एमसीसीकै कारण गठबन्धन टुट्न सक्छ : वरिष्ठ नेता पौडेल



तनहुँ ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताकै कारण गठबन्धन टुट्न सक्ने बताउनुभएको छ । नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर १ द्वारा बिहीबार बीपी स्मृति भवन दमौलीमा आयोजित स्थानीय निर्वाचन एवं विकास केन्द्रित अन्तरक्रिया कार्यक्रममा नेता पौडेलले एमसीसीमा एकमत नभए गठबन्धन टुट्ने सम्भावना बढेको बताउनुभएको हो ।

हरेक एजेन्डामा एकता र सहमति भएमा मात्र गठबन्धन रहने अन्यथा गठबन्धन टुंगिन सक्ने चिन्ता व्यक्त गर्दै भन्नुभयो– ‘कम्युनिस्टले एमसीसीको हौवा फैलाइरहेको अवस्था छ, जनतालाई एमसीसीको विषयमा बुझाउन कांग्रेसी नेतृत्वहरूले भूमिका खेल्नुपर्छ, नत्र भने यो परियोजना रिजेक्ट गर्नुको विकल्प छैन ।’ उहाँले विगतमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहित कम्युनिस्ट शीर्ष नेताहरूले एमसीसी ल्याउनुपर्ने भनेर सहमति गरेको तर स्थानीय तह निर्वाचनको मिति घोषणा भएपछि नेतृत्व आफ्नो पोल्टामा ल्याउन एमसीसीको विरोध गरेको दाबी गर्नुभयो ।

एमसीसीको अनुदान विद्युत् तथा सडकको बृहत् विकासका लागि भएकाले विरोध गर्नुपर्ने अवस्था नरहेको दाबी गर्दै भन्नुभयो– ‘अहिले चुनाव नजिकिँदै गर्दा कम्युनिस्टहरू एमसीसीको विषयमा बुझ्नुको सट्टा हावाको पछि लागेको छ ।’ उहाँले गुणस्तरीय विकासका लागि यो अनुदान आवश्यक भएको बताउँदै भन्नुभयो– ‘देशमा आर्थिक भार वृद्धि भएको छ, विदेशी मुद्राको सञ्चिति छैन, यस्तो अवस्थामा पछिको भविष्यलाई मध्यनजर गरी निर्णय गर्नुपर्ने हुन्छ ।’

उहाँले ४ कम्युनिस्ट पार्टीमा एकता भए अझ ठूलो क्षति पुग्ने गरी अनर्थ हुन सक्ने भन्दै कांग्रेसले यस्ता कार्यको नियन्त्रण गर्न आवश्यक रहेको बताउनुभयो । स्थानीय तहको निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्ने भन्ने घमण्ड कांग्रेसका नेतृत्वले गर्न नहुने पनि उहाँको भनाइ छ । कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले कम्युनिस्ट देशको हित हुने परियोजनालाई जनतामाझ भ्रम फैलाउने कार्यमा लागिरहेको आरोप लगाउनुभयो । एमसीसी परियोजनाविरुद्ध भइरहेको विरोध प्रायोजित भएको दाबी गर्दै उहाँले भन्नुभयो–‘देशको हितमा हुने अनुदानलाई भ्रमित गरेकाले यसलाई चिर्न आवश्यक छ ।’कम्युनिस्टले प्रक्रियामा जानुअघि नै भ्रम छर्ने काम गरेको आरोप लगाउँदै भन्नुभयो– ‘कम्युनिस्ट सरकारमा हुँदा विकास निर्माणको काम कस्तो भएको छ ? कांग्रेसले विगतदेखि विकासको सुरुआत गर्यो कि गरेन भन्ने विषयमा जनतालाई बुझाउन कांग्रेस लाग्नुपर्छ ।’

कांग्रेसका अर्का केन्द्रीय सदस्य गोविन्द भट्टराईले सत्तामा भएको बेलामा गरिएको निर्णयलाई सत्ता बाहिर हुँदा गलत बनाउन कम्युनिस्टहरू लागिरहेको दाबी गर्दै भन्नुभयो– ‘सत्ता हुँदा सबै गलत कार्य पनि ठीक हुन्छ भने सत्ताबाट बाहिर रहेको अवस्थामा सहीलाई पनि गलत बनाउन कम्युनिस्ट लागिरहेको छ ।’

प्रतिक्रिया दिनुहोस्