एक महिनापछि आजबाट विद्यालय खुल्दै

विश्वविद्यालय पनि खोल्ने तयारीमा

0
Shares

काठमाडौं ।

देशैभरिका शिक्षालयमा आज आइतबारबाट भौतिक उपस्थितिमा पठनपाठन हुने भएको छ । एक महिनादेखि बन्द विद्यालयमा १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई दैनिक र सोभन्दा मुनिका उमेर समूहका विद्यार्थीलाई आलोपालो गरी पठनपाठन सञ्चालन गर्न लागिएको हो ।

कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) को निर्णयअनुसार नै विश्वविद्यालय, विद्यालय, ट्युसन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलापहरू जनस्वास्थ्य र सुरक्षाका मापदण्ड पालना गर्दै आजबाट भौतिक रूपमै सञ्चालन हुन लागेको हो । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ७७ वटै शिक्षा विकास तथा समन्वय एकाईलाई सबै विद्यालयमा १२ देखि १७ वर्ष उमेर समूहकालाई आइतबारबाटै भौतिक उपस्थितिमै कक्षा सञ्चालन गर्न निर्देशन दिइसकेको छ ।

सीसीएमसीको माघ २३ गतेको बैठकले विद्यालय सञ्चालन गर्दा १२ वर्ष पूरा भएका विद्यार्थीका हकमा नियमित रूपमा तथा १२ वर्ष पूरा नभएका विद्यार्थीका हकमा आलोपालो दिनमा कक्षा सञ्चालन गर्ने व्यवस्थाका लागि गृह मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई सिफारिस गरेको थियो । सोही सिफारिसका आधारमा देशैभरिका विद्यालय सञ्चालन गर्ने व्यवस्था गर्न मन्त्रालयले केन्द्रलाई पत्राचार गरेको थियो ।

केन्द्रका महानिर्देशक चुडामणि पौडेलले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘१२ वर्षभन्दा तल्लो उमेरका बालबालिकालाई आलोपालो र सोभन्दा माथिकालाई नियमित कक्षा सञ्चालन गर्न निर्देशन दिएका छौं । साथै पूर्णरूपमा स्वास्थ्य मापदण्ड पालना गरेर मात्र कक्षा सञ्चालन गर्न निर्देशन दिएका छौं ।’

अभिभावक महासंघका अध्यक्ष शुप्रभात भण्डारीले आजबाट सबै शिक्षालय खुला भएपछि अब नियमितरूपमा शैक्षिक क्रियाकलाप हुने धारणा राख्दै भन्नुभयो–‘कोरोना संक्रममण कम भइरहेको अवस्थामा भौतिक रूपमा कक्षा सञ्चालन गर्नुको विकल्प छैन । अन्तिम परीक्षाको मुखैमा करिब एक महिना भए पनि भौतिक रूपमै कक्षा सञ्चालन गर्दा विद्यार्थीले पढ्ने अवसर मिल्ने उहाँको भनाइ थियो ।

सबै विद्यालयले चैत महिनाभित्र परीक्षा सम्पन्न गरी वैशाखबाट नयाँ शैक्षिक सत्र शुरू गर्नेछ । राष्ट्रिय परीक्षा बोर्डले वैशाख ९ देखि एसईई र जेठमा १२ कक्षाको परीक्षा गर्र्ने बताइसकेको छ । त्यसअघि भौतिक रूपमा कक्षा सञ्चालन गर्न आवश्यक भएकोले कक्षा सञ्चालन गर्न निर्देशन दिइएको केन्द्रका महानिर्देशक पौडेलले बताउनुभयो ।

प्याब्सनका सहअध्यक्ष डिके ढुंगानाले १२ देखि १७ वर्ष उमेर समूहका सबैले दोस्रो मात्रा खोप लगाइसकेपछि भौतिक रूपमै विद्यालय खोलिने जानकारी दिँदै भन्नुभयो–‘सबैका बाबुआमाले खोप लगाइसकेका छन्, विद्यालयका दाई दिदीले पनि खोप लगाइसकेको अवस्थामा सबै तहको कक्षा सञ्चालन गर्दा कुनै समस्या हुँदैन ।’ डेल्टाभन्दा कमजोर ओमिक्रोनको कारण खासै असर नपरेको तर्क राख्दै उहाँले भन्नुभयो–‘नेपालमा संक्रमितको दर घट्दै गएको अवस्थामा सरकारले भौतिक रूपमै कक्षा सञ्चालन गर्ने अनुमति दिनु उचित निर्णय हो ।’

उहाँका अनुसार स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी विद्यालयमै हेल्थ डेक्स राखेर आजबाट देशैभरका विद्यालय सञ्चालन गरिनेछ । हाल देशभर सामुदायिक र संस्थागत गरी करिब ३५ हजार विद्यालय छन् । उता त्रिभुवनलगायत सबै विश्वविद्यालयले पनि भौतिक रूपमै कक्षा सञ्चालन गर्ने तयारी गरेको छ । त्रिभुवन विश्वविद्यालयले सार्वजनिक सूचना जारी गरी सबै क्याम्पसमा भौतिक रूपमै पठनपाठन गर्न निर्देशन दिइसकेको छ ।

१२ वर्षमुनिका ३० लाखले खोप लगाउन बाँकी
शिक्षा तथा मानव स्रोत विकास केन्द्रको तथ्यांकअनुसार १२ वर्षभन्दा कम उमेर समूहका करिब ३० लाख विद्यार्थीलाई खोप लगाउन बाँकी रहेको छ । केन्द्रका महानिर्देशक चुडामणि पौडेलले अबको करिब दुई महिनाभित्र साना उमेर समूहका सबै विद्यार्थीलाई खोप लगाउने तयारी भइरहेको बताउनुभएको छ ।

१२ वर्षभन्दा कम उमेर समूहका सबै बालबालिकाले खोप नलगाएसम्म भौतिक उपस्थितिमा पूर्ण रूपमा विद्यालय खोल्न समस्या पर्ने जिकिर गर्दै उहाँले भन्नुभयो–‘त्यसैले सबै विद्यार्थीलाई खोप लगाइसकेपछि ढुक्क भएर विद्यालय खोल्न कुनै समस्या हुँदैन ।’अभिभावक महासंघका अध्यक्ष शुप्रभात भण्डारीले सरकारले बालबालिकालाई तत्काल खोप लगाउने व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।