धुलिखेलको ३६ औं स्थापना दिवस: ४ वर्ष ५ महिनाका उपलब्धि सार्वजनिक


मोतीराम तिमल्सिना, काभ्रे । 

धुलिखेल नगरपालिकाले स्थापनाको ३६ औं दिवस मनाएको छ । स्थापना दिवसको अवसर पारी धुलिखेलको अरनिको पार्क देखि नगरपालिका सभा भवनसम्म बाजागाजा सहितको बृहत् -याली आयोजना गरेको थियो ।

 

-याली पछि आयोजित कार्यक्रममा नगरपालिकाले चार वर्ष ५ महिनामा गरेका उपलब्धीहरु, शिक्षाको आँखीझ्याल र स्वस्थ सहर धुलिखेल नामक पुस्तक विमोचन गरिएको थियो । साथै धुलिखेल नगरपालिकालाई विभिन्न क्षेत्रबाट सहयोग गर्ने विशिष्ट व्यक्तिहरूलाई विभिन्न विधा मार्फत सम्मान गरिएको थियो । ‘

 

आर्थिक वर्ष २०७४-२०७५ देखि २०७७-२०७८ सम्मको अनुमानित रकम २ अर्ब ९२ करोड ८३ लाख ३० हजार भएकोमा यथार्थ आम्दानी रकम २ अर्ब ६० करोड ४२ लाख ६९ हजार भई २ अर्ब ७९ करोड ४१ लाख ४८ हजार खर्च भएको छ’–नगर प्रमुख अशोक ब्याञ्जुले भन्नुभयो–‘३४ किलोमिटर सडक कालोपत्रे थप भई ४६.५ किमी कालोपत्रे भएको, ५ किमी ढलान, ७१ किमी ग्राभेल, ३२० किमी माटे सडक भई कुल ४ सय ३० किमी सडक भएको छ ।

 नगर प्रमुख ब्याञ्जुले पक्की नाली ३० किमी, कच्ची नाली ३ सय १० किमी निर्माण गरिएको बताउनु भयो । खानेपानीको लागि २ हजार ५ सय १९ घर धुरीमा खानेपानी सुविधा थaप गरेसँगै नगरपालिकामा ५ हजार ७ सय १६ घर धुरीमा पानी पुगेको छ । यो कुल घरधुरीको ८१ प्रतिशत रहेको नगर प्रमुख ब्याञ्जुले जानकारी दिनु भयो । धुलिखेल नगरपालिकाले चार वर्ष ५ महिनामा साना ठुला गरी ५१ वटा पार्क निर्माण गरिसकेको छ भने २ वटा झोलुङ्गे पुल, ७ सय जना अट्ने सभा हल, सपिङ्गकप्लेक्स, तीन वटा स्वास्थ्य भवन, १७ वटा विद्यालयका २४ वटा भवन निर्माण गरेको नगर प्रमुख ब्याञ्जुले बताउनु भयो ।

२ वटा ट्रिटमेन्ट प्लान्ट निर्माण गरी खुल्ला दिशा मुक्त घोषणा गरिएको, दरबन्दी मिलान गरी विद्यालय तहसमेत मिलान गरिएको, विद्यालयमा आई सिटी ल्याब सहित पुस्तकालय निर्माण गरिएको, स्नातक तहसम्मको शिक्षालाई निःशुल्क गरिएको नगर प्रमुख ब्याञ्जुले बताउनु भयो ।स्वस्थ सहर निर्माणका लागि ७ बुँदे प्रतिबद्धता पत्र जारी गरेको, बालमैत्री नगर घोषणा गरेको, ५ वटा परिषदहरु निर्माण गरी आयआर्जन र सशक्तीकरणका लागि १२८९ जनालाई सिप विकास तथा आयआर्जन तालिम दिइएको, ३७१ जनालाई विभिन्न प्रविधिका सामाग्री उपलब्ध गराइएको, ५०९ जनालाई उद्यम विकास मार्फत आयआर्जनमा संलग्न गराई प्रविधि हस्तान्तरण गरिएको नगर प्रमुख ब्याञ्जुले बताउनु भयो ।

