्वाचनमा मतदान गर्न नमिल्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्