४३ वर्षपछिको परेको हिमपातले छिम्केश्वरीको प्रचारप्रसार



तनहुँ ।

गण्डकी प्रदेशको प्रवेश नाका तनहुँको आँबुखैरेनी गाउँपालिका–५ स्थित छिम्केश्वरीमा हिमपात भएपछि पर्यटकको चहलपहल भएको छ । ४३ वर्षपछि छिम्केश्वरीमा हिउँ परेपछि आन्तरिक पर्यटक हिउँ खेल्न पुगेका छन् ।

महाभारत पर्वत शृङ्खलाअन्तर्गत जिल्लाको सबैभन्दा अग्लो स्थानमा रहेको यस ठाउँमा शुक्रबार हिमपात भएपछि हिउँ खेल्न आन्तरिक पर्यटक छिम्केश्वरी पुगेका हुन् । हिमपातसँगै छिम्केश्वरीमा शुक्रबार बिहानैदेखि आन्तरिक पर्यटकको चहलपहल बढेको वडाध्यक्ष पञ्चबहादुर गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार शुक्रबार मात्रै १ सयभन्दा बढी पर्यटक छिम्केश्वरी पुगेका थिए । शनिबार पनि हिउँ पग्लिन बाँकी रहेकाले बिहानैदेखि पर्यटक छिम्केश्वरी पुगेको उहाँले जनाउनुभयो ।

‘छिम्केश्वरी मन्दिर र बूढीदेवीमाई मन्दिर आसपास पनि हिउँ बाँकी छ, बिहानैदेखि आन्तरिक पर्यटक छिम्केश्वरी आइरहनुभएको छ, चार दशकपछि परेको हिमपातले छिम्केश्वरीको प्रचारप्रसारमा टेवा पुगेको छ ।’ –वडाध्यक्ष गुरुङले भन्नुभयो । उहाँका अनुसार समुन्द्र सतहबाट २ हजार १ सय ३४ मिटर उचाइमा अवस्थित छिम्केश्वरीमा यसअघि २०३५ सालमा हिमपात भएको थियो । त्यसपछि यहाँ हिउँ परेको थिएन । छिम्केश्वरीमा ४३ वर्षपछि पहिलोपटक हिमपात भएको उहाँले बताउनुभयो । हिमपात हुने छिम्केश्वरी तनहुँकै एकमात्र स्थान हो ।

गोरखा मनकामनाकी दिदीका रूपमा पुजिँदै आएकी छिम्केश्वरीमाई मन्दिरमा पूजाआजा गरेपछि मनले चिताएको इच्छा पूरा हुने धार्मिक विश्वास रहेको छ । यही विश्वासका साथ विशेष रूपमा नयाँ वर्ष र फागुपूर्णिमाको दिन छिम्केश