दल दर्ता संख्या १ सय ६ पुग्यो



काठमाडौं, (नेस) ।

स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगमा थप तीन दल दर्ता भएसँगै आयोगमा दर्ता भएका दलको संख्या १ सय ६ पुगेको छ । स्थानीय तहको निर्वाचन प्रयोजनका लागि दल दर्ता खुलाएको पहिलो दिन बिहीबार आयोगमा जनता प्रगतिशील पार्टी नेपाल, सामाजिक एकता पार्टी र नागरिक उन्मुक्ति पार्टीले दल दर्ता गराएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

संविधान, राजनीतिक दलसम्बन्धी ऐन, २०७३, राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ तथा प्रचलित संघीय कानुनबमोजिमका प्रावधान पालना गर्ने शर्तमा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४ र ५ बमोजिम दल दर्ता गरिएको आयोगले जनाएको छ । दल दर्ताका लागि फागुन १५ गतेसम्मको समय तोकिएको छ । आयोगले जनशक्ति व्यवस्थापन निर्देशिका २०७८ स्वीकृत गरी पालिकास्तरमा कार्यरत् कर्मचारीलाई सोही पालिकाको निर्वाचन अधिकृतको कार्यालयमा परिचालन गर्ने व्यवस्था गरेको छ ।

प्रवक्ता पौडेलले मतपत्र छपाइका लागि आवश्यक पर्ने कागजको स्पेसिफिकेसन र लागत अनुमान स्वीकृत गरी खरिद प्रक्रिया अगाडि बढाइएको जानकारी पनि दिनुभयो । उहाँका अनुसार मतदान केन्द्रमा प्रयोग हुने विभिन्न ५३ प्रकारका निर्वाचन सामग्रीको स्पेसिफिकेसन पनि आयोगबाट स्वीकृत गरिएको छ ।

आयोगले जिल्ला न्यायाधीशहरूलाई मुख्य निर्वाचन अधिकृतमा नियुक्त गर्ने प्रयोजनको लागि न्याय परिषद्सँग पनि परामर्श गरेको छ । त्यस्तै, न्याय सेवाका राजपत्रांकित अधिकृतहरूलाई निर्वाचन अधिकृतमा नियुक्त गर्ने प्रयोजनका लागि न्याय सेवा आयोगसँग परामर्श पनि गरेको छ । आयोगले निर्वाचन अधिकृतमा नियुक्ति गर्न उपसचिवको नामावली फागुन १५ गतेसम्ममा आयोगमा नामावली उपलब्ध गराउन कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई अनुरोध गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्