राजधानीमा पानीकै हाहाकार


वर्षौंदेखि राजधानी काठमाडौंमा खानेपानीको हाहाकार छ । सबैभन्दा बढी जनसंख्या पनि राजधानीमै छ, ७७ वटै जिल्लाका सर्वसाधारणहरु पनि यही कोठा भाडामा लिएर बस्छन् । विदेशी पाहुनाहरु घुम्न आउँदा राजधानीमै बस्न रुचाउँछन् तर जनसंख्याको अनुपातमा यहाँ पानी आउँदैन ।

बढ्दो शहरीकरणले पानीको मुल सबै सुकिसकेका छन् भने धारामा थोपो पानी आउँदैन । फेरि पानी नभई जीवन पनि चल्दैन । खाना पकाउन, लुगा धुन, नुहाउन, सरसफाइ गर्न र पिउनको लागि पानी नै चाहिन्छ । पानीको अभावमा सानो आवश्यकताको काम पनि पूरा गर्न सकिँदैन ।पानीको यति महत्व छ कि जन्मेदेखि मरुन्जेलसम्म यसको आवश्यकता पर्छ । काठमाडौंमा पछिल्लो समय घरचाहिँ प्रशस्तै छन् तर पानी छैन । घरधनीहरुले कोठा बहालमा लगाउँछन् तर पानी दिन हिचकिचाउँछन् । पानी नदिए पनि यसको शुल्कचाहिँ महिनैपिच्छे असुल्छन् । उपत्यकाभित्र भएका सार्वजनिक ढुंगेधारा, कुवाहरु पनि मासिइसकेका छन् ।

अव्यवस्थित शहरीकरणले पानीको मूल सुक्दै गएको छ भने ढुंगेधारा, कुवाको नामोनिशान छैन । जमिनभित्रबाट मूल फुटेर आउने पानीको स्रोत पनि बन्द भइसकेको छ । किनकि त्यसलाई दोहन गरेर त्यसकै माथिबाट घर बनाइएको छ । सरकारले मेलम्चीको पानी काठमाडौंको घरघरमा ल्याउँछु भनेको पनि धेरै वर्ष बितिसक्यो ।केही दिनको लागि मेलम्चीको पानी काठमाडौंवासीको धारामा आएको थियो तर बाढीले मुहान नै फुटाउँदा त्यो पनि बन्द भयो । खानेपानी मन्त्री उमाकान्त चौधरीले यही चैतभित्र मेलम्चीको पानी काठमाडौंको धारामा ल्याउँछु भनेर दाबी गरेका छन् तर बगाएको मेलम्चीको मुहानको मर्मत गर्न सरकारले सुरु गरेको छैन ।

सरकारले मेलम्चीको पानी काठमाडौं ल्याएपछि पानी व्यापार गर्ने मिनरल वाटर कम्पनी र जार कम्पनीमा निराशा छाएको थियो । यता, जमिनभित्रको पानी बोरिङ गरेर ल्याउने ट्यांकरहरु पनि आफ्नो व्यवसाय सिद्धिने चिन्तामा थिए । खानयोग्य नभएको पानी पनि खानलायक छ भन्दै ट्यांकरहरुले महँगो शुल्क लिएर बिक्री वितरण गरिरहेका थिए ।
ट्यांकरले एक ट्याङ्की पानीको न्यूनतम शुल्क तीनदेखि पाँच हजार लिने गरेको पाइन्छ । प्रशोधन नगरिएको पानीलाई प्रशोधित भन्दै ट्यांकर व्यवसायीले आम नागरिकको स्वास्थ्यमाथि खेलबाड गरिरहेका छन् । घरधनीले यता पानीको पैसा पनि लिन्छन् । उता, ट्यांकरबाट ल्याएको पानी किनेको पैसा पनि त्यही बहालवालासँग असुल्छन् ।

पैसाचाहिँ बराबर तिरे पनि बहालमा बस्नेले बाल्टिनले नापेर पानी पाउँछन् । घरधनीले चाहिँ आफूले मनलाग्दी पानी चलाउँछन् । कोठा बहालमा लिएर बसेपछि पानी त्यत्तिकै पाउनुपर्ने हो । त्यत्तिकै त पाइएन भनेर चित्त बुझाएका बहालवालाले पैसा तिरेर पनि बाल्टिनमा नापेर पानी पाउँछन् ।घरधनीले भनेजति रकम तिरेर कोठा बहालमा लिएर बस्नुपर्ने बाध्यता छ । एउटा खाट नअट्ने कोठाको सातदेखि दश हजारसम्म तिर्नुपरेको छ । बत्ती, फोहोर र पानीको छुट्टै शुल्क । घरधनीले महिनैपिच्छे भाडा लिन्छन्, बिल दिँदैनन् । महिना सिद्धिनुभन्दा अगाडि भाडा माग्छन् ।कोठा छोडेर जाने बेला रंग लगाइदिनुपर्छ । कोठा बहाल पनि वर्षैपिच्छे आफ्नो मनलाग्दी हिसाबले बढाउँछन् । घरधनीलाई

खानेपानीको रकम तिरे पनि जारको पानी नकिनी सुख छैन । एक जार पानीको ६० रुपियाँसम्म तिर्नुपरेको छ । पसलैपिच्छे जारको पानीको रेट फरक–फरक छ ।एक जार पानीले एकजनालाई नुहाउन त परै जाओस्, शौचालय जान पनि पुग्दैन । खाना पकाउन, भाँडा धुन, लुगा धुन पनि जारकै पानी किनेर चलाउनुपर्दा मासिक दुःख गरेर आएको रकम त पानी किन्दै सिद्धिने भो । आठ–दश हजारले पानी किन्न नपुग्ने भइसक्यो । कोठा बहाल कसरी तिर्ने, रासन चाहियो, बालबच्चा पढाउनै प-यो, यो कसरी धान्ने ?

