- मुक्तिबन्धु
‘एमसीसी पारित नगरे परिणाम गम्भीर हुनसक्छ !’ भन्दै बेला–बेला सञ्जालमा कुर्लने स्वनामधन्य नेताहरुका धम्की सुन्दा हामी नेपाली जनलाई सोध्न मन लाग्छ– ‘नेपालको स्वाधीनता र सार्वभौमिकता अमेरिकी कम्पनीलाई सुम्पने एमसीसी पारित गर्नुचाहिँ आफैँमा गम्भीर परिणाम होइन ? मुलुकको स्वाधीनता र सार्वभौमिकता नै पराईलाई जिम्मा लगाएपछि हामीलाई त्यसभन्दा गम्भीर परिणाम भोग्न बाँकी नै के रहन्छ र ?’
हो, एउटा गम्भीर परिणामको सम्भावना भने छ । यी गम्भीर परिणामको खबरदारी गर्ने खलनायकहरुका लागि गम्भीर परिणामको सम्भावना छ । एमसीसी पारित गराउन नसके नेपालका आजका शीर्ष भनिने यी खलनायकहरु सबै आफैँ थाल खाऊँ न भात खाऊँको सङ्कटमा पर्न सक्छन् । देश जनताको स्वाधीनता, सार्वभौमिकता बेचबिखनको बिचौलिया बनेर अग्रिम खाइसकेको अमेरिकी कमिसनले भयङ्कर आगो बनेर पोल्न सक्छ । र, अमेरिकी हातमा बेचिइसकेका बिचौलिया आत्माहरु तातो बगरमा पुगेको माछाझैँ छटपटिनुपर्ने हुनसक्छ । यिनीहरुको ज्यान नै जोखिममा पर्न पनि सक्छ । नेपाली जनताबाट लखेटिँदा भागिजाने ठाउँ त्यही अमेरिका हो, त्यहीँको ग्रीनकार्ड बदर हुनसक्छ । भिसा नपाइन सक्छ । सुलेमानीको भूतले लखेट्न पनि सक्छ । यी शीर्ष भनिनेहरुका लागि विशेषतः शेरबहाद्र एन्ड कम्पनीका लागि यसभन्दा गम्भीर परिणाम के हुनु चाहियो र ?
यहाँनिर सवाल के रह्यो भने, यी आत्मविक्रयी बिचरा बिचौलियाहरुको जीवनमा आइपर्ने गम्भीर परिणाम रोक्नका लागि र यिनकै सुरक्षा, सुख र समृद्धिका लागि नेपाली जनताले आफ्नो देश नेपाल पराईका हातमा गएको टुलुटुलु हेरिरहने ? राष्ट्रघाती एमसीसीको विरोध नगर्ने ? विदेशीलाई देश बेच्न अग्रिम कमिसन खाइसकेर त्यही पचाउनका लागि बुरुक–बुरुक उफ्रिरहेका मानवाकार लुब्ध हुँडारहरु गम्भीर परिणाम भोग्नुपर्ने अवस्थामा पुग्लान् कि कठै बरा ! भन्दै नेपाली जनताले एमसीसीजस्तो घातक राजनीतिक परियोजनालाई विकास परियोजना ठानेर अँगालो हाल्ने ? फिरङ्गी लखेटेर मुलुक सार्वभौम, स्वाधीन कायम राख्न सफल गौरवशाली इतिहास बोकेका बहादुर नेपाली जनता महाभारतकालीन एकचक्रा नगरका कायर जनता त होइनन् नि !
