सार्वजनिक शौचालय : ठेकेदार मालामाल, उपमहानगरपालिका निरीह

0
Shares

बाँके ।

नेपालगन्ज उपमहानगरपालिकामा २१ वटा सार्वजनिक शौचालय छन् । यी शौचालय सञ्चालनका लागि क्लिनर्स कन्सर्न सर्भिसलाई ठेक्का दिइएको छ । ठेकेदार कम्पनीले अर्को व्यक्तिलाई ठेक्का दिएर शौचालयबाट पैसा कमाइरहेको छ । भीडभाड नहुने अर्थात थोरै पैसा कमाइ हुने ठाउँका शौचालय बेवारिसे अवस्थामा रहेका छन् । बेवारिसे बनेका शौचालयको सरसफाईसमेत गराउन उपमहानगरपालिकाले सकेको छैन ।

लाखौं खर्च गरेर विदेशीले बनाइदिएको धम्बोझीचोकको अत्याधुनिक शौचालय बेवारिसे बनेको छ । धेरै कमाइ नहुने भएपछि ठेकेदारले यो शौचालयलाई तारबार गरेर राखेको छ । शौचालयको सरसफाई पनि गरेको देखिँदैन ।

बजारको राम्रो कमाई हुने ठाउँका शौचालयमा ‘पेटी ठेकेदार’मार्फत ठेकेदारले राम्रो कमाइ गरिरहेको छ । जिल्ला अदालत अगाडि, वागेश्वरी मन्दिरभित्र, जमुनाहा नाका, जयसपुर, राँझा, हनुमानगढी मन्दिर, तरकारी मण्डी, महेन्द्र पार्क अगाडि, पिप्रहवाका शौचालयबाट राम्रो कमाइ भइरहेको छ । अदालतको शौचालयलाई मासिक ३० हजार, वागेश्वरी मन्दिर, जमुनाहा, जयसपुर, राँझाको शौचालयमा मासिक २०/२० हजार, हनुमान गढी मन्दिरमा मासिक दश हजार, पिप्रहवामा ६ हजार, तरकारी मण्डी र महेन्द्रपार्कमा मासिक तीन/तीन हजार लिने गरिएको छ । २१ मध्ये १५ वटाजति शौचालय पेटी ठेकेदारले चलाइरहेका छन् । यी शौचालय हेर्नेलाई सुविधा दिनका लागि नजिकै घुम्ती या सटर बनाइएको छ ।

आधा दर्जन शौचालय बेवारिसे अवस्थामा रहेका छन् । मासु मण्डीको शौचालयमा व्यापारीले खसी बाँधेको पाइन्छ । वडा नं. १९, २१, ८, उपमहानगरपालिका परिसरमै पश्चिमपट्टि रहेको सार्वजनिक शौचालय सञ्चालनमा छैनन् ।

प्रतिवर्ष ८ लाख ८० हजार रुपियाँमा शौचालय सञ्चालनको ठेक्का दिइएको छ । मासिक ७३ हजार रुपियाँ पर्न आउँछ । उपमहानगरपालिकाले २१ वटा शौचालयका साथै चार वटा घुम्ती शौचालय, एउटा ट्याक्टर र चालक ठेकेदार कम्पनीलाई दिएको छ । ट्याक्टरबाट दैनिक कम्तीमा एक हजार कमाइ हुन्छ । चालकलाई मासिक ३० हजार रुपियाँ उपमहानगरपालिकाले दिएको छ । केही चलेको ठाउँको शौचालय सञ्चालनबाट उठेको रकम, ट्याक्टर र चालकको पैसा जोड्दा ठेकेदार कम्पनी मालामाल भएको देखिन्छ । उपमहानगरपालिकाले बेवारिसे अवस्थामा छोडिएका शौचालयको सरसफाइ र सञ्चालनका लागि दबाबसमेत दिने गरेको छैन । उपमहानगरपालिकाले एउटा समिति बनाएर आफैं सञ्चालन गर्दा नै सार्वजनिक शौचालय र ट्याक्टरबाट राम्रो आम्दानी गर्न सक्ने देखिन्छ । तर, उपमहानगरपालिका यो झन्झट व्यहोर्नेवाला छैन ।

नेपालगन्ज उपमहानगरपालिकाका वातावरण इन्जिनियर प्रकाश डिसीले केही ठाउँबाहेक धेरै ठाउँमा सार्वजनिक शौचालय सञ्चालनमा रहेको बताउनुभयो । ‘केही ठाउँमा जनताको माग अनुसार नै सार्वजनिक शौचालय बनाइयो । तर, पछि प्रयोगमा आएको छैन’, इन्जिनियर डीसीले भन्नुभयो– ‘धम्बोझीको शौचालय सञ्चालनमा ल्याउन निर्देशन दिइसकेका छौं ।’

थन्किए घुम्ती शौचालय
नेपालगन्ज उपमहानगरपालिकाले आधा करोड बढी खर्च गरेर चार वटा घुम्ती शौचालय किनेर ल्यायो । यी घुम्ती शौचालय पनि ठेकेदारको जिम्मा लगायो । सुरूआती ६/७ महिना घुम्ती शौचालय राम्ररी सञ्चालनमा आयो ।

अहिले यी घुम्ती शौचालय थन्किएका छन् । उपमहानगरपालिकाले नगरका २१ वटा शौचालयसँगै चारवटा घुम्ती शौचालय पनि त्यही ठेकेदारलाई सञ्चालनको जिम्मा दिएपछि अहिले ती घुम्ती शौचालय ल्यान्डफिल साइटमा थन्किएका छन् । घुम्ती शौचालय चुहिने भइसकेका छन् ।

उपमहानगरपालिकाले मुख्य बजारमा घुम्ती शौचालय राख्ने र किनमेल गर्न आउनेलाई शौचालयको सुविधा दिने रणनीति बनाएको थियो । केही समय यो सुविधा दिइयो पनि । विस्तारै व्यापारीले पसल अगाडि भएको, चोकमा राख्दा ट्राफिक समस्या भएको बताउन थालियो । अन्ततः घुम्ती शौचालय थुन्किन पुगे ।

नेपालगन्ज उपमहानगरपालिकाले तामझामका साथ घुम्ती शौचालय सञ्चालन गरेको थियो । अहिले थन्किँदा मतलव राखेको पाइँदैन । ‘माल पाएर चाल नपाएको’ अवस्था भएको छ । ठेकेदार कम्पनीले ट्याक्टर सञ्चालन र चलेका केही ठाउँका शौचालयबाटै मनग्गे कमाइरहेकाले घुम्ती शौचालयलाई थन्क्याइएको छ । नेपालगन्ज उपमहानगरपालिका वातावरण इन्जिनियर प्रकाश डीसीले जहाँ राखे पनि समस्या भएपछि अहिले घुम्ती शौचालय प्रयोगमा नआएको बताउनुभयो ।