दुःखको समयमा पनि सुख तपाईंभित्रै छ



  • प्रेम रावत

समय त बितिरहन्छ । हामी जुन चीजका पछि लागे पनि समय फेरिइरहन्छ, हामी परिवर्तन भइरहन्छौँ । कहिले यता गइरहेका हुन्छौँ, कहिले उता गइरहेका हुन्छौँ तर मनले के भनिरहेको हुन्छ ?
दुईजना मानिस गइरहेका थिए । उनीहरूले एउटा एकदमै मजाले फहराइरहेको झन्डा देखे । एकजनाले भन्यो, ‘यो झन्डा फहराइरहेको होइन । हावा नै यस्तै तरिकाले चलिरहेकाले यो यताउता हल्लिरहेको छ ।’

अर्कोले भन्यो, ‘होइन, यो त झन्डा हो । झन्डा नै फहराइरहेको छ ।’
उताबाट एकजना मानिस आइरहेका थिए । तिनीहरूले ती मानिसलाई रोकेर भने, ‘लौ न, हाम्रो शङ्काको निवारण गरिदिनुपर्यो । एकजनाले भनिरहेको छ– हावा यताउता चलिरहेकाले यो पनि यताउता फहराइरहेको छ । अनि अर्कोले भनिरहेको छ– होइन, यो झन्डा नै यताउता फहराइरहेको छ ।’ ती मानिसले भने, ‘न हावा फहराइरहेको छ, न त झन्डा फहराइरहेको छ । तपाईँहरूको मनचाहिँ यताबाट उता फहराइरहेको छ । यसकारण तपाईँहरू एक–आपसमा यो कुरा गरिरहनुभएको छ ।’

एउटा समय त्यस्तो पनि आउनेछ जतिखेर झन्डा पनि फहराउने छैन । एउटा समयमा हावा पनि चल्नेछैन तर तपाईँको मनचाहिँ फहराइरहनेछ । कहिले यता जान्छ, कहिले उता जान्छ । यसर्थ यदि कोही यस्ता व्यक्ति आउँछन् जसले आफ्नो सन्देशका माध्यमबाट ज्ञानद्वारा हाम्रो जीवनमा प्रकाश ल्याउँछन् भने के हामीले ‘वास्तवमा म भड्किन चाहन्न’ भनेर आफ्नो जीवनका बारेमा सोच्नु आवश्यक छैन र ! म त्यतातिर जान चाहन्छु, जहाँ मेरो वास्तविक गन्तव्य हो । त्यहाँ पुगेपछि मलाई शान्तिको अनुभूति हुनेछ । जहाँ पुगेर म आपूmले आपूmलाई राम्रोसँग बुझ्न पाउनेछु ।

यदि कसैको विवाह भयो भने मानिसहरूले आफ्ना सारा नातेदारहरूलाई बोलाउँछन् । त्यस बखत कहिल्यै यस्तो एउटा विचार पनि आउँछ होला त– यदि यो श्वास आएन भने एकजना पनि आफन्त हुनेछैन । कुनै नाता हुनेछैन । यी वर–वधूको त भर्खर–भर्खरै मात्रै विवाह भएको छ, तर यिनीहरुको वास्तविक नाता के हो भनेर कसैले पनि विचार गर्नुहुन्न होला !’ त्यो श्वास नै त हो । यदि श्वास नहुने हो भने जग्गे कसले घुम्थ्यो ? कसैले पनि घुम्दैनथ्यो । जे जति पनि भइरहेको छ नि ! त्यो सबै तपाईँ जीवित हुनुभएकाले भएको हो । अनि अर्को कुरा त के हो भने, के कहिल्यै हामीले किन जीवित छौँ भन्ने बारेमा बुझ्ने कोसिस गर्यौँ त ? किन यो श्वास आइरहेको छ ! तपाईँ जे हुनुहुन्छ, यो के हो ? तपाईँ यी तत्वहरूले बन्नुभएको छ– कार्बन, अक्सिजन, हाइड्रोजन, नाइट्रोजन, क्याल्सियम, फोस्फरसबाट । अनि जुन दिन यो श्वास रहँदैन तब यी सारा चीज फेरि जहाँ–जहाँबाट आएका हुन्, फर्केर त्यसमै विलय हुनेछन् । त्यसपछि के रहन्छ त ? केही रहँदैन । त्यसैले किन आएका छौँ ? हामी के हौँ ! यी झन्झटहरूमै फस्नका लागि हो त ? दुःख सहन गर्नका लागि हो त ! दुःख सहन गर्नकै लागि भन्ने हो भने, यी चीजहरूको सही सदुपयोग त भएन । मानिसहरू भन्छन्– ‘तपाईँको कर्म राम्रो नभएकाले तपाईँ दुःखमा हुनुहुन्छ ।’ यद्यपि कसैले के कुरा भन्दैन भने, यो दुःखी समयमा पनि तपाईँले त्यो सुखको अनुभव गर्न सक्नुहुन्छ ।