यहाँनिर महाभारतको त्यस घटना कथालाई एउटा दृष्टान्तका रुपमा सम्झन सकिन्छ । दुर्योधनका लाहाघरमा थुनिएर डढ्नुबाट जोगिँदै कुन्तीसहितका पाँच पाण्डव लुकिछिपी एकचक्रा नगरी पुगेका थिए । दामोदर नामका कुनै एक सोझो बाहुनका घर–गोठमा आश्रय लिई बसे । त्यस नगरका राजाको नाम वेत्रकीय थियो । वेत्रकीय साँच्चिकै हुतिहारा थिए । हुतिहाराको राज्यव्यवस्था कस्तो हुनु ? अहिले हामीकहाँ जस्तै अन्याय, अत्याचार र भ्रष्टाचारको बोलवाला थियो । राजालाई जनताका सुख–दुःखको वास्ता थिएन । राजा र उनका भारदारहरुले जनताका रगतमा तर मार्ने चलन त्यस राज्यव्यवस्थामा पनि थियो । फलतः जनता साह्रै नै दुःखी थिए । एक दिन त्यस राज्यमा बकासुर नामको अजङ्गको राक्षस आयो । ढिस्कामा उभिएर चिच्याउँदै त्यसले भन्यो, ‘म आएको छु, मलाई यस राज्यमा पस्न, बस्न, खान देऊ । दिएनौ भने यसको गम्भीर परिणाम हुनेछ ।’
राजा र उसका मन्त्रीहरु डराए । सम्झौताको कुरा भयो । राजा र राजाका परिवार अनि भारदारलाई आफ्ना दरबारमा बस्न, जनताबाट कर उठाउन र भोगविलास गर्न राक्षसले सहयोग गर्ने, कुनै पनि बाधा नपुर्याउने अनि राक्षसलाई चाहिँ राज्यमा ढलिमली गर्दै जनताको जल, जङ्गल, जमिनमा मनोमानी गर्न र जो–कसैको रगत चुस्न, मासु लुछ्न राज्यबाट कुनै बाधा–व्यवधान नगरी व्यापक छुट दिने दुईबुँदे सम्झौता पनि भयो । राक्षसलाई त्यहाँ त्यसरी बस्न दिएपछि विगत दुई दशकदेखि त्यस नगरमा मानव रक्तपायी बकासुर राक्षसको हालिमुहाली कायम भयो । जहाँ, जति बेला, जसलाई भेटे पनि निमोठेर तन्तनी रगत पिइदिन्थ्यो । महिला, पुरुष, बाल, वृद्ध जसलाई जहाँ भेटे पनि लछारपछार पाथ्र्यो । घाँटी निमोठेर रगत पिउँथ्यो । राक्षसको अत्याचारबाट मुलुकका जनता त्राहिमाम थिए । सरकारबाट सुरक्षाको कुनै सम्भावना नदेखेपछि एक दिन जनता आफैँ अघि सरेर बकासुर राक्षसकोमा गए । विनम्र बन्दै भने, ‘सम्माननीय राक्षसजी, रगत–मासुको भोक मेटाउन तपाईंजस्ता ठूला व्यक्तित्वलाई सडकमा निस्कनु, टोल–टोलमा छिर्नु ठान, मान र शान सुहाउँदो कुरा भएन । हामी जनतालाई पनि कति बेला कहाँ दर्शनभेटमा परिने हो र मरिने हो, ठेगानको कुरा भएन । पहिले जे भयो–भयो, अब अगाडिका लागि एउटा सम्झौता गरौँ ।’
‘के सम्झौता ?’ राता आँखाले खाऊँला जसरी हेर्दै राक्षस गज्र्यो ।
जनताबाट एकजना पाका व्यक्ति अघि सरेर भने, ‘सम्झौता के गरौँ भने अब उप्रान्त खानाको खोजीमा माननीय राक्षसज्यूले सडकमा निस्कनु र टोल–बस्तीमा पस्नुपर्दैैन । हप्ताको एक दिन शनिबार हामी टोलिया र गाउँले आफैँ सल्लाह गरे ठूलो गाडामा थरी–थरीका खाद्य परिकार भरिभराउ राखी हजुरको दरबारको ढोकामै ल्याइदिन्छौँ । गाडा तान्ने एक हल गोरु पनि हजुरले नै ज्यूनार गर्नुभए हुन्छ । यसको बदला हजुरले हामीलाई बाटोमा निर्धक्क हिँड्न र आफ्नो काम गर्न दिनुहोस् ।’राक्षसले आगन्तुक सबैका अनुहारतिर हेर्दै भन्यो, ‘बस्, यत्ति मात्रै ?’ राक्षसको कुराले मानिसहरु अलमलिए ।
राक्षसले आँखा अलि हँसिलो बनाउँदै भन्यो, ‘राजकाज गर्ने अरु मानिसहरु यस्ता कुरा लुकाउन खोज्छन् । म त महान् उदारवादी राक्षस हुँ । स्पष्टवादी पनि छु । खुलस्त भन्छु । मान्छेको घाँटी प्वाल पारेर तन्तनी तातो रगत नपिएसम्म मलाई तृप्ति नै हुँदैन ।’
‘त्यो पनि व्यवस्था छ सरकार !’ आगन्तुकमध्येका एकजनाले भने, ‘गाडा हाँकेर आउने मान्छे तपाईंले खाइनकै लागि आउने हो । त्यसैलाई खानुस् । हुन्छ ? यति भएपछि बाटाघाटामा भेटिएका अरु कसैलाई नखानुस् । हामी निर्धक्क हिँड्न–डुल्न पाऊँ । यसो गर्दा तपाईंको पनि शान, मान कायम रहने । हाम्रो पनि सधैँ सबैको ज्यान जोखिममा नपर्ने । यसो गर्दा राम्रै होला । हैन र ?’