त्यस्तै बैदशिक रोजगारमा जाने युवायुवतीहरूका लागि सिप विकास तथा परामर्श सेवा, कृषि तथा पशुपालनमा व्यवसायी उत्पादनका लागि प्रविधि हस्तान्तरण, एकीकृत इन्टरनेट सेवाका लागि फाइबर जडान, प्रधानमन्त्री रोजगार कार्यक्रमबाट रोजगार, न्यायिक समितिबाट नागरिकलाई सेवा, ८१ वटा ऐन, नियमावली र कार्यविधि निर्माण गरी लागु गरिएको नगर प्रमुख अशोक ब्याञ्जुले बताउनु भयो । नगर प्रमुख ब्याञ्जुले आगामी लक्ष्यका २ सय १ भन्दा धेरै योजनाहरू सार्वजनिक गर्नु भएको छ ।

धुलिखेल नगर समुन्नत आर्थिक सहरका रूपमा विकास गर्न अन्तर्राष्ट्रिय स्तरको खेल मैदान, सबै विद्यालयलाई डिजिटल प्रविधि, निरपेक्ष गरिबीमुक्त नगर, शतप्रतिशत घरमा शुद्ध खानेपानी, स्वस्थ सहर, एक घर एक महिला उद्यमी, उज्यालो सहर, सुकुम्वासी मुक्त नगर, छुवाछुत मुक्त नगर, तरकारी, दूध, अण्डा, मासु र खाद्यान्नमा आत्मनिर्भर नगर, एक वडा एक व्यायामशाला, योग तथा ध्यान केन्द्र निर्माण, एक वडा एक उद्यम विद्यालय, पर्यटन तथा अपाङ्गमैत्री पदमार्ग, बहुउद्देश्यीय धुलिखेल बसपार्क, घरदैलो अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र वितरण गर्ने योजना सार्वजनिक गरिएको नगर प्रमुख ब्याञ्जुले बताउनु भयो । 

स्थापना दिवसमा सम्मान

नगरपालिकाले स्थापना दिवसको अवसर पारी नेपाल सरकारका सचिव रवीन्द्र घोलिजुलाई धुलिखेल रत्नबाट सम्मान गरेको छ । त्यस्तै पूर्व गाविस अध्यक्ष केदारप्रसाद कोइरालालाई धुलिखेल नक्षत्र, दिनेशकाजी योगललाई धुलिखेल प्रज्ञा श्री, रामबहादुर गौतमलाई धुलिखेल सेवा श्री, वसन्त कुँवरलाई धुलिखेल तारबाट सम्मान गरिएको थियो । धुलिखेल ताराबाट रेणुका गुरुङ, धुलिखेल क्याम्पसका क्याम्पस प्रमुख सागर तिवारी, सामाजिक संस्था तर्फबाट रमाइलो छत्रछाया मुनी र धनबहादुर विष्ट सेतीदेवी माविका प्रधानाध्यापकलाई सम्मान गरिएको थियो । जनसेवा श्रीबाट शिक्षा शाखाका अधिकृत भोजकुमार ठकुरी र मिनगोपाल तखाँक्षेलाई सम्मान गरिएको थियो ।

 

त्यस्तै उप सचिव माधव शर्मा, उत्तम कार्की, कुमार बस्नेत, रामशरण होमा गाई, जितबहादुर तामाङ, श्री हरी पौडेललाई कर्मचारी दीर्घ सेवा सम्मानबाट सम्मान गरिएको थियो । रविन्द कोँजु र मीनबहादुर यगोललाई समाजसेवी सम्मानबाट सम्मान गरिएको छ भने जग्गादाताहरू सोनाम लामा धुलिखेल १, शुक्रबहादुर तामाङ धुलिखेल १, धावा लामा धुलिखेल १, पदमप्रसाद धिमाल धुलिखेल १०, शंकर मैनाली धुलिखेल १०, लक्ष्मीप्रसाद शर्मा, सरस्वती धिताल, शिवप्रसाद धिताल, हरिमाया धिताल, दिपक प्याकुरेल, विष्णुप्रसाद धिताल, कृष्णबहादुर तामाङ, करुणा गौतम, पूर्णबहादुर तामाङ, तिलबहादुर विकलाई सम्मान गरिएको थियो ।

 कार्यक्रममा पूर्व मन्त्री गोकुल बास् कोटा, सरकारका सचिव रवीन्द्र घोलिजु, काठमाडौँ विश्वविद्यालयका उपकुलपति डा. भोला थापा, जिल्ला समन्वय समिति प्रमुख उद्धव केसी, उपप्रमुख विमला शर्मा लगायतले मन्तव्य राख्नु भएको थियो ।