मेयरमा एमालेका तीन नेता आकांक्षी

0
Shares

हेटौंडा ।

सरकारले स्थानीय तहको निर्वाचन मिति घोषणा गरेसँगै वागमती प्रदेशको एकमात्र उपमहानगरपालिका हेटौंडामा नेकपा एमालेभित्र मेयरका विषयलाई लिएर राजनीतिक चर्चा शुरु हुन थालेको छ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेकपा एमालेभित्र हेटौंडा उपमहानगरपालिकाका मेयरको टिकट लागि तीन आकांक्षी देखिएका हुन् ।

वर्तमान मेयर हरिबहादुर महत, संविधानसभा सदस्य अनन्त पौडेल र जिल्ला समन्वय समिति मकवानपुर प्रमुख रघुनाथ खुलालले पार्टीभित्र टिकटका लागि लबिङ शुरु गर्नुभएको छ । करिब ३ अर्ब बजेट रहेको उपमहानगरको नेतृत्व हत्याउन एमालेभित्र अन्य नेताहरुले भने मुख खोलिसकेका छैनन् । तर, हाल चर्चामा रहेका महत, पौडेल र खुलालले भने आन्तरिकरूपमा आफूनिकट नेतासँग आफ्नो पक्षमा वकालत गर्न आग्रह गरिरहेका छन् ।

अघिल्लो स्थानीय तहको निर्वाचनमा कांग्रेस र माओवादीबीच तालमेल हुँदा पनि एमाले विजयी भएका कारण मेयरका प्रत्याशी धेरै भएको अनुमान गरिएको छ । हाल नेकपा एमाले विभाजन भए पनि संगठित कार्यकर्ताको बलमा चुनाब जित्नेमा नेताहरु ढुक्क देखिन्छन् । माओवादी केन्द्रसमेतको गठबन्धनबाट उम्मेदवार हुनुभएका कांग्रेसका आनन्दराम पराजुलीलाई ६ सय १५ मतले हराउँदै महत मेयर निर्वाचित हुनुभएको थियो । महतले २३ हजार १ सय २४ र पराजुलीले २२ हजार ५ सय ९ मत पाउनुभएको थियो । मेयर निर्वाचित महत २०४९ र २०५४ मा उपमेयर निर्वाचित हुनुभएको थियो ।

पौडेल भने संविधानसभा सदस्यहरु मिलेर गठन गरिएको संस्था संविधानसभा सदस्य परिषद् संयोजक हुनुहुन्छ । नेता पौडेल स्पष्ट वक्ताका रूपमा परिचित हुनुहुन्छ । स्थानीय तह, प्रदेश सरकार, केन्द्रीय सरकार र संघीय सांसद्सँग समन्वय गरेर हेटौंडासँग सम्बन्धित रहेका विकास निर्माणका ठूला/साना आयोजना, जनताका आवश्यकता र अपेक्षा पूरा गरिने उहाँले बताउनुभयो ।

‘कमजोर भू–धरातल भएको हुनाले बाढी–पहिरोको ठूलो प्रकोप छ यहाँ । त्यसमा पनि धेरै ठूलो समस्या आएका छन् । हेटौंडा उपमहानगरपालिका १४ नम्बर वडा खहरे नै खहरेले घेरिएको वडा हो । चारैतिरबाट क्षत–विक्षत बनाएको छ । हेटौंडा–७, ८, ९, हटिया, हर्नामाडीलगायत क्षेत्रमा पनि समस्या छन् । नीति निर्माण, योजना निर्माणका विषयमा पनि लागिएको छ ।’ –पौडेल भन्नुहुन्छ ।

नेकपा एमाले वागमती प्रदेशका संगठन विभाग प्रमुख रहनुभएका पौडेल सर्वसम्मत प्रतिनिधि छनोट हुनुभएको थियो । पौडेलले गत महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवार दिने बताए पनि पार्टी अध्यक्ष केपी ओलीले उहाँको नाम लिनुभएन । यसका कारण नै उहाँलाई मेयरमा सुरक्षित राखिएको बताइएको छ । २०४३ सालमा तत्कालीन माले मकवानपुरका सचिव रहिसक्नुभएका पौडेलले पाँच वर्ष एमाले मकवानपुरको नेतृत्वका रुपमा काम गर्नुभएको थियो भने दुई कार्यकाल एमालेको नारायणी अञ्चल सचिव भएर कार्यभार सम्हालिसक्नुभएको छ । यही कारण पौडेलको सम्भावना बढी देखिएको एमाले स्रोतले जनाएको छ ।

जिल्ला समन्वय समिति प्रमुख खुलाल चितवनमा मंसिरमा भएको एमालेको राष्ट्रिय महाधिवेशनमा प्रतिनिधि चयन हुनुभएको थियो । एमालेले गरेको १ सय ६ जना प्रतिनिधि मनोनयन भएकामध्ये खुलाल पनि मनोनित हुनुभएको हो । उहाँ एमाले मकवानपुरका पूर्वसचिवसमेत हुनुहुन्छ ।

नगर उपमेयरमा मीना लामाले कांग्रेस माओवादी गठबन्धनका बलराम बललाई ६ हजार ४ सय २५ मतको फराकिलो अन्तरले पराजित गर्नुभएको थियो । लामाले २३ हजार ४ सय ३६ र बलले १७ हजार ११ मत प्राप्त गर्नुभएको थियो । मेयरमा राप्रपाले ६ हजार ८ सय ५७ र नयाँ शक्ति र संघीय समाजवादी गठबन्धनले १ हजार १ सय ६ मत प्राप्त गरेका थिए ।

मेयरका लागि खसेका ७ हजार ५ सय ८२ मत बदर भएको थियो । हेटौंडा उपमहानगरमा एमालेले १२ वटा वडा जित्दा कांग्रेसले ५ र माओवादी केन्द्रले २ वडा जितेको थियो । नेपाल सरकारले २०२६ सालमा हेटौंडा नगर पञ्चायत बनाएको थियो । २०११ सालमा बाढीबाट पीडित भएका मानिसलाई यहाँ ल्याएर राखिएको हो । भीमफेदीमा २०११ सालमा ठूलो बाढी गएको थियो । २०३१ सालमा नापी भयो । २०३२ सालमा लालपुर्जा आएको थियो ।