एकछिन् घोरिएर राक्षसले भन्यो, ‘ल ठीक छ, यो सम्झौता हो, बोलेको पूरा गर्नू, फरक नपरोस् । फरक प¥यो भने तिमीहरुले यसको गम्भीर परिणाम भोग्नुपर्ने छ, बुझ्यौ ?’
हुतिहारा राजाका राज्यका कातर जनताले यस सम्झौतामा पनि राहत अनुभव गरे । यो आपतकालीन सम्झौता थियो । सम्झौता अनुसार प्रत्येक शनिबार साँझ बयलगाडामा टन्नै खाद्यसामग्री भरेर राक्षसका सेवामा पुर्याउने चलन शुरु भयो । चलन चलाएपछि चल्दै गयो । नगर–बस्तीमा यो परिस्थिति फेर्ने वीर वीराङ्गना कोही निस्केन ।
सम्झौतापछि बाटो हिँड्न जनताले डराउन नपर्ने, खानका लागि राक्षसले कतै जाने दुःख गर्नु नपर्ने त भयो तर मृत्युको सन्नाटाले शहर–बस्तीका मानिसलाई गिज्याउन कहिल्यै छोडेन । जनता मुटुमा ढुङ्गा राखेर जसोतसो बाँचेका थिए ।
पाण्डवहरु त्यहाँ दामोदरका घरमा आश्रय लिएर बसेको एकाध महिनापछिको एक दिन सन्जोगले भीमसेन घरै बसेका थिए । बाँकी चार पाण्डव भिक्षाटनबाट दानापानी जोहो गर्न बाहिर निस्केका थिए । भीमसेन भन्दै थिए, ‘आमा, भिक्षाटनबाट हामीले ल्याएको खाद्यपदार्थ तपाईंले शुरुमै आधा मलाई छुट्याउनुहुन्छ अनि बाँकी आधामा तपाईंहरु पाँचजना सन्तोष गर्नुहुन्छ । यति गर्दा पनि मेरो पेटमा बेला–बेला मुसा दगुर्न छाड्दैन । अब त हस्तिनापुरमा जस्तै पेटभरि खान पनि रहर भइसक्यो ।’
भीमसेनका कुरा सुनेर कुन्तीले आँखाभरि आँसु पारिन् । केही भन्न गम्दै थिइन्, दामोदरका घरभित्र मानिसहरु रोएको आवाज सुनियो । पख है, के भएछ मबुझेर आउँछु भन्दै कुन्ती त्यस घरभित्र पसिन् ।
भित्र मझेरीमा बसेर दामोदर आफ्नी श्रीमतीसँग भन्दै थिए, ‘मैले त तिमीलाई धेरै पटक भनेको हुँ, यस अन्धेर नगरीमा नबसौँ । हामी काम गरेर खाने श्रमजीवी हौँ । हामी टाढाको कुनै एक गाउँमा कसैको घर पाली बारी बसेर, कसैका खेतबारीमा काम गरेर पनि निर्वाह गर्न सक्थ्यौँ । मैले पटक–पटक भनेको हुँ । तिमीले जन्मस्थान नछाडौँ भन्दै जिद्दी ग¥यौ । तिम्रो कुरा काट्न मैले पनि सकिन । तिमी मेरो गृहस्थ जीवनको अभिन्न सङ्गिनी हौ, छोरा र छोरीकी आमा हौ । मेरै पनि पालनपोषणदाता आमासमान हौ । तिमीलाई राक्षसका मुखमा पठाएर म कसरी बाँच्न सक्छु ? यसपटक यस कुरामा तिमी जिद्दी नगर । राक्षसकोमा म आफैँ जान्छु ।’
