गुन्द्रुक उपहार पठाउने झोर गाउँ

0
Shares

दोलखा ।

मिहिनेती किसानहरूको गाउँ हो झोर । काउली र आलु खेतीमा अब्बल रहेको दोलखा शैलुङ गाउँपालिका– ८ मा पर्ने यो गाउँका बासिन्दा पाहुनालाई काउलीको पातको गुन्द्रुक उपहार पठाउने गर्छन् ।

यो गाउँको प्रत्येक घरमा काउलीको पातको गुन्द्रुक बन्ने गरेको छ । स्थानीय किसान दिपेश श्रेष्ठले भन्नुभयो– ‘स्वादिष्ठ काउलीको पातको गुन्द्रुकको बिक्री वितरण शुरू भई नसकेको भएपनि घरमा खाने र काठमाडौं तथा पोखरातिर उपहारको रूपमा पठाउने गरिएको छ ।

झण्डै ६५ घरधुरी रहेको झोर गाउँमा प्रत्येक घरले काउलीको पातको गुन्द्रुक उपहारको रूपमा आफन्तलाई पठाउन र कहिले काहीँ घरमा आफैं खान भनेर ८/१० केजीसम्म बनाएर राख्ने गरेका छन् । गुन्द्रुकको व्यावसायिक उत्पादन भने शुरू भई नसकेको दिपेशले बताउनुभयो ।

झोर गाउँका किसानले वार्षिक एक करोडसम्मको काउली र आलु बिक्री वितरण गर्दै आएका छन् । आलु र काउली बिक्रीबाट एउटा परिवारले मासिक ७० हजारसम्म र वार्षिक ४/५ लाखसम्म आम्दानी गर्दै आएको स्थानीय किसानको भनाइ छ ।

‘काउली बिक्री गर्दा ठूला पातहरू छाँट्नु पर्ने भएकोले त्यसको उपयोगिताका लागि गुन्द्रुक बनाउने गरिएको दिपेशको भनाइ छ । काउलीको पातको गुन्द्रुक स्वादिलो हुने भएकोले आफन्तले रुचाउने गरेको दिपेश बताउँछन् । त्यसैले पनि झोर गाउँबाट काठमाडौं, पोखरा लगायतका ठाउँमा रहेका आफन्तलाई यो गुन्द्रुक उपहारको रूपमा पठाउने गरिएको हो’ – स्थानीय किसान दिपेशले भन्नुभयो ।

काउलीको गुन्द्रुक बिक्री गर्नुपर्दा केजीको १६ सय रूपियाँसम्म पर्ने स्थानीय किसानहरूको भनाइ छ । यसको माग राम्रो रहेकोले अब व्यावसायिक उत्पादन गर्नुपर्ने निष्कर्षमा आफूहरू पुगेको स्थानीय बताउँछन् ।

शैलुङ गाउँपालिकाका अध्यक्ष भरत दुलाल झोरका किसानहरूले गुन्द्रुक उत्पादनका लागि सहयोग गर्न गाउँपालिकालाई अहिलेसम्म आग्रह नगरेको उल्लेख गर्दै त्यस्तो माग आयो भने गाउँसभामा निर्णय गरेर पालिकाको तर्फबाट केही सहयोग गर्न सकिने बताउनुभयो ।