एमसीसीका सन्दर्भमा दलहरु एक होऊ

0
Shares

अहिले एमसीसी नेताहरुका लागि निल्नु न ओकल्नु भएको छ । यसलाई स्वीकार गरौँ भने विरोधी पक्ष र ठूलो संख्याका नागरिकको खप्की खानुपर्ने र नस्वीकारौँ भने अमेरिकासँगको सम्बन्धमा आँच आउने । यति मात्र होइन, नजिकै आएको स्थानीय चुनावमा समेत यसको नराम्रो असर पर्ने हुँदा ठूला दलका नेताहरु यतिखेर तनावमा परेका छन् ।

नमिलेका विषयहरु मिलाउन, पार्टी सञ्चालन प्रक्रिया तथा सत्ता सञ्चालनका सम्बन्धमा विधानबमोजिम अघि बढ्न सकेमा त्यो जस्तो राम्रो व्यवस्थापन अरु देखिँदैन, तर जिम्मेवार नेताहरुले नै यसलाई गम्भीरतापूर्वक नलिएपछि समस्यामाथि समस्या थपिँदै गएको हो भन्दा अत्युक्ति नहोला । एमालेका अतिरिक्त अन्य राजनीतिक दलहरुले पनि सामान्य आरोप–प्रत्यारोपमा मात्र सीमित नभएर एक पक्षले अर्को पक्षलाई विदेशीको गोटी/दलाल र भरौटेजस्ता नितान्त आपत्तिजनक शब्द खर्चेर खुलेआम गालीगलौजमा उत्रिएको देख्दा राजनीतिक संस्कार त बिलाइसकेको आभास हुन्छ । यो त राजनीतिका नाममा अराजनीतिक गतिविधिसिवाय केही होइन । यस्तै कारणले आम जनमानसमा राजनीतिप्रति वितृष्णा जाग्ने अवस्था सिर्जना हुन्छ भन्ने कुरा पनि नेताहरुले ख्याल गरेको पाइँदैन ।

अहिलेको समस्या समाधानमा सबै दल एकजुट हुनै पर्छ । कुनै दलका नेता पन्सिएर यसको घान अर्कालाई पन्साउन खोजे भने मुलुक झन् अधोगतितिर जाने निश्चित छ । एमसीस स्वीकार गरे पनि अस्वीकार गरे पनि सबैको मत एउटै हुनु जरुरी छ । यसबारे नबोली मुन्टो फर्काएर बस्नु पनि कसैका लागि हित हुँदैन । जसरी जनयुद्धका बेला दलहरु एक भएका थिए त्यसरी नै एक हुने बेला आएको छ । यसका लागि ढिलो नगरौँ ।
शिवजी श्रेष्ठ, चाबहिल, काठमाडौं