एमालेद्वारा स्वास्थ्यमन्त्री खतिवडाको राजीनामा माग



काठमाडौं, (नेस) ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले स्वास्थ्यमन्त्री विरोध खतिवडाको राजीनामा माग गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा कोरोना विरुद्धको खोप पाँच हजारमा किनेर लगाएको अभिव्यक्ति दिएर खोपको विषयमा अफवाह फैलाएको भन्दै एमालेले स्वास्थ्यमन्त्री खतिवडाको राजीनामा माग गरेको हो ।

एमालेको स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख योगेश भट्टराईले एक विज्ञप्ति जारी गर्दै पाँच हजारमा किनेर खोप लगाएको अफवाह फैलाउने मन्त्री खतिवडाको राजीनामा माग गर्नुभएको छ । एमालेले सिभिल अस्पतालमा कोरोना खोप लगाउने सांसदहरूको सूचीमा स्वास्थ्यमन्त्री खतिवडाको नाम पनि सार्वजनिक गरेको छ । खतिवडाले हालै एक टेलिभिजनलाई अन्र्तवार्ता दिँदै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका बेला कोभिडविरुद्धको पहिलो खोप पाँच हजार रूपियाँमा किनेर लगाएको दाबी गर्नुभएको थियो । उहाँकोे अभिव्यक्ति गैरजिम्मेवार रहेको र यस्तो झुटो बोल्ने व्यक्ति मन्त्रीजस्तो गरिमामय पदमा बसिरहन नहुने भन्दै एमालेले राजीनामा मागेको हो ।

एमालेले जारी गरेको विज्ञप्तिमा भनिएको छ–‘खोप किनेर लगाएको’ भन्ने स्वास्थ्यमन्त्री खतिवडाको भनाइ सरासर झुटो र अफवाहपूर्ण छ । सिभिल अस्पताल, बानेश्वरमा उहाँले पहिलो मात्रा खोप २०७७ सालको १९ फागुनमा लगाएको अभिलेख सुरक्षित छ । तत्कालीन सरकारले फागुन १९ देखि २१ सम्म संघीय संसद्का सदस्यहरूलाई सिभिल अस्पतालमा निःशुल्क खोप उपलब्ध गराएको बेला सिभिल अस्पतालको रजिस्टर ‘ख’ मा क्र.सं. ४८ मा दर्ता गरेर खोप लगाउनुका साथै हस्ताक्षरसमेत गर्नुभएको छ । उक्त अभिलेखमा ६२ वर्षका खतिवडाले ब्याच नम्बर ४१२० जेड ००४ को कोभिसिल्ड खोप लगाएको स्पष्ट छ ।’

प्रतिक्रिया दिनुहोस्