समयमै निर्माण सम्पन्न नगर्नेलाई ‘रातोपत्र’

0
Shares

हेटौंडा ।

वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले समयमै निर्माण सम्पन्न नगर्नेलाई ‘रातोपत्र’ काट्ने चेतावनी दिनुभएको छ । फिल्डमा पुगेर प्रदेशसभा सचिवालयको भवन निर्माण अनुगमन गरेपछि उहाँले यस्तो चेतावनी दिनुभएको हो ।

‘निर्माण कम्पनीलाई समयसीमाभित्र निर्माण कार्य सम्पन्न गर्न अनुरोध गर्दछु । समयमा काम सम्पन्न नभए रातोपत्र काट्नेछु ।’ –पाण्डेले भन्नुभयो । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव अशोककुमार शाह, मन्त्रालयमातहत शहरी विकास तथा भवन कार्यालय हेटौंडाका इन्जिनियर, निर्माण कम्पनीका प्रतिनिधि र सरोकारवाला निकायका प्रतिनिधिसहित उहाँ स्थलगत अनुगमनमा निस्कनुभएको थियो ।

‘भवनबारे जनताले जानकारी पाउनुपर्छ । भवन निर्माणमा सबै जनताको लगानी रहेको छ । धेरै समयदेखि भवन अलपत्र अवस्थामा देखेको छु । यसबारे मैले प्रदेशसभाका सचिवमार्फत जानकारी लिएर भौतिक पूर्वाधार विकास मन्त्रालयको सचिवलाई यसको काम समयमा सक्न निर्देशन दिइसकेको छु’, मुख्यमन्त्री पाण्डे भननुहुन्छ– ‘हामी सबैको लगानी परिसकेको छ । त्यसैले यसलाई चाँडै सम्पन्न गरौं । निर्माण कम्पनीले पनि काम सकेपछि मात्र भुक्तानी पाउने भएकाले त्यसतर्फ केन्द्रित हुनुपर्छ ।’

ठूल्ठूला भवन निर्माणको कामसमेत एक/डेढ वर्षमा सम्पन्न हुने गरेकोमा ट्रस्टको भवनलाई १८ महिनाको म्याद दिनु गलत रहेको भन्दै उहाँले आगामी दिनमा त्यसलाई सुधार गर्दै भौतिक पूर्वाधार निर्माणको काम गर्दा क्यालेन्डर निर्माण गरेर गर्नुपर्ने र तत्काल भौतिक पूर्वाधार निर्माणको क्यालेन्डर बनाउन उहाँले कर्मचारीलाई निर्देशन दिनुभएको थियो । प्रदेशसभा स्थापनाको ४ वर्ष पूरा भइसक्दा समेत प्रदेशसभा सचिवालयको भवन छैन । तत्कालीन समय क्षेत्रीय शिक्षा निर्देशनालय रहेको भवनबाट प्रदेशसभा सचिवालयका काम सञ्चालन भइरहेका छन् । सोही भवनबाट काम सञ्चालन गर्दै आएको प्रदेशसभा सचिवालय निकै साँघुरो र अव्यवस्थित छ ।

प्रदेश सरकारले हाल बैठक बस्दै आएको भवनलाई प्रशासनिक काममा प्रयोग गर्ने र संसद् बैठक बस्न ट्रस्ट भवन निर्माण गर्ने योजनाअनुसार २०७७ मा प्रदेशसभा हल निर्माण थालिएको हो । २ सय ५० जना अट्ने सभाहल ईपीएस स्यान्डबिच प्रविधिबाट प्यानल बोर्डको ट्रस्टको निर्माण गर्ने गरी भौतिक पूर्वाधार विकास मन्त्रालयमातहत शहरी विकास तथा भवन कार्यालय हेटौंडाले २०७७ कात्तिकमा ७ करोड ४१ लाख लागत अनुमानसहित ठेक्का आह्वान गरेको थियो ।

कार्यालयले ४ करोड ९४ लाख रुपियाँमा निर्माण गर्न अर्घाखाँची–सगुन–पारामाउन्ट जेभीलाई १८ महिनाको म्याद दिएर ठेक्का सम्झौता गरेको थियो । भवनको निर्माणकार्य आगामी वैशाख २१ गतेभित्र सम्पन्न गर्नुपर्ने हुन्छ । तर, हालसम्म सभाहलको २५ प्रतिशतमात्र काम भएको छ ।