प्रहरी अतिरिक्त महानिरीक्षकको ३ दरबन्दी थप



काठमाडौं, (नेस) ।

लामो रस्साकस्सीपछि नेपाल प्रहरीमा ३ जना प्रहरी अतिरिक्त महानिरीक्षकको दरबन्दी थपिएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले नेपाल प्रहरीमा ३ जना एआईजी थप गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्को बैठकको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले एआईजी दरबन्दी थप गरेको जानकारी दिनुभयो ।

नेपाल प्रहरीमा अब एआईजीको संख्या ८ पुग्ने भएको छ । एआईजी थप्ने विषयमा दलीय भागबण्डा नमिलेपछि लामै द्वन्द्व चलेको थियो । संगठनलाई आवश्यकभन्दा पनि आफ्ना मान्छेलाई एआईजी बनाउनका लागि दरबन्दी थप गरिएको भन्दै उच्च प्रहरी अधिकारीहरूले असन्तुष्टि व्यक्त गरेका छन् ।

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीका ब्याचका कतिपय अधिकृतहरू अहिले प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा नै कार्यरत रहेका छन् तर सरकारले क्षेत्रीपछिका ब्याचका व्यक्तिलाई एआईजी बनाउन गृहकार्य गरेको छ । प्रहरी नियमावली–२०७१ लाई संशोधन गरेर थप गर्न लागिएको ३ वटा एआईजीमा बढुवा हुनका लागि आधा दर्जनभन्दा बढी डीआईजीहरू प्रतिस्पर्धामा छन् । केन्द्रीय अनुसन्धान ब्यूरोका डीआईजी धीरजप्रताप सिंह, डीआईजीहरू उत्तमराज सुवेदी, घनश्याम अर्याल, ईश्वरबाबु कार्की, वसन्त पन्त, वसन्त लामा र रवीन्द्र धानुक एआईजीमा बढुवा हुने प्रतिस्पर्धामा छन् । त्यस्तै डीआईजी अरुण बिसी पनि एआईजी बढुवाको प्रतिस्पर्धामा छन् ।

तीन एआईजी दरबन्दीमा केन्द्रीय अनुसन्धान ब्युरोमा कार्यरत प्रहरी नायब महानिरीक्षक (डीआईजी) धीरजप्रताप सिंह, महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत उत्तम सुवेदी र कार्यविभागमा कार्यरत रवीन्द्र धानुक प्रमुख दाबेदार हुन् ।

अहिलेका प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, एआईजी हरिबहादुर पाल, प्रद्युम्न कार्की र निरजबहादुर शाहीले २०७९ वैशाख १९ मा अवकाश पाउँदै छन् । पत्रकार सम्मेलनमा कार्कीले धितोपत्र बोर्डको अध्यक्षमा रमेशकुमार हमाललाई नियुक्त गरेको जानकारी दिनुभयो । त्यस्तै, उहाँले हेटौंडामा प्रादेशिक प्रहरी अस्पताल निर्माणका लागि जग्गा उपलब्ध गराउने निर्णय गरेको जानकारी पनि दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्