हजारौँ थरीका कुरा गर्नेहरू त धेरै नै छन् । तर, तपाईँ अहिले दुःखी हुनुभए पनि यसरी दुःखी हुनुपर्ने कारण के हो भनेर बुझाउने व्यक्ति छन् भने त फरक कुरा हो । यस दुःखमा पनि यदि तपाईँले ‘म जुन कारणले दुःखी छु, त्यो समस्या हटेपछि सदाका लागि सुखी हुनेछु’ भनेर सोच्नुहुन्छ भने त्यो तपाईँको भ्रममात्रै हो । किनभने, फेरि दुःख दिन कुनै अर्को समस्या आइपुग्नेछ अनि त्यसले तपाईँलाई फेरि दुःखी तुल्याउनेछ । यदि त्यो कारण हट्यो भने पनि कुनै यस्तो समस्या आउनेछ अनि त्यसले फेरि दुःखी तुल्याउनेछ । त्यसैले यदि त्यो समस्यालाई समाधान गरे फेरि अर्को नयाँ कुनै कारण उब्जनेछ अनि फेरि त्यसले पनि तपाईँलाई दुःखी तुल्याउनेछ । यदि यो कुरा तपाईँको जीवनमा दशपटक भयो भने पनि, बीसपटक भयो भने पनि, सयौँपटक भए पनि के तपाईँलाई थाहा छ– हरेकपटक तपाईँलाई दुःख पर्दा पनि ती सच्चिदानन्द, त्यो वास्तविक सुख त्यतिखेर पनि तपाईँभित्रै थिए । यसर्थ त्यो दुःखमा पनि तपाईँ त्यस सुखको अनुभव गर्न सक्नुहुन्छ । यो कुरा आफैँमा एकदमै महत्वपूर्ण विषय हो ।

चाहे जेसुकै भए पनि सबैले त्यसको सामना गर्नुपर्ने हुन्छ । जसले यो दुःखलाई सामना गर्छ, त्यो महान् हो भनेर कसैले बुझ्छ भने त्यो कुरा सही होइन ! जसले त्यो दुःखमा पनि उसभित्रको वास्तविक सुखलाई अनुभव गर्दछ, जसले त्यो विधिलाई जान्दछ, उसले दुःखी हुनुपर्ने आवश्यकता नै पर्दैन । त्यो आफैँमा पनि उसका लागि आफ्नो जीवनको छुट्टै अनुभव हो । उसले जेसुकै गरोस्, जहाँसुकै जाओस् तर उसमा त्यो सत्यसँग एउटा नातो गाँसिएको छ । अनि उसलाई यो संसारमा रहेर पनि वास्तविक चीज के हो भन्ने कुरा थाहा छ ।
हामी जीवनमा धेरै लक्ष्यहरू बनाउँछौँ । तिनै लक्ष्यहरूलाई पूरा गर्नका लागि कम्मर कस्छौँ । तर हामी एउटा लक्ष्यलाई पनि पूरा गर्न सक्दैनौँ । किनभने, हामीलाई सफलता पनि चाहिएको छ अनि प्रतिष्ठा पनि चाहिएको छ । यसका साथमा अन्य धेरै कुराहरू पनि चाहिएको छ । ती सबै कुराहरूमध्ये एउटा कुरालाई हामी बुझ्दैनौँ, ‘हामी को हौँ र हाम्रो जीवनको वास्तविक लक्ष्य के हुनुपर्दछ ?’ हामीलाई के चाहिन्छ भन्ने कुराका बारेमा त सारा संसारले भनिरहन्छ । तर, हामीले आफैँलाई ‘म के चाहन्छु’ भनेर कहिल्यै सोध्दैनौँ भने जीवनको वास्तविक लक्ष्य त अधुरो रहन्छ ।

