बंगलादेशमा बिजुली निर्यात सरकारी योजना अलपत्र



काठमाडौं ।

बंगलादेशमा बिजुली निर्यात गर्ने सरकारी घोषणा अलपत्र परेको छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बिजुली निर्यात गर्ने घोषणाले मूर्त रूप लिन नसकेको बताउनुभयो । नेपालको बिजुली निर्यातको सम्भावना रहेको बताउँदै कार्यकारी निर्देशक घिसिङले नेपाल र बंगलादेशबीच कुराकानी भइरहेको तर तार्किक निष्कर्षमा भने पुगिनसकेको उहाँले बताउनुभयो ।

बंगलादेशमा बिजुली निर्यातका लागि भारतसहित त्रिपक्षीय सम्झौता आवश्यक पर्ने जनाउँदै त्यसका लागि भारतलाई राजी बनाउनुपर्ने उहाँले बताउनुभयो । ऊर्जा सचिव देवेन्द्र कार्कीले नेपालको बिजुली भारतपश्चात् निर्यातको सम्भावना रहेको बंगलादेशमा बिजुली व्यापारका लागि उच्चस्तरीय संयन्त्रमार्फत् विद्युत् व्यापारको काम अघि बढाइएको बताउनुभएको छ ।

नेपालबाट भारत एवं बंगलादेशसम्म विद्युत् निकासीका लागि हालको प्रसारण लाइनमार्फत् वा नयाँ प्रसारण लाइन बनाएर अघि बढ्ने विषयमा भने सरकार दुविधामा रहेको छ । बंगलादेश आफ्नो नवीकरणीय ऊर्जाको आवश्यकता पूरा गर्न नेपालको निजी क्षेत्रसँग सीधै विद्युत् खरिद गर्न पनि तयार रहेको बताइन्छ । नेपालका निजी क्षेत्रले विद्यमान प्रसारण लाइनमा ह्विलिङ चार्ज तिरेर वा नयाँ लाइन बनाएर अघि बढ्न तयार रहेको बताएको छ ।

बंगलादेशले नेपालमा सुनकोशी ३ जलविद्युत् आयोजना आफैं निर्माण गरी त्यसबाट उत्पादित विद्युत् आफ्नो देश निकासी गर्ने प्रस्तावसमेत नेपाल सरकारसमक्ष गरेको छ । अर्कोतर्फ, भारतीय बाटो हुँदै बंगलादेशसम्म विद्युत् निर्यात गर्नुपर्ने भएकाले विद्युत् निर्यातका लागि नेपाल, भारत र बंगलादेशबीच त्रिपक्षीय समझदारी आवश्यक पर्ने सरकारी अधिकारीहरूले बताएका छन् ।

गत मंसिरमा नेपाल भ्रमण गरेका बंगलादेशका विद्युत्, ऊर्जा तथा खनिज स्रोत राज्यमन्त्री नसरुल हमिदले उद्योग परिसंघसँगको छलफलमा नेपालको निजी क्षेत्रसँग पनि विद्युत् खरिद गर्न तयार रहेको बताउनुभएको थियो । सो छलफलका क्रममा बंगलादेशी पक्षले सन् २०२६ भित्रमा नेपालमा उत्पादन भई खेर गएको ३ हजार ५ सय मेगावाटसम्म विद्युत् खरिद गर्ने प्रतिवद्धता जनाएको थियो । जनवरी २०२२ बाट उक्त विषयमा नेपालको निजी क्षेत्रसँग छलफल गरी सो प्रतिबद्धता अनुरूपको मार्चभित्रमा काम सम्पन्न गर्ने बताइएको छ ।

हाल बंगलादेशमा २० हजार ९ सय ३४ मेगावाट विद्युत् उत्पादन हुँदै आएको छ । गत अप्रिल ३ मा अहिलेसम्मकै बढी १३ हजार १८ मेगावाट विद्युत् खपत भएको थियो । उसलाई सन् २०४० सम्ममा २४ हजार मेगावाट नवीकरणीय ऊर्जा आवश्यक छ र अबको ४ वर्षमा कोइलाबाट ऊर्जा उत्पादन गर्ने आयोजना बन्द गर्ने योजना बंगलादेशको छ ।

अर्कोतर्फ नेपालमा उत्पादन हुने विद्युत् बंगलादेशका लागि अहिलेभन्दा आधा सस्तो पर्ने बताइन्छ । उक्त तथ्य गलत नभएको ऊर्जाबिद ज्ञानेन्द्र लाल प्रधानले बताउनुभयो । विद्युत् उत्पादनको मुख्य स्रोत कोइला तथा प्राकृतिक ग्याँसमा निर्भर रहेको बंगलादेशले सन् २०४१ सम्म छिमेकी देशबाट ९ हजार मेगावाटसम्म विद्युत् आयात गर्ने रणनीति बनाएको छ । जहाँ भारतीय कम्पनी जीएमआर इनर्जीले निर्माण गर्ने भनिएको ९ सय मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत् आयोजनाबाट उत्पादन हुने ५ सय मेगावाट बिजुली बंगलादेश बेच्ने समझदारी भएको छ । कम्पनीले बंगलादेशसँग दर रेटको कुरा समेत टुंग्याएको बताइएको छ ।

उता बंगलादेशले भारतको उत्तर पूर्वी राज्य त्रिपुराबाट १ सय ९२ मेगावाट विद्युत् खरिद गर्ने भएको छ । बंगलादेशले विद्युत्को आन्तरिक माग व्यवस्थापन गर्न त्रिपुरा स्टेट इलेक्ट्रिसिटी कर्पोरेस लिमिटेड (टीएसइसीएल) सँग थप विद्युत् खरिद गर्ने भएको हो । बंगलादेशले यसअघि उक्त राज्यबाट १ सय ६० मेगावाट विद्युत् खरिद गर्दै आएकोमा यो परिमाणलाई २० प्रतिशत बढाएर १९२ मेगावाट पुर्याउन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्