उपाधि होडमा मच्छिन्द्र एक्लै अघि बढ्दै



काठमाडौं ।

लिग विजेता मच्छिन्द्र एफसी शहिद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि दौडमा एक्लै अघि बढ्दै छ । शनिबार भएको खेलमा मनाङ मस्र्याङदी क्लब बराबरी नतिजामा खुम्चिएपछि मच्छिन्द्र जितसँगै उपाधि होडमा एक्लै अघि बढेको हो । मच्छिन्द्रले रेलिगेसनमा रहेको टिम च्यासल युथ क्लबलाई २–० ले हराएको हो । उक्त जितमा विमल घर्तीमगर र सुनील बलले एक–एक गोलको योगदान दिए ।

खेलको १७औं मिनेटमा विमलले गौल गर्दै मच्छिन्द्रलाई अग्रतामा राखेका थिए । उनले रेजिन धिमालको कर्नर प्रहारलाई हेडमार्फत् गोलको दिशा दिए । यो उनको जारी लिगमा व्यक्तिगत चौथो गोल समेत थियो । यसपछि सुनीलले ३५औं मिनेटमा गोल गर्दा विमलले नै बल सप्लाई गरेका थिए । यो सुनीलको जारी लिगमा व्यक्तिगत छैटौं गोल थियो ।

यो जितले मच्छिन्द्रको १० खेलबाट २६ अंक भएको छ । यो नतिजाले उपाधि होडमा चुनौती दिइरहेको मनाङले जित हात पार्नुपर्ने दबाब बनेको थियो । तर, मनाङले थ्रीस्टार क्लबसँग १–१ बराबरी खेल्दै अंक बाँड्न बाध्य भएको थियो । त्यसो त मनाङले दयानन्दको गोलसँगै ६२औं मिनेटमा अग्रता लिएको थियो । यसको १० मिनेटपछि ऋतिक खड्काले सुन्दर गोल गरेर थ्रीस्टारलाई बराबरीमा ल्याए । यसपछि गोल नभएपछि खेल बराबरीमै सकिएको थियो ।

यो नतिजापछि मनाङको १० खेलबाट २० अंक भएको छ भने थ्रीस्टारको त्यति नै खेलबाट १७ अंक भएको छ । मनाङ र मच्छिन्द्रको दूरी ६ अंकमा पुगेको छ । यस्तै, त्रिभुवन आर्मी क्लब पनि अघिल्लो दिनको खेलमा जावलाखेलसँग १–१ बराबरी खेल्दै उपाधि होडमा पछि परिसकेको अवस्था छ । अब ३ चरणको खेल बाँकी भएको हुँदा मच्छिन्द्र उपाधि रक्षा गर्न एक जितबाट टाढा रहेको छ ।

च्यासल रेलिेगसनतिर
च्यासल लिगमा लगातार हार व्यहोर्दै गएपछि रेलिगेसन हुनेतिर अग्रसर भएको छ । त्यसो त बाँकी ३ चरण खेल्न बाँकी छ । च्यासलले रेलिगेसनबाट उम्किन बाँकी खेलमा जित हात पार्नुपर्ने दबाब पनि छ । च्यासल १० खेलबाट ५ अंक जोडेर अंकतालिकाको पुछारमा रहेको छ । रेलिगेसन जोनमै रहेको टिम ब्रिगेड ब्वाइज क्लबको ६ अंक रहेको छ । त्यस्तै, रेलिगेसन जोनबाट सुरक्षित भएको टिम फ्रेन्डस् क्लबको पनि ६ अंक नै छ । यसैले पनि च्यासलको लागि रेलिगेसनबाट जोगिन बाँकी खेलमा जितकै नतिजा निकाल्नै पर्ने भएको छ ।

सातदोबाटोको अर्को जित
जारी लिगमा डार्क हर्सको रूपमा अघि बढेको सातदोबाटो युथ क्लबले अर्को जित निकालेको छ । शनिबार सातदोबाटो मैदानमा भएको खेलमा सातदोबाटोले नेपाल पुलिस क्लबलाई १–० ले हराएर जारी लिगमा चौथो जित हात पार्यो । टिमको जितमा आकाश बुढामगरले १९औं मिनेटमा गरेको पेनाल्टी गोल नै निर्णायक बनेको थियो । योसँगै सातदोबाटो १० खेलबाट १५ अंक जोड्दै पाँचौं स्थानमा उक्लियो । पुलिसले भने १० खेलबाट १० अंक जोडेको छ ।

मनीष खतरा मुक्त
मच्छिन्द्रका मिडफिल्डर मनीष डाँगी खतरामुक्त रहेको क्लबले जनाएको छ । शनिबार च्यासलविरुद्धको खेलमा मनीषलाई टाउकोमा चोट लागेको थियो । उनलाई मैदानमा केही उपचार गराएर रंगशाला नजिकै रहेको अस्पतालमा उपचार भइरहेको छ । ६१ औं मिनेटमा सुनील बलको स्थानमा मैदान प्रवेश गरेका मनीषले पाँच मिनेट पनि खेल्न पाएनन् । ६५औं मिनेटमा बल लिने क्रममा च्यासलका खेलाडी यान्निक केट्चासँग ठोक्किँदा मनीषको टाउको चोट लागेको थियो । चोट लागेसँगै उनी मैदानमा ढलेका थिए ।

प्रतिक्रिया दिनुहोस्