डेढ घण्टा पैदल हिँडेर विद्यालय पुग्ने विद्यार्थीलाई मासिक रकम

0
Shares

तनहुँ, (नेस) ।

तनहुँको दक्षिण क्षेत्रको ऋषिङ गाउँपालिकाले डेढ घण्टा पैदल हिडेर विद्यालय पुग्ने विद्यार्थीलाई मासिक एक हजार रुपियाँ उपलब्ध गराउने भएको छ । गाउँपालिकाको आइतबार सम्पन्न ११औं गाउँसभाले घरदेखि विद्यालयसम्म पुग्दा डेढ घण्टा हिँड्नुपर्ने विद्यार्थीलाई रकम उपलब्ध गराउने निर्णय गरेको छ ।

गाउँपालिकाले छात्रावास कार्यक्रममार्फत एक विद्यार्थी बराबर एक हजार रुपियाँ सहयोग गर्ने निर्णय भएको प्रवक्ता विजय दरैले जानकारी दिनुभयो । ‘नजिक नहुँदा लामो दूरी पैदलमार्फत् अध्ययनका लागि विद्यालय पुग्ने विद्यार्थीहरूलाई प्रोत्साहन गर्न यस्तो नीति ल्याइएको हो, यसले लामो दूरी पुग्न नचाहने विद्यार्थीलाई हिँडेरै भए पनि पढ्ने बनाउने अपेक्षा गरेका छौं’ –उहाँले भन्नुभयो ।

उहाँका अनुसार गाउँसभाले वडा नम्बर २ र ५ को कार्यालय भवन निर्माण गर्ने निर्णय गरेको छ । आफ्नै भवन नहुँदा सेवा प्रवाहमा समस्या भएपछि भवन निर्माण गर्न लागिएको उहाँले बताउनुभयो ।

त्यस्तै स्थानीय तहमा लगातार तीन वर्ष सेवा गर्ने कर्मचारीलाई ग्रेडको व्यवस्था गर्ने निर्णय गाउँसभाले गरेको छ । सभाले स्थानीय तह हुनुभन्दा पहिले स्थायी भएका कर्मचारीलाई एक तह बढुवा गर्ने निर्णय पनि गरेको प्रवक्ता दरैले बताउनुभयो । सभाले सञ्चालनमा रहेका खानेपानी, सडक कालोपत्रेलगायतका विकास निर्माणका काम शीघ्र सम्पन्न गर्न ताकेता गर्ने निर्णयसमेत गरेको छ ।