कोरोनाको खोप हराएको छैन : छानबिन प्रतिवेदन

0
Shares

काठमाडौं, (नेस) ।

कोरोनाविरुद्धको खोप हराएको सम्बन्धमा छानबिन गर्न स्वास्थ्य मन्त्रालयले गठन गरेको समितिले खोप हराएको नभई रेकर्ड अध्यावधि नमिलेको प्रतिवेदन बुझाएको छ । समितिका संयोजक स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा. गुणराज लोहनीले सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडालाई उक्त प्रतिवेदन बुझाउनुभएको हो ।

२४ लाख मात्रा खोप हराएको चर्चा स्वास्थ्य मन्त्रालयबाट नै बाहिरिएसँगै छानबिनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १५ दिनअघि मन्त्रालयका प्रमुख विशेषज्ञ डा. गुणराज लोहनीको संयोजकत्वमा प्रमुख जनस्वास्थ्य प्रशासक यशोदा अर्याल, अनिल थापा, अभियान गौतम र गुणनिधि शर्मासहितको पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो ।

समितिका एक सदस्यका अनुसार कोरोनाको खोप नेपालको ७ प्रदेश र केन्द्रमार्फत वितरण हुने भएकाले खोपको रेकड समयमै अध्यावधिक हुन नसकेकाले यस्तो हल्ला बाहिरिएको पाइएको बताए । खोपको अवस्था, खपत, खेर गएको, म्याद गुज्रिएर डिस्पोज गर्नुपरेको लगायतका सम्पूर्ण तथ्यांक प्रतिवेदनमा उल्लेख गरी स्वास्थ्यमन्त्रीसमक्ष बुझाइएको उक्त प्रतिवेदन छिट्टै सार्वजनिक हुने तयारी भइरहेको बताइएको छ ।