पानी नहुनुको पीडा काठमाडौंमा कोठा बहालमा लिएर बस्नेलाई मात्र थाहा छ । कोठा बहाल बढ्छ, खानेकुराको मूल्य दैनिक उकालो लाग्छ तर तलब बढ्दैन । यता, पानीको शुल्क छुट्टै छ । काठमाडौंमा पानीको हाहाकार यति छ कि बाटो हिँड्नेलाई एक गिलास पानी पनि दिँदैनन् ।पैसा नहुने, पानी पनि पिउन नपाउने दिन आइसकेको छ । घर बहालमा लिएर पैसा लिन घरधनीलाई सहज छ । तर पानी दिन भनेपछि उनीहरुलाई निकै असहज हुन्छ । यो घरधनीले बहालमा बस्नेमाथि गरेको अपराध होइन ? बूढापाकाले बाटोमा हिँड्नेलाई पानी खान दियो भने धर्म हुन्छ भन्थे र दिन्थे पनि ।

पछिल्लो समय पानीलाई व्यापार बनाइयो । पानी पनि खरिद–बिक्री हुन थाल्यो । पानी व्यापार गर्ने माफियाहरुले केमिकलयुक्त, धमिलो पानी खानयोग्य छ भनेर बोतल र जारमा भरेर बेच्ने गरेका छन् । खानयोग्य नहुने पानी बेचेर सर्वसाधारणको स्वास्थ्यमाथि खेलबाड गरिएको छ ।आम नागरिकलाई बिरामी बनाउने काम यी पानी बेच्ने माफियाहरुले गरिरहेका छन् । पानीको जार पनि निकै फोहोर, वर्षौंदेखि सफा नगरिएको जस्तो जारमा पानी भरेर बेचिरहेका छन् । कुच्चिएको, हेर्दै घिनलाग्दो जारहरुमा पानी बिक्री भइरहेको छ । यता, उनीहरुले तोकेको जति शुल्कमा उपभोक्ताले पानी किन्नुपरेको छ ।

ट्यांकर, मिनरल वाटर र जारको पानीको मूल्य सरकारले तोकेको होइन । उनीहरुले आफूलाई मनलाग्दी भाउ राखेका छन् । जसले जार र ट्यांकर पानी किनेर चलाउँछ उसलाई त्यो रेट महँगो हो कि सस्तो, यसबारे कसैलाई पत्तो छैन । सरकारले पनि यस विषयमा छानबिन गरेको छैन ।मुलुकका शीर्ष नेताहरुलाई प्रलोभनमा पारेर यिनीहरुले गुणस्तरहीन पानी बिक्री वितरण गरिरहेका छन् । खानेपानी मन्त्रीलाई कमिसन दिएर आधा ट्यांकर पानीको मूल्य पूरै लिन यिनीहरु सफल बनेका छन् । जारमा पनि भरी पानी हुँदैन, तोकेको भन्दा दुई–तीन गुणा पानी कम हुन्छ ।

यता, कसैले नदेख्ने भएपछि ट्यांकरवालाले आधा ट्याङ्की पानी ल्याएर खसाल्छ तर पैसा भने पूरै लिन्छ । अधिकांश जार कुच्चिएको हुन्छ, जसको कारण पानी थोरै आउँछ । पानी बेच्ने कम्पनीहरुले यसरी सर्वसाधारण ठग्दा पनि सरकार कानमा तेल हालेर बसेको छ । सम्बन्धित निकायले अनुगमनमा चासो दिएका छैनन् ।कहीँ–कतै हिँड्दा पानी तिर्खा लाग्यो भने पनि सार्वजनिक ढुंगेधारा, कुवा कहीँ पनि छैन । गोजीमा पैसा भए मिनरल वाटर किनेर खान पाइयो, होइन भने घर नपुगुन्जेल कुर्नुपर्छ । बाटोमा मागेर खाने, अनि मानसिकता गुमाएर बाटोमा हिँड्नेहरु पानीविनै बाँचिरहेका छन् । पानीको लागि रन्थनिएर बस्नु बाध्य छन् उनीहरु ।

किनकि पानी खरिद गरेर पिउन सक्ने अवस्था उनीहरुको छैन । खानेपानी मन्त्रालयले उपत्यकाभित्र भएका जिल्लाहरुको अध्ययन गरेर बोरिङ गर्नुपर्छ । बोरिङ गरेर पानी निकाल्यो भने तत्कालका लागि काठमाडौंवासीको समस्या समाधान हुन्छ । केही वर्षअघिसम्म उपत्यकामा मात्र ६ सय ३४ वटा ढुंगेधारा थिए । ताल, पोखरी, कुवा त कति थियो कति । तर, पछिल्लो समय उपत्यकामा एउटा ढुंगेधारा भेट्न पनि मुस्किल छ । काठमाडौं महानगरपालिकाले हाम्रो पुर्खाको सम्पत्ति पनि संरक्षण गर्न सकेन ।

पानीको मुहान नमासिदिएको भए अहिले पानीको व्यापार यसरी मौलाउँदैन थियो । चराचुरुङगी, गाईवस्तु, पशुहरुलाई समेत पानीको खोजी गर्नुपर्ने अवस्था छ । अहिले उपत्यकामा चराचुरुङगी, गाईवस्तुका बासस्थान कमै मात्र छ । काठमाडौंमा पानीको हाहाकार भएको वर्षौं बितिसकेको छ ।