एउटा कथा छ । एकपटक अकबरले वीरबललाई भने, ‘वीरबल ! हाम्रो दरबारमा ठूला–ठूला विद्वान्हरू छन् । अब तिमी यसो गर, हाम्रो दरबारमा पाँचजना सबैभन्दा मूर्ख मानिसहरूलाई खोजेर ल्याऊ ।’
वीरबलले भने, ‘हुन्छ, महाराज !’ उनी खोज्नका लागि निस्के । उनी मनमनै सोच्न थाले, अब पाँचजना मूर्ख कहाँ पाइन्छ होला ?
त्यत्तिकैमा एकजना मानिस आफ्नो गधामा बसेर आइरहेको देखे । उनले आफ्नो टाउकोमा दाउराको भारी राखेका थिए ।
वीरबलले सोधे, ‘हजुर ! तपाईँ त गधामा बस्नुभा’छ अनि त्यो भारीचाहिँ किन टाउकोमा राख्नुभएको त ? त्यो भारीलाई गधाकै ढाडमा राखेको भए पनि हुन्थ्यो नि, हैन र ?’
ती मानिसले उत्तर दिए, ‘तपाईँ पनि नचाहिने कुरा गर्नुहुन्छ । तपाईँलाई थाहा छैन, यो विचरा गधा दिनभरि काम गरिरहेको हुन्छ । मैले यो भारी आपैmँले बोकेँ भने त कमसेकम गधालाई बोझ कम हुन्छ !’
वीरबलले सोचे, पहिलो मूर्ख त भेटियो ! वीरबलले उनलाई भने, ‘हजुर ! तपाईँ भोलि राजमहलको बाहिर आएर मलाई भेट्नुहोस् है । म तपाईँलाई केही उपहार दिनेछु ।’
ती मानिसले भने, ‘हुन्छ !’
वीरबल अलिक अघि बढ्दै जाँदा एकजना मानिस जमिनमा सुतेर हावामा खुट्टा चलाउँदै थिए । उनी हात अगाडितिर पैmलाइरहेका थिए ।
त्यो देखेर वीरबलले उनलाई सोधे, ‘हैन, यो के गरिरहनुभएको ?’
त्यसपछि ती मानिसले भने, ‘मेरी श्रीमतीले पर्दाका लागि कपडा नापेकी थिइन् । त्यो यति नै नापको थियो । त्यसैले मैले यी हातलाई त्यही नापअनुसार राखेको छु, त्यो भुल्छु कि भनेर त्यो नापअनुसार हात पैmलाएर हिँडिरहेको थिएँ । हिँड्दाहिँड्दै मेरो खुट्टा चिप्लियो र म लडेँ । तर मैले के सोचेँ भने, अब रोकिनु त हुँदैन, त्यसैले म आफ्ना गोडाहरु हावामा चलाइरहेको छु ।’
वीरबलले उनलाई भने, ‘हजुर ! तपाईँ भोलि राजमहलमा आएर मलाई भेट्नुहोस् है ।’
रात परिसकेको थियो । एकजना व्यापारीले बत्तीकोे मुनितिर केही खोजिरहेको वीरबलले देखे । वीरबलले छेउमा गएर सोधे, ‘तपाईँ यहाँ के गरिरहनुभएको छ ?’
उनले भने, ‘म आज दिउँसो जङ्गलमा गएको थिएँ । त्यहाँ मैले आफ्ना साथीसँग गफगाफ गरिरहेको थिएँ । थाहा छैन, कसरी हो मेरो औँठी त्यहाँ खस्यो । त्यसैले म यहाँ खोजिरहेको छु ।’
वीरबलले भने, ‘यदि तपाईँको औँठी जङ्गलमा खसेको हो भने किन यहाँ खोजिरहनुभएको त ?’
उनले भने, ‘भाइ, तिमी पनि कति मूर्ख रहेछौ । यहाँ उज्यालो छ, त्यसैले यहाँ खोजिरहेको छु । जङ्गलमा उज्यालो छैन, त्यसैले त्यहाँ कसरी भेटिन्छ त ?’
त्यसलाई पनि वीरबलले भने, ‘हजुर ! तपाईँ भोलि राजमहलमा आएर मसँग भेट्नुस् है ।’
अर्को दिन तीनैजना मूर्खहरूले वीरबललाई भेटे । वीरबलले उनीहरूलाई अकबरकहाँ लिएर भेट गराए । उनले अकबरलाई भने, ‘महाराज ! पाँचजना मूर्ख पाइयो ।’ उनले तीनैजना मूर्खका बारेमा जानकारी दिए ।

अकबरले भने, ‘यी त तीनजना मात्र छन् ।’
त्यसपछि वीरबलले भने, ‘महाराज ! एउटा मूर्ख त म नै हुँ, जो मूर्खलाई खोज्न गएँ र अर्को मूर्ख तपाईँ हुनुहुन्छ, जसले मूर्ख खोजेर ल्याउनू भन्नुभयो ।’
हामी पनि एउटा धारणा, एउटा विश्वास बनाउँछौँ । वास्तविक कुराका बारेमा सोच्दैनौँ र त्यसमा लागिरहन्छौँ । यस जीवनमा हाम्रो आवश्यकतालाई जान्नु अत्यन्तै आवश्यक छ । कोही भन्छन्, ‘यो जिन्दगी पाएका छौ– नोकरी गर, खुब पैसा कमाऊ, नाम कमाऊ ! संसारबाट एकदिन त सबैले जानै छ ।’ अनि हामी आफ्नो जीवनलाई कुन राम्रो र कुन नराम्रो भन्दै तौलने गर्दछौँ । तर सृष्टिकर्ताको कृपाले हामीलाई मानिसको जीवन प्राप्त भएको छ । यो मोक्षको ढोका हो । यही जीवनबाट मोक्ष पाउन सकिन्छ । हामीले आफ्नो जीवनको लक्ष्य, जुन वास्तविक लक्ष्य हो, त्यसलाई पूरा गरेपछि आफ्नो जीवनलाई जीवित हुँदै सफल पार्न सक्छौँ ।

(मानवता र शान्ति विषयका अन्तर्राष्ट्रिय वक्ता प्रेम रावतको सम्बोधन । संकलित एवं प्रस्तुतीकरण : डा. प्रेमराज ढुङ्गेल)

प्रतिक्रिया दिनुहोस्