दुर्गममा डाक्टर बस्दा बिरामीको भीड

0
Shares

मुगु ।

बिरामी पर्दा झारफुकको भर पर्ने मुगुको दुर्गम मुगमकार्मारोङ गाउँपालिकाको स्वास्थ्य संस्थामा नियमित डाक्टर बस्न थालेपछि बिरामीको भीड लाग्न थालेको छ । पहिले सिटामोलसमेत नपाइने सामुदायिक स्वास्थ्य संस्था रिउस बगरमा नियमित डाक्टर बस्न थालेका हुन् ।

छायाँ नेपाल नामक संस्थाको आर्थिक सहयोगमा निर्माण गरिएको समुदाय स्वास्थ्य भवन रिउसमा विभिन्न संघ–संस्था तथा स्थानीय सरकार मुगमकार्मारोङको पहलमा एक जना डाक्टरको दरबन्दी सिर्जना गरी नियमितरूपमा डाक्टर सेवा दिन थालिएको हो । मुगमकार्मारोङमा रहेका माग्री, मह, ताखा, खारी कार्ती, किम्री, दाउरा, रिउस, पुलु, मुगु, डोल्फुका स्थानीय पालिकाबाट सहज रूपमा स्थानीयले स्वास्थ्य सेवा पाउन थालेका छन् । डाक्टरसहित अन्य ७ जना स्वास्थ्यकर्मीको व्यवस्था गरिएको छ । ‘पालिकाभित्र स्वास्थ्य संस्था छन्, स्वास्थ्यकर्मीको पनि राज्यले व्यवस्था गरेको थियो । तर, नियमित स्वास्थ्यकर्मी नबस्ने, औषधि पनि नपाइने बिरामी हुँदा गमगढी बजार पुग्नुपर्ने, निजी मेडिकलमा चर्को मूल्यमा औषधि खरिद गर्नुपर्ने हुन्थो’, उपचार गर्न आएका माग्री गाउँका गाराटाँसी लामा भन्नुहुन्छ–अब आफ्नै गाउँपालिकामा नियमितरूपमा डाक्टर बसेर औषधि वितरण गरेकाले पहिलेको समस्या हटेको छ ।’

यस क्षेत्रका मानिसले सामान्य उपचारका लागि सल्लाह नपाएर निकै दुःख पाउने गरेका थिए । विकट हिमाली जिल्लामा आएर सेवा दिन पाउँदा निकै खुसी लागेको डाक्टर भविन्द्र कार्की बताउनुहुन्छ । ‘यस क्षेत्रमा आएको ३ महिना जति हुन लाग्यो, नियमित बिरामी सेवा लिन आइरहेका छन्’, उहाँले भन्नुभयो– ‘मुख्य समस्या भनेको रुघा–खोकी, ज्वरो आउने, ग्यास्टिक, दम, हाडजोर्नी, बाथरोगलगायतका बिरामी उपचारका लागि आउने गरेका छन् ।’

सबै बिरामी यहींबाट उपचार पाएर घर फर्कने गरेका छन् । यहाँ उपचार हुन नसक्ने बिरामीलाई गमगढी जिल्ला अस्पतालसम्म जानका लागि सल्लाह दिने गरिएको डा. कार्कीका भनाइ छ । औषधिका लागि गाउँपालिकामा माग गरिएको छ, केही औषधि आइसकेको छ भने केही आउन बाँकी रहेको उहाँ बताउनुहुन्छ । पालिकामा धेरैजसोे लामा बस्ती भएकाले भाषाको समस्या हुने गरेको डा. कार्की बताउनुहुन्छ ।

पछिल्लो समयमा छायाँ नेपाल र यूएमएन गैरसरकारी संस्थाले ल्याबको मेसिन र अन्य सामान उपलब्ध गराउँदा भैतिक पूर्वधारको अभाव रहेको देखिन्छ । पालिकामा आर्थिक बजेट कम भएको हुँदा संघ–संस्थालाई भैतिक पूर्वाधार निर्माणमा आर्थिक सहयोग गर्न आग्रह गरिएको मुगमकार्मारोङका अध्यक्ष छिरिङ क्याप्रन लामाले बताउनुभयो ।