सत्ता गठबन्धनमा एमसीसी अझै अनिर्णीत



काठमाडौं ।

अमेरिकी सहयोग परियोजना एमसीसीको विषयमा साझा सहमति जुटाउन बसेको सत्तारूढ गठबन्धनको बैठकमा सहमति जुट्न नसकेपछि बिनानिष्कर्ष टुंगिएको छ । एमसीसीलाई संसद्मा टेबल गराउने विषयमा सत्तारूढ गठबन्धनभित्रै विवाद रहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा तत्काल एमसीसी संसद्मा टेबल गराएर पास गराउने गृहकार्यमा लाग्नु भएको छ ।

तर, सत्ता गठबन्धनमा आबद्ध नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले संशोधनबिना एमसीसी टेबल गराउन नहुने अडान लिँदै आएका छन् । एमसीसी जबरजस्ती संसद्मा टेबल गरे सरकारबाट बाहिरिने चेतावनी प्रधानमन्त्री देउवालाई दिइसकेका छन् । एकीकृत समाजवादीले भने एमसीसीको बारेमा निर्णय लिएको छैन । प्रधानमन्त्री देउवा एमसीसी संसद्मा टेबल गरेर पास गराउने चाहानाका साथ अगाडि बढे पनि माओवादीका अध्यक्ष प्रचण्डका कारण अगाडि बढन सक्नुभएको छैन । एमसीसी टेबल गर्नका लागि संसद्मा सभामुखले एमसीसीलाई कार्यसूचीमा समावेश गर्नुपर्ने हुन्छ । तर, माओवादीको चाहानाविपरीत सभामुख सापकोटा एमसीसीलाई कार्यसूचीमा राख्न तयार हुनुभएको छैन ।

बुधबारकै बैठकमा नै सरकारले एमसीसी टेबल गर्ने गृहकार्य अगाडि बढाएको थियो । तर, माओवादीले जबरजस्ती एमसीसी अगाडि बढाए सरकारबाट बाहिरिने चेनावतीका कारण प्रधानमन्त्री देउवा ब्याक हुनुभएको थियो । संसद् बैठक बस्नुअघि प्रधानमन्त्री देउवा र प्रचण्डबीच भएको भेटवार्ताका कारण एमसीसी टेबल हुनबाट रोकिएको थियो ।

सत्ता गठबन्धनबाटै अवरोध भएपछि प्रधानमन्त्री देउवाले गठबन्धनभित्र नै सहमति निर्माण गर्ने प्रयासलाई जारी राख्नुभएको छ । बिहीबार एमसीसी संसद्मा टेबल गर्ने विषयमा बसेको सत्तारूढ गठबन्धनको बैठकमा पनि सहमति जुट्न सकेन । प्रधानमन्त्री देउवाले शुक्रबार बस्ने संसद् बैठकमा एमसीसी टेबल गर्ने प्रस्ताव अगाडि सार्नुभएको थियो । तर, प्रचण्ड माधव नेपालसहितका नेताहरूले संसद्मा एमालेको अवरोध कायमै रहेको अवस्थामा एमसीसी टेबल गर्न नहुने तर्क राख्नुभएको थियो ।

सत्ता गठबन्धनका दलहरूबीच यसअघि कायमै रहेको अडान दोहोरिएपछि ठोस सहमति जुट्न नसकेको माओवादीका नेता देव गुरुङले जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘एमसीसी सम्झौता टेबल गर्नका लागि एमालेले संसद्मा अवरोध कायमै राखेको छ, यस्तो अवस्थामा टेबल गरेर विवाद थप गर्ने काम गर्न हुँदैन ।’

सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुककमा विकसित राजनीतिक घटनाक्रमका विषयमा गम्भीरतापूर्वक छलफल भए पनि सहमति जुटिनसकेको बताउनुभयो । उहाँका अनुसार एमसीसीलाई कसरी निष्कर्षमा पुर्याउने भन्नेबारे गम्भीरतापूर्वक छलफल भएको छ । सत्ता गठबन्धनका ५ दलमध्ये ४ दल सरकारमा रहेको उल्लेख गर्दै उहाँले गठबन्धनभित्र फरक फरक विचार भएकाले एमसीसीको विषयमा सहमति जुटाउन प्रयासरत रहेको जानकारी दिनुभयो । कार्कीले यही फागुन १६ सम्ममा एमसीसी पारित गर्नुपर्ने भएकाले सरकार यसतर्फ प्रयास रहेको बताउनुभयो ।

बिहीबार साँझ प्रधानमन्त्री निवास वालुवाटारमा बसेको बैठकले शुक्रबार बस्ने संसद् बैठकमा एमसीसी टेबल नगर्ने निर्णय गरेको छ । गठबन्धनबीच अझै केही दिन छलफल गरेर सहमति निर्माण गरेर मात्र अगाडि बढने विषयमा समझदारी बनेको बैठकमा सहभागी एक नेताले बताए ।

बैठकमा नेपाली कांग्रेसबाट प्रधानमन्त्री देउवा, नेताहरू कृष्णप्रसाद सिटौला, गगन थापा, पूर्णबहादुर खड्का, कानुन मन्त्री दिलेन्द्रप्रसाद बडु, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, झलनाथ खनाल, जनता समाजवादी पार्टीबाट बाबुराम भट्टराईलगायतका नेताहरूको सहभागिता रहेको थियो । यसैबीच सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूको बैठक आज बिहान पुनः बस्ने भएको छ ।

प्रचण्डको दौडधुप
माओवादीले एमसीसीलाई अहिलेकै अवस्थामा संसद्मा टेबल गर्न नदिने अडान लिँदै आएको छ । माओवादीले सरकारले जबरजस्ती एमसीसी संसद्मा टेबल गरे सरकारबाटै बाहिरिने चेतावनी प्रधानमन्त्री शेरबहादुर देउवालाई दिएको छ । एमसीसी अगाडि बढाउने चाहानामा माओवादीको अडान निर्णायक बन्दै आइरहेका बेला माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को दौडधुप बढेको छ ।

प्रचण्डले बिहीबार बिहान वालुवाटारमा पुगेर प्रधानमन्त्रीसँग भेटवार्ता गर्नुभएको थियो । भेटमा दुवै नेताहरूको आ–आफ्नै अडानका कारण ठोस सहमति जुट्न सकेन । बिहान प्रधानमन्त्रीसँग भेटवार्ता गर्नुभएका प्रचण्डले दिउँसो एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपाका नेता राजेन्द्र श्रेष्ठसँग सिहंदरबारमा भेटवार्ता गर्नुभएको थियो । उक्त भेटघाट सम्पन्न गरेर प्रचण्ड पुनः साँझ पाँच दलीय बैठकमा सहभागी हुनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्