जनगणना २०७८ को नतिजा गलत नभएको विभागको दाबी

0
Shares

काठमाडौं ।

जनगणना नतिजा गलत नभएको केन्द्रीय तथ्याङ्क विभागले दाबी गरेको छ । संघीय संसद्को अर्थ समितिमा मंगलबार भएको छलफलमा सांसदहरूले राखेको जिज्ञासाको उत्तर दिँदै केन्द्रीय तथ्याङ्क विभागका पदाधिकारीले यस्तो दाबी गरेका हुन् ।

बाह्रौं जनगणना असहज परिस्थितिमा गर्नु परेको, स्रोत साधनले भ्याएसम्म काम गरिएको, वडा तहबाट राम्रो सहयोग प्राप्त भएको, चार जना गणकका लागि एक जना सुपरिवेक्षक चयन गरिएको, इमान्दार र लगनशील भई जनगणना गरिएको २०७८ को प्रारम्भिक नतिजा सही भएको केन्द्रीय तथ्याङ्क विभागका महानिर्देशक नेविलमान श्रेष्ठले बताउनुभयो ।

हाल तथ्याङ्कको माग बढेकाले प्रश्नावलीको भार अधिक रहेकाले विस्तृत विवरण आउन करिब एक वर्ष लाग्ने र त्यतिन्जेलसम्म प्रारम्भिक नतिजालाई आधिकारिक मानिने महानिर्देशक श्रेष्ठले बताउनुभयो ।

मनाङको जनसंख्या ६ हजार ५ सय ४१ नै रहेको ठोकुवा गर्दै अवलम्बन गरिएको गणना विधि एवं बसाइँ सराइका कारण मतदाता संख्याभन्दा भिन्न हुन गएको महानिर्देशक श्रेष्ठले जानकारी दिनुभयो । विभागले कुनै पनि जिल्लाको पुनः जनगणना नगर्ने पनि उहाँले जानकारी दिनुभयो ।

जनगणनाबाट सत्यको नजिक पुग्न सकिने तर शतप्रतिशत पत्ता लगाउन नसकिने, छुटपुट वा गलत भए नभएको पहिचान गर्न पोस्ट इन्युमिरेसन सेन्सस गरिने उहाँले बताउनुभयो ।गणक तथा निरीक्षकले इमान्दारीपूर्वक काम नगर्दा, उत्तरदाता रिसाई सही उत्तर नदिँदा, उत्तरदाता उपलब्ध नहुँदा, शतप्रतिशत सत्यता निकाल्न चुनौतीपूर्ण हुने उहाँको धारणा थियो ।

पोस्ट इन्युमिरेसन सेन्ससबाट अमेरिकामा १ प्रतिशत र भारतमा ३ प्रतिशतसम्म आँकडा अन्डर ग्राउन्ड (आँकडा फरक) हुने गरेको बताउँदै नेपालमा २०४८ को जनगणनामा ११ प्रतिशत, २०५८ को जनगणनामा ५ प्रतिशत र २०६८ को जनगणनामा दशमलव ५ प्रतिशत आँकडा अन्डरग्राउन्ड भएको जानकारी गराउनुभयो ।

गणकबाट बदामासी हुुनु, सर्वसाधरणले उत्तर दिन नचाहनु आदि कारण अन्डर ग्राउन्ड हुनसक्ने उहाँले दाबी गर्नुभयो । कतिपय देशले पोस्ट इन्युमिरेसन सेन्ससबाट प्राप्त आँकडा थप्ने र कतिपय देशले नथप्ने गरेकोमा नेपालले अनुपात लगाएर पत्ता लगाइने तर सरकारले निर्देशन नदिएसम्म थप नगरिने बताउनुभयो ।

महानिर्देशक श्रेष्ठले २०६८ सालमा पछिल्ला १० वर्षका लागि गरिएको प्रक्षेपण ३ करोडमा २०७८ सालमा २ करोड ९२ लाख पुगेको जनाउँदै प्रक्षेपणभन्दा २ दशमलव ५ प्रतिशतक कम रहेको बताउनुभयो ।

१५ देखि ४९ वर्षको उमेर समूहलाई प्रजनन उपयुक्त उमेर मानिएको बताउँदै यो दर २:१ अर्थात् १० जना महिला तथा पुरुषले २१ वटा बच्चाबच्ची पैदा गर्ने गरेको, हाल शिक्षा, स्वास्थ्य र पौष्टिक आहारमा आयामिक सुधार आई र शिशु मृत्युदर घटेको उहाँको बुझाइ थियो ।

२०६८ सालको जनगणनामा १ सय महिला बराबर ९४ पुरुष रहने गरेकोमा २०७८ सालको जनगणनामा १ सय महिला बराबर ९६ पुरुष रहेको तर १ सय पुरुषका लागि १ सय महिला नै उपयुक्त हुनुपर्ने धारणा उहाँको थियो ।

अमेरिकामा जनगणनाका लागि १० वटा प्रश्न मात्र राखिने बताउँदै प्रश्नवलीको संख्या कम भएमा ठीक नतिजा आउन सक्ने उहाँको बुझाइ थियो । नेपालमा प्रश्नावलीको भार धेरै राखिने गरेकाले सही आँकडासहित समयमै अन्तिम नतिजा निकाल्न चुनौतीपूर्ण रहेको उहाँले बताउनुभयो ।

२०६८ सालको जनगणनामा जनसंख्या वृद्धिदर १ दशमलव ३५ प्रतिशत रहेकोमा २०७८ सालमा गरिएको जनगणनाको प्रारम्भिक नतिजाले शून्य दशमलव ९३ प्रतिशत देखाएको छ । हाल अमेरिकाको जनसंख्या वृद्धि दर २ प्रतिशत र विश्वको जनसंख्या वृद्धिदर शून्य दशमलव ९० प्रतिशत रहेको सन्दर्भमा नेपालको जनसंख्या वृद्धिदर अनुपयुक्त नभएको केन्द्रीय तथ्याङ्क विभागको दाबी छ ।

केन्द्रीय तथ्याङ्क विभागका अनुसार हाल दक्षिण एसियामा पाकिस्तानबाहेक सबैको जनसंख्या वृद्धिदर घटेको छ । जहाँ नेपालमा प्रतिदिन औसत ७ सय १० जना, प्रतिवर्ष औसत २ लाख ६२ हजार जना र पछिल्लो १० वर्षमा २७ लाख जनसंख्या वृद्धि भएको जनगणना २०७८ को प्रारम्भिक आँकडाले देखाएको छ ।

जनसंख्या वितरणको हिस्सा हिमाली क्षेत्रमा २०६८ सालमा ७ प्रतिशत रहेकोमा २०७८ मा ६ प्रतिशत, पहाडी क्षेत्रमा २०६८ सालमा ४३ प्रतिशत रहेकोमा २०७८ मा ४० प्रतिशत र तराईमा २०६८ सालमा ५० प्रतिशत रहेकोमा २०७८ मा ५४ प्रतिशत रहेको छ विभागको प्रारम्भिक आँकडाले देखाएको छ ।