पूर्व फुटबलर खड्का दोषी ठहरिए



काठमाडौं ।

नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान हरि खड्का भ्रष्टाचार मुद्दामा विशेष अदालतले दोषी ठहर गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खड्काविरुद्ध गत माघ १२ गते नक्कली शैक्षिक प्रमाणपत्र को मुद्दा दायर गरेको थियो । उक्त मुद्दामा पूर्व फुटबलर दोषी ठहर भएका हुन् । खड्कालाई विशेष अदालतले दोषी ठहर गरेसँगै ५ हजार रकम पनि जरिवाना तिराउने निर्णय गर्यो ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानअन्तर्गत केन्द्रीय खेलकुद समितिमा कार्यरत सई खड्काको प्रवीणता प्रमाणपत्र तहको शैक्षिक प्रमाणपत्र नक्कली भन्दै अख्तियारमा मुद्दा परेको थियो । उनले भारतबाट जारी गरेको शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरेका थिए । उनले सोही प्रमाणपत्रको आधारमा २०५५ कात्तिकमा खुला प्रतिस्पर्धाबाट प्रहरी सहायक निरीक्षक पदमा नियुक्ती भएको अख्तियारको तर्क रह्यो ।

खड्काले उक्त पदबाट राजीनामा दिएको करिब ६ वर्षपछि अख्तियारमा मुद्दा दर्ता भएको थियो । २०५९ सालमा प्रहरी नायब निरीक्षक पदमा बढुवा भएका उनले २०७२ सालमा उक्त पदबाट राजीनामा दिएका थिए । उनले नक्कली प्रमाणपत्रको आधारमा पदोन्नति भएर सरकारलाई हानीनोक्सानी पुर्याई आफुसमेतलाई लाभ हुने बदनियत राखि भ्रष्टाचारजन्य काम गरेको अख्तियारद्वारा सार्वजनिक गरिएको प्रेस विज्ञप्तिमा उल्लेख रहेको छ । उनलाई साविक भ्रष्टाचार ऐन २०१७ को दफा १२ र २९ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम दण्ड सजाय माग गरिएको अख्तियारले जनायो ।

खड्काले विभागिय टिम नेपाल पुलिस क्लबको नेतृत्व पनि गरेका थिए । उनको कप्तानीमा पुलिसले ए डिभिजन लिग उपाधि जितेको थियो । साथै, उनी नेपाली फुटबलमा सर्वाधिक १३ अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडी पनि हुन् । खेलाडी करियरबाट संन्यास लिएपछि उनले महिला राष्ट्रिय फुटबल टिमका प्रशिक्षक र पुरुष राष्ट्रिय टिमका सहायक प्रशिक्षकको रूपमा पनि काम गरे । हाल उनी अखिल नेपाल फुटबल संघ (एन्फा) मा महिला विभागमा प्रमुख पदमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्