काठमाडौं ।
तिलगंगा सामुदायिक आँखा अस्पतालको आँखा उपचार सेवा निजगढमा पनि शुरु भएको छ । प्रस्तावित अस्पतालको निजगढ नगरपालिकाका मेयर सुरेश खनाल र नेपाल आँखा कार्यक्रमका अध्यक्ष सुह्द घिमिरेले संयुक्त रूपमा उद्घाटन गर्नुका साथै भवनको शिलान्यास गर्नुभयो ।
निजगढ नगरपालिकाका उपमेयर लीला देवी लामिछानेले हामी सफल भयौ र अब आउने दिनमा सहयोग गर्न तयार छौ भन्नुभएको तिलगंगा आँखा प्रतिष्ठानले जनाएको छ । जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालले मन्तव्यका क्रममा जिल्लाको समग्र विकासमा आँखा अस्पतालले सहयोग गर्नेछ भन्नुभयो ।
नेपाल आँखा कार्यक्रमका अध्यक्ष सुह्द घिमिरेले भन्नुभयो, ‘भवन अत्याधुनिक निर्माण गर्नेछौ जुन अपाङ्गमैत्री, वातावरणमैत्री र लैगिंक मैत्री आँखा अस्पताल हुनेछ ।’ नेपाल आँखा कार्यक्रमका कार्यकारिणी सदस्य हरिवंश आर्चायले आँखा स्वास्थ्य सेवामा नेपाल आँखा कार्यक्रम, तिलंगागा आँखा प्रतिष्ठानको इतिहास र योगदान सहितको मन्तव्य व्यक्त गर्दै डा. सन्दुक रुईतको योगदानको मुक्तकण्ठले प्रशंसा गर्नुभयो ।
नेपाल आँखा कार्यक्रमका कार्यकारिणी सदस्य सिद्धिलाल श्रेष्ठले नगरपालिकाले पुर्याएको योगदान स्वागतयोग्य भएको र यो माया र विश्वासलाई इमानदारीपूर्वक निभाउने बताउनुभयो । सामाजिक संघ संस्थाहरूको तर्फबाट ने.रे.सो. उपशाखा निजगढका सभापति नारायण प्रसाद शर्माले २०७५ सालदेखिको प्रयास अहिले आएर कार्यान्वयन भएको छ, हामी एकदम खुसी छौ भन्नुभयो ।

तिलगंगा आँखा प्रतिष्ठानका प्रमुख सञ्चालन अधिकृत पीताम्बर अधिकारीले भवन निर्माणको विस्तृत विवरण तथा यसको विशेषताको बारेमा जानकारी दिँदै भन्नुभयो, ‘सबै पारदर्शी हुनेछ । भवन निमार्ण चुस्त दुरुस्त छिट्टै तयार हुनेछ ।’ द फ्रेड हलोज फाउन्डेसनका मेडिकल एड्भाइजर डा. लिलाराज पुरीले फाउन्डेसन र तिलगंगा आँखा प्रतिष्ठानको सहकार्य माथि प्रकाश पार्नुभयो ।
नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठानका बाह्य कार्यक्रम व्यवस्थापक डा. मोहन कृष्ण श्रेष्ठले परियोजना तथा उपलब्ध आँखा सेवाहरूको बारेमा जानकारी दिँदै आँखा स्वास्थ्य सेवा सर्वसुलभ प्रदान गरिने बताउनुभयो । उक्त कार्यक्रममा राजनीतिक दलका प्रतिनिधिहरू, निजगढ नगरपालिकाका सम्पूर्ण वडा अध्यक्ष तथा कार्यपालिकाका पदाधिकारीहरू, इलाका स्तरीय सम्पूर्ण सरकारी तथा गैरसरकारी पदाधिकारीहरू, निजगढ नगरपालिका अन्र्तगतका कर्मचारी तथा स्वास्थ्य संस्थाहरु, सञ्चारकर्मीहरु विद्यालयबाट अध्यक्ष तथा प्रधानाध्यापकहरू र महिला स्वयम सेविकाहरूको उपस्थिति रहेको थियो ।












प्रतिक्रिया