कोभिड संक्रमित फोक्सो–कलेजोलाई सबल बनाउन फिजियोथेरापी

0
Shares

काठमाडौं ।

कोभिड महामारीको शिकार व्यक्तिहरू उपचारपछि स्वस्थ भए पनि उनीहरूको फोक्सो–कलेजो पहिलाजस्तै सबल नभएको अनुभव नेपाली चिकित्सकहरूको छ । लामो समयको आइसोलेसन, क्वारेन्टिन वा घर बसाइपछि काममा फर्किएका कर्मचारी, स्कुल जान थालेका विद्यार्थी र व्यवसायलाई निरन्तरता दिने अन्य व्यक्तिमा स्फूर्तिमा कमी र आलश्यतामा वृद्धि भएको गुनासो लिएर बिरामीहरू स्वास्थ्यकर्मीसमक्ष आउने गरेका छन् ।

कोभिड र कोभिडपछिको अनुगमनमा सक्रिय भौतिक चिकित्सक सरोज पाण्डे भन्नुहुन्छ – ‘कोभिड निको भएकाहरूलाई आकास्मिक परिश्रमले फोक्सोजस्ता अङ्गमा अपुरणीय समस्या ल्याउन सक्छ । नेपाल–भारतलगायत अन्य मुलुकमा पनि यस स्थितिको कारणले धेरैको स्वास्थ्यमा रगत जम्ने समस्या, श्वास–प्रश्वासमा कठिनाइ आदि समस्याहरू देखिएको मेरो अध्ययनले देखाएको छ ।’

‘यस्तो अवस्थामा आकास्मिक रूपमा कोभिड पहिलेको स्थितिमा गरिराखिएको काम, व्यायाम, खेल वा कुनै पनि अभ्यासमा तुरुन्तै फर्किहाल्न खोज्नु राम्रो हुँदैन । बिस्तारै, कम गतिमा, स्थिर रहेर विज्ञहरूको निगरानी र सल्लाहमा काममा फर्किन सकियो भने राम्रो हो’ – डा. पाण्डे सुझाव दिनुहुन्छ ।

कोभिडपछिका स्वास्थ्य समस्याहरू नियाल्दा पीसीआर टेस्ट नेगेटिभ आइसक्यो तर अझै लामो समयसम्म पनि शरीर निको भएको छैन भन्नेजस्ता गुनासाहरू थुप्रै सुनिन्छन् । चिकित्सक पाण्डेका अनुसार समस्याहरूमा मांसपेशीमा समस्या, अधिक थकान र दुखाइ, नसामा समस्या, श्वासप्रश्वासमा समस्या, पहिलेको गतिमा काम गर्न नसकिएको गुनासो, सही ढाँचामा सास फेर्न नजानेको, हाडजोर्नीमा दुखाइ, सही आसनमा बस्न नसकेको, तीव्र र बारम्बार इन्जुरीको अवस्था आदि थुप्रै समस्याहरू पोस्ट कोभिड केसहरूमा देखिएका छन् । कोभिडपछि बढेका मधुमेहका बिरामीहरू र फोक्सो अनि फोक्सोको समस्याको कारण, कम शारीरिक हलचल र व्यायामको कमीले सिर्जित परिणामका शिकार भएका छन् ।

‘यस्ता समस्याहरूको निदान र उपचार गर्न शारीरिक मजबुती , विशेषगरी फोक्सोको मजबुतीको लागि र जटिल अवस्था हुँदै निको भएकाहरूका लागि पुनःस्थापना सेवामार्फत पूर्व अवस्थाको स्वास्थ्य स्थितिमा फर्काउन भौतिक चिकित्सकहरूको महत्वपूर्ण भूमिका रहन्छ । चेस्ट फिजियोथेरापी, श्वास–प्रश्वासका विधि, आसन, मांस सबलीकरण व्यायाम आदिद्वारा बिरामीहरूको स्वास्थ्यमा सुधार ल्याउन सकिएको छ, अन्य स्वास्थ्य कठिनाइहरू पनि रोकिएका छन् ।’

हाडजोर्नी तथा खेलकुद विभागमा कार्यरत हाडजोर्नी तथा खेलकुद विशेषज्ञ भौतिक चिकित्सक हरिबाबु रिजालका अनुसार बिमारीपन र कामको अवस्थाका साथसाथै कार्य स्थलमा हुनसक्ने इन्जुरीको जोखिमलाई विश्लेषण गरी भौतिक चिकित्सकहरूको निगरानीमा रहेका बिरामीहरू र खेलाडीहरूको स्वास्थ्यको परीणामहरू उत्तम देखिएको छ ।

नेपाल फिजियोथेरापी संघ सुदूरपश्चिमका सचिव तथा भौतिक चिकित्सक सुरेन्द्रप्रसाद भट्ट भन्नुहुन्छ – ‘कोभिडपछिको अस्वस्थता र समस्याहरू कम गर्न वा निर्मूल पार्न केही अस्पतालमा फिजियोथेरापी युनिट नै खडा गरेर सेवामा जोड नदिइएको पनि होइन । तर, यो सेवा केही क्षेत्रमा र केही ठूला अस्पतालहरूमा मात्र सीमित छ ।’

भट्टका अनुसार कोभिडको कारणले उत्पन्न गराउने अन्य समस्याहरूको लागि अत्यावश्यक फिजियोथेरापी सेवा र यसको महत्व बारेको जानकारी तल्लो तहका जनतासम्म पुर्याउनु आवश्यक छ । यस कार्यको पहल नभएको पनि होइन । नेपाल फिजियोथेरापी एसोसिएसन र भौतिक चिकित्सकहरूले आ–आफ्नो ठाउँबाट सक्दो पहल गरेको तर सरकारी तहबाट जुन पहल हुनुपर्ने हो त्यो नभएको अवस्था छ । ‘यस विषयमा हामीले सरकारलाई निरन्तर ध्यानाकर्षण गर्ने र सहयोग माग्ने काम गरेका छौं तर बिडम्बना सुनुवाइ भएको छैन ।

महामारीको कारणले जागिर र व्यवसायमा असर परेको बेला कोभिड लाग्दा बिरामीलाई अझ खर्चको भार बढेको प्रष्ट देखिन्छ । उपचार गर्दा प्रत्यक्ष खर्च त छँदैछ, पोस्ट कोभिड समस्याहरूको उपचार कहाँ कसरी गर्ने भन्ने जानकारीको कमीले, उपचारमा ढिलाइ हुँदा जनतामा अप्रत्यक्ष खर्च झन् बढ्ने चिकित्सकहरूको भनाइ छ ।

अन्य कतिपय स्वास्थ्यकर्मीहरूलाई पनि कस्तो बिरामीलाई कुन समयमा भौतिक चिकित्सकहरूकोमा रिफर गर्ने भन्ने अन्योल रहेको कुरा भौतिक चिकित्सक क्षेत्रका विज्ञहरू बताउँछन् । डब्लूएचओले फिजियोथेरापीलाई जुन महत्व दिएको छ र विकसित मुलुकहरूले फिजियोथेरापी सेवालाई महत्व दिई प्री–कोभिड होस वा पोस्ट कोभिड सबै समयमा जनताको स्वास्थ्यमा असल परिणाममूलक फाइदा लिइराखेको बेला नेपालमा भने भएका विज्ञहरू र केन्द्रहरूलाई मात्र पनि परिचालन गर्न नसकिनु दुखद् पक्ष भएको चिकित्सकहरूको भनाइ छ ।