राष्ट्रको हितमा छ एमसीसी : प्रधानमन्त्री देउवा



फाइल तस्बिर

काठमाडौं ।

नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता सदनबाट पारित गराउन आफू लागिपरेको बताउनुभएको छ । साथै उहाँले एमसीसी नेपालको हितमा भएको कुरा सत्य भएको र सत्य कुरा भन्न नेपाली कांग्रेस डराउन नहुने पनि बताउनुभएको छ ।

प्रधानमन्त्री देउवाले बिहीबार कांग्रेस नेता अर्जुन नरसिंह केसीद्वारा लिखित ‘नेपाली कांग्रेसको संक्षिप्त इतिहास’ नामक पुस्तकको लोकार्पण कार्यक्रममा एमसीसीलाई संसद्ले पारित गरे पनि वा नगरे पनि नेपाली कांग्रेस एमसीसीको पक्षमा रहने स्पष्ट पार्नुभएको हो । आफ्नो पार्टीले एमसीसी पारित गराउन एक मतले निर्णय गरेको जिकिर गर्दै प्रधानमन्त्री देउवाले भन्नुभयो– ‘कांग्रेसको सर्वसम्मत निर्णयअनुसार एमसीसी पास गराउन म लागिपरेको छु । एमसीसी राष्ट्रको हितमा छ भन्ने कुरा सत्य कुरा हो । राष्ट्रका पक्षमा बोल्न कांग्रेस डराउनुहुन्न ।’

कार्यक्रममा कांग्रेस महामन्त्री गगन थापाले कांग्रेसले सरकारमा बस्दा एउटा प्रतिपक्षमा बस्दा अर्को धारणा बनाउने नगरेको भन्दै अहिले कांग्रेस नेतृत्वले खुट्टा कमाउन नहुने बताउनुभयो । निर्वाचनको क्षणमा लाभ हानिको हिसाब नगरी कांग्रेस राष्ट्र हितमा लाग्ने भन्दै उहाँले अन्तर्राष्ट्रिय विश्वास कायम राख्नका लागि पनि कांग्रेसले आफ्नो भूमिका निर्वाह गर्ने बताउनुभयो ।

एमसीसीबारे अहिले दलहरू विभाजित भए पनि २०६८ सालमा तत्कालीन नेकपा माओवादीका नेता बाबुराम भट्टराई नेतृत्वको गठबन्धन सरकारदेखि शुरू भएको एमसीसी सम्झौता प्रक्रियामा नेपालका सबैजसो दलहरू र नेतृत्व प्रत्यक्ष रूपमा सहभागी भएका छन् । पछिल्लो पटक तत्कालिन नेकपाको नेतृत्वमा रहेका केपीशर्मा ओली सरकारको २०७५ साल माघ २५ गतेको मन्त्रिपरिषद्को बैठकबाट एमसीसी सम्झौता गर्ने निर्णय भई २०७६ साल असार ३० गते अनुमोदनका लागि संसद्मा दर्ता भएको थियो ।

प्रतिक्रिया दिनुहोस्