‘कट अफ डेट’ निर्धारणमा नयाँ व्यवस्था

0
Shares

काठमाडौं ।

आगामी वैशाख ३० गते शुक्रबार हुने स्थानीय तहको निर्वाचनको अघिल्लो दिन १८ वर्ष उमेर पुगेका नागरिकले पनि मतदान गर्न पाउने भएका छन् । निर्वाचनको अघिल्लो दिन १८ वर्ष पुगेका नागरिकले मतदान गर्न पाउने व्यवस्था गरेको नेपालको निर्वाचनको इतिहासमा पहिलोपटक रहेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो ।

आयोगले यसपटकको आसन्न स्थानीय तहको निर्वाचनमा १८ वर्ष उमेर पुग्ने दिन २०७९ साल वैशाख २९ गतेलाई आधार मान्ने गरी निर्दिष्ट मिति ‘कट अफ डेट’ निर्धारण गरेको छ । विगतमा निर्वाचनको मिति घोषणा गरेको दिनसम्म १८ वर्ष पुग्नेले मात्र मतदान गर्न पाउने स्थिति थियो ।

आयोगले १६ वर्ष उमेर पूरा गरेका नेपाली नागरिकता प्राप्त गर्ने नागरिकको मतदाता नामावलीमा नाम संकलन गर्दै आएको छ । यसरी नाम संकलन गरिएका मध्ये निर्वाचनको मिति घोषणा गरिएको दिनमा १८ वर्ष पुग्नेले मात्र मतदान गर्न पाउने व्यवस्था गरिएको थियो । यसलाई निरन्तरता दिँदा करिब दुई लाख युवा मतदान गर्नबाट वञ्चित हुने स्थिति देखिएको थियो । यसले गर्दा ‘कट अफ डेट’ निर्धारणमा नयाँ व्यवस्था गरिएको आयोगले जनाएको छ ।

१८ वर्ष उमेर पूरा गरेको नेपाली नागरिकको नाम मतदाता नामावलीमा समावेश गरी मतदाता हुन पाउने अधिकारको सुनिश्चिता मतदाता नामावली सम्बन्धी ऐन, २०७३ मा गरिएको छ । यसलाई ध्यानमा राखेर आयोग ‘कट अफ डेट’ निर्धारणमा परिर्वतन गरेको आयोगका सचिव गोकर्णमणि दुवाडीले बताउनुभयो । ‘निर्दिष्ट मिति निर्धारण आयोगको क्षेत्राधिकारको विषय हो । ऐनको मर्मअनुरूप आयोगले निर्धारण गरेको हो’ –उहाँले भन्नुभयो ।

‘यसबाट करिब थप दुई लाख युवाले आफ्नो मताधिकार प्रयोग गर्न पाउने सुनिश्चित भएको छ’ –प्रवक्ता पौडेलले भन्नुभयो । यसलाई समेत जोडेर आयोगले आगामी निर्वाचनमा १ करोड ७९ लाख मतदाता कायम हुने अनुमान गरेको छ ।

२०७४ को निर्वाचनमा १ करोड ५४ लाख २७ हजार ९ सय ३८ जना मतदाता रहेका थिए । गत वर्ष २०७७ पुस ५ आइतबार प्रतिनिधि सभाको विघटनको घोषणा गरिएको दिनलाई ‘कट अफ डेट’ कायम गर्दा १ करोड ६२ लाख ४३ हजार १ सय १० जना मतदाता कायम भएका थिए ।

आयोगले स्थानीय तह निर्वाचनको मिति घोषणा गरेको भोलिपल्ट गत माघ २५ गते मतदाता नामावली संकलन कार्य स्थगन गर्ने निर्णय गरेको थियो । अहिले अन्तिम मतदाता नामावलीका लागि अद्यावधिक गर्ने काममा जुटिरहेको छ ।