वर्षात्ले सुठो कुहिँदा किसान चिन्तित

0
Shares

डोटी ।

काचो अदुवाको मूल्य नपाउँदा अदुवा सुकाएर सुठो बनाउँदै गरेका यहाँको बडिकेदार गाउँपालिकाका किसानहरू लगातार जसो भइरहेको वर्षात्का कारण सुठो सुक्न नपाउँदा चिन्तित बनेका छन् । आफूले गरेको मेहनेत अनुसारको मूल्य नपाएपछि उक्त पालिकामा उत्पादन भएको अदुवा सङ्कलन गरी गाउँमै सुठो बनाउन थाले पनि पछिल्लो समय भएको हिमपात र दिन बिराएर हुने वर्षातका कारण सुठो सुक्न नपाउँदा कुहिने अवस्थामा पुगेको किसानहरू बताउछन् ।

जिल्लाको बडिकेदार गाउँपालिका–४ का किसानले काँचो अदुवाको मूल्य नपाएपछि सुठो बनाउन शुरु गरेका थिए । अदुवा तथा बेसारखेतीका लागि जिल्लाकै प्रसिद्ध मानिँदै आएको उक्त पालिकामा प्रायः सबै किसानले अदुवा र बेसारखेती गर्दै आएका छन् । अदुवाको मूल्य नपाउँदा सुठो बनाउदै गरेका यहाँका किसानलाई वर्षात् र हिमपातले सुठो कुहिन थालेपछि चिन्तित बनाएको बडिकेदार–४ का अदुवा व्यापारी खडक केसीले बताउनुभयो । उहाँले भन्नुभयो–‘काचो अदुवाको मूल्य नपाएपछि गाउँमै सबै मिलेर सुठो बनाउदै थियौँ, वर्षात र हिमपातले सुठो सुक्नै पाउँदैन, कुहिने भयो, यो वर्ष अदुवा खेतीले घाटा गर्ने निश्चित छ ।’

काँचो अदुवा सुक्नका लागि प्रर्याप्त मात्रामा घाम नलाग्दा अदुवा कुहिने अवस्थामा पुगेको भन्दै किसानहरू चिन्तित बनेका हुन् । यहाँ उत्पादन हुने अदुवा तथा बेसारको मुख्य व्यापारीक केन्द्र भारतको पलिया, गौरीफण्टा र बनबासा भएको र त्यहाँका व्यापारीले हाल अदुवाको मूल्यमा घटिबढी गर्ने गरेका कारण यो वर्ष काचो अदुवा बिक्री नगरी गाउँमै किसानहरू मिलेर अदुवा सुकाएर सुठो बनाउन थालेका हुन् ।

घरको छाना तथा खुली रहेको गाउँकै काउले बजार नजिकैको खाली डाँडामा सुठोका लागि अदुवा सुकाइएको भए पनि दिन बिराएर हुने वर्षात्का सुठो सुक्न नपाउँदै कुहिन थालेको सुनौलो किरण किसान समूह बडिकेदार–४ का अध्यक्ष नरेन्द्रबहादुर ताडीले दुःखेसो गर्नुभयो । उहाँले भन्नुभयो–‘अदुवा व्यापारीले मूल्यमा गरिवट गरे, गाउँमै सुठो बनाएर बिक्रि गरौँ भन्दा वर्षात्ले अदुवा सुक्नै पाउँदैन, यो भन्दा ठूलो घाटा हरू के होला ।

यहाँका किसानले उत्पादन गरेको काँचो अदुवालाई गाउँकै व्यापारीले सस्तो मूल्यमा किनी सुठो बनाउन थालेको भए पनि सुठो सुक्न नपाउँदै वर्षा भएका कारण घाटा हुने अवस्था देखिएको अर्का किसान नरेश मौनीले बताउनुभयो । उहाँका अनुसार काँचो अदुवालाई कम्तीमा पनि एकदेखि दुई हप्तासम्म चर्को घाममा सुकाएर सुठो बनाइन्छ । तीन किलो काँचो अदुवा बराबर पछि गएर सुकेपछि जम्मा एक किलो मात्रै सुठो हुने उहाँको भनाइ छ ।

सुकाएर बनाइएको सुठो बर्सौसम्म पनि नकुहिने तथा नबिग्रिने भएकाले पनि यहाँका किसानले उत्पादन गरेका अदुवा गाउँमै सुठो बनाउन थालिएको थियो । किसानले उत्पादन गरेको अदुवा स्थानीयस्तरमै बिक्री वितरण तथा खपत गर्ने उद्देश्यले सुठो बनाउन थालिएको थियो । काँचो अदुवा सुठो बनाउनका लागि गाउँका कम्तीमा पनि सात आठ जना युवा परिचालन गरिएको छ ।

यहाँका व्यापारीले अहिले गाउँमा उत्पादन गरिएको काँचो अदुवा प्रतिकिलो २८ रुपियाँमा खरिद गरी सुठो बनाउन थालेको बडिकेदार गाउँपालिका–५ का हर्कबहादुर बोहराले जानकारी दिनुभयो । यहाँका किसानको मुख्य आय स्रोत भनेको अदुवा र बेसार भएकाले उक्त खेतीलाई बढी प्राथमिकतामा राखी गाउँमै अदुवा प्रशोधन केन्द्र बनाउनुपर्ने स्थानीयवासीको माग रहेको छ । भारतीय व्यापारीले अदुवा र बेसारको मूल्यमा वर्षेनि गर्ने उतारचढावले यहाँका किसानलाई ठूलो नोक्सानी हुने गरेको छ ।