‘हैन, यसो हुनै सक्दैन !’ सुवासिनीले भनिन्, ‘यस निराजु मुलुकमा म एक्ली महिलाले बालबालिकालाई शिक्षादीक्षा, पालनपोषण मिलाएर हुर्काउन कसरी सक्छु ? तपाईंलाई नदखेछि मलाई यी टोल–बस्तीका हुँडार, ब्वाँसाजस्ता दुष्टहरुले बस्न, बाँच्न दिँदैनन् । लालाबालाको बिचल्ली हुन्छ । तपाईं घरै बस्नुस् । राक्षसका मुखमा पर्न म जान्छु ।’
यसै बीच छोरी स्वस्तिकाले भनिन्, ‘आमाबुबा, तपाईंहरु दुवै जाने होइन । तपाईंहरु नहुँदा यो बालक भाइ टहुरो हुन्छ, रुन्छ । भाइका लागि पनि म तपाईंहरुलाई राक्षसका मुखमा पर्न दिन्न । म जान्छु ।’
यता चार वर्षको बालक सुद्युम्नले हातमा सानो लठ्ठी लिएर उजाउँदै भन्यो, ‘तपाईंहलु कोही कतै नजानुछ्, म त्यो लाछेस्लाई यही लाथीले हानेल मालिदिन्छु ।’
बालक सुद्युम्नको कुराले आमा, बा र दिदीले रुन्चे हाँसो हाँसे । यही मौका पारेर कुन्तीले दामोदरसँग सोधिन्, ‘समस्या के हो ? मलाई भन्नुस् न !’
‘दिदी, हाम्रा यी समस्या सुनेर तपाईंले के गर्न मिल्छ र ? तर पनि सोध्नुभयो । यसरी चासो राखेर सोध्नु पनि ठूलो कुरा हो । सुन्नुस् न, कहीँ नभएको जात्रा छ हामीकहाँ । नगरमा एउटा बकासुर नामको भयङ्कर राक्षस छ । यहाँबाट आधा कोस पर एउटा भूतमहलमा बस्छ त्यो राक्षस । बीस वर्षअघिदेखि हामी नगरवासीहरु आलोपालो उसलाई ज्यान दिने सम्झौतामा बाँचेका छौँ । त्यो मान्छे खाने राक्षस हो । हाम्रो मुलुकको राजा भनाउँदो वेत्रकीय मल्ल त्यसै राक्षससित मिलेमतो गरेर दरबारमा मोजमस्तीमा डुब्दै बसेको छ । त्यस राक्षसकोमा एक गाडा खाना–पानीका साथ बयल हाँक्दै जानुपर्ने, ज्यान अर्पण गर्नुपर्ने, आजको पालो हाम्रो घरको छ । भरे जानुपर्छ । त्यसैले हामी रुवाबासीमा छौँ । बाध्य छौँ । निरीह छौँ । यसै भएर रोएका छौँ !’ यसरी दामोदरले सबै कुरा बताए ।
कुन्तीले भनिन्, ‘चिन्ता नगर्नुस् । मसँग एउटा उपाय छ ।’
दामोदरले सोधे, ‘के छ उपाय ?’
‘त्यस राक्षसकोमा आजका लागि म मेरो माहिलो छोरालाई पठाइदिन्छु । तपाईंले हामीलाई आश्रय दिनुभएको छ । गुन तिर्ने मौका दिनुहोस् । म बिन्ती गर्छु । बरु मैले छोरालाई राक्षसकहाँ पठाएको कुरा कतै नभन्नुस् । भन्नुभएछ भने म तपाईंलाई श्राप दिनेछु !’ कुन्तीका यस्ता कुरा सुनेर दामोदर छक्क परे । उनको नीति र धर्मले यो मान्न सकिने कुरै थिएन । शुरुमा मानेनन् । कुन्तीले धेरै अनुनय–विनय गरेपछि बल्ल–बल्ल दामोदरले ‘हुन्छ, जानुहोस्, मलाई पाप नलागोस्’ भन्दै आँसु पुछे ।साँझ चार भाइ पाण्डव भिक्षाटनबाट घर फर्केपछि कुन्तीले सबै कुरा सुनाइन् । युधिष्ठिरले पिरलो पोख्दै भने, ‘के भएको आमा तपाईं ? अस्ति मात्र पनि लाहाघरबाट हामी सबैलाई बचाएको यिनै भीम भाइले होइन ? यिनै भीम भाइका आधारमा हामी बाँचेका छौँ । यिनै भाइलाई राक्षसको मुखमा पठाउन लाग्नुभएछ । खै के भनुँ ?’
‘नडराउनु्स् दाइ, मलाई पेटभरि खाने साइत जुरेको हो !’ भीमसेनले हाँस्दै भने, ‘मैले तपाईंहरुको सेवा गर्ने काम सिङ्गै बाँकी छ । त्यस भुरे राक्षसले मलाई खान सक्दैन ।’
झमक्क साँझ पर्यो । आँगनमा खानपानको बयल गाडा तयार भयो । भीमसेनले खुसी हुँदै नरभक्षी राक्षस भएतिर गाडा हाँके । राक्षसको महलनजिक पुग्दा मानिस र गोरुका हाड–मासु छरिएको र स्याल, गिद्ध जुटेर लुछिरहेको बीभत्स एवम् दुर्गन्धित वातारण देखे । ‘राक्षस मारिसकेपछि छूत पनि लाग्छ । हात धुने पानी पनि नपाइएला, जेसुकै होस्, पहिले आफ्नो पेटको पूजा गर्छु’ भन्ने सोच्दै भोका भीमले महलअगाडि पुगेर प्रथमतः गाडाको खाना एक–एक गरी पकापक खाए । हाँडीको दही पनि खाए । यत्तिकैमा भित्रबाट जङ्गिँदै बकासुर निस्क्यो । भीमसेन पिठ्यूँ फर्काएर पानी पिउन थाले । बकासुरले भीमसेनका ढाडमा जमाएर लात हान्यो । भीमसेन टसको मस भएनन् । बकासुरले नजिकैको रुख उखेलेर ताक्दै भीमको ढाडमा हान्यो । भीमले देब्रे हातले रुखलाई छेके र दायाँ हातले चार बीरा पान उठाएर एकै पटक मुखमा हाले ।
यसरी एकछिन् ठट्टा युद्ध गरेपछि भीमसेन उठे । बकासुर र भीमको घम्साघम्सी युद्ध भयो । घण्टौँको लडाइँपछि भीमले बकासुरलाई पछारे । छातीमा लातका लात हानेपछि बकासुर उठ्न सकेन । मर्यो । मुर्दा बकासुरलाई घिसार्दै नगरको ढोकानिर फ्याँकेर महाबली भीम फटाफट आफ्नो डेराघर फर्के ।
महाभारतको घटना कथा सङ्क्षेपमा यही हो । हामीले पनि आज एमसीसीको यस महाभारतमा बकासुर राक्षससँग सामना गरेर देश र जनता जोगाउने भीमसेन उमार्न सक्नुपरेको छ । एमसीसीलाई पनि त्यसै गरी लतारेर अमेरिकी ढोकामा फ्याँकिदिन सक्नुपर्छ । अन्यथा हामी देशभक्त नेपाली जनताको जीउ–धन खतरामा छ । हो, हामीलाई आज भीमसेन चाहिएको छ । हाम्रो भीमसेन अरु कोही होइन, वीरप्रसू नेपाल आमाका देशभक्त छोराछोरीहरु नै हुन् ।











प्रतिक्रिया