मधेसमा दुईवटा संसदीय समितिका सभापति आज चयन हुँदै

0
Shares

जनकपुरधाम ।

मधेस प्रदेशसभामा रिक्त दुईवटा संसदीय समितिका सभापति आज मंगलबार चयन हुँदैछन् । सार्वजनिक लेखा समिति र कृषि तथा भूमि व्यवस्था समितिले आज सभापति पाउन लागेको हो । सार्वजनिक लेखामा सभापतिमा सभापतिका लागि कांग्रेसबाट नरेशकुमार यादव र प्रतिपक्षी लोसपाबाट प्रल्हाद गिरिले उम्मेदवारी दर्ता गराएका छन् ।

कृषि समितिमा सत्तारुढ दलबाट नेकपा एकीकृत समाजवादीका मदनसेन प्रसाद श्रीवास्तव र प्रतिपक्ष नेकपा एमालेकी जगतारण देवीले मनोनयन पत्र दर्ता गराएका छन् । एकल उम्मेदवारी परेपछि नेकपा माओवादी केन्द्रका जगत यादव भने प्राकृतिक स्रोत तथा वातावरण समितिमा निर्विरोध निर्वाचित भइसकेका छन् ।

सार्वजनिक लेखा समितिमा कांग्रेस, कृषि समितिमा एस र प्राकृतिक स्रोतमा माओवादी केन्द्रले पाउनेगरी सत्ता गठबन्धनमा भागवण्डा भएअनुसार उम्मेदवारी परेको हो ।समाजवादीका मनिष सुमनले अर्थ तथा योजना समिति, अब्दुल कलाम अजादले विकास समिति र अशोक यादवले प्रदेश मामिला समितिको सभापति यसअघि नै पाइसकेका छन् ।

लेखा समिति सत्तारुढकै पोल्टामा, प्रतिपक्षीको विरोध
संसदीय व्यवस्थामा संसदको सार्वजनिक लेखा समितिको नेतृत्व प्रमुख प्रतिपक्षीले लिने प्रचलन छ । प्रदेश सभामा पनि सोही अभ्यास भइरहेको छ ।

तर, प्रदेश २ मा सत्तारुढ दलले नै सार्वजनिक लेखा समितिको सभापति पाउने भएपछि प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टीले विरोध गरेको छ । संसदीय व्यवस्थामा सार्वजनिक लेखा समितिको नेतृत्व प्रमुख प्रतिपक्षीले पाउनुपर्ने मान्यता रहेकोले उक्त समितिको नेतृत्व पाउनुपर्ने लोसपाका प्रमुख सचेतक परमेशर साहले बताए ।

न्युज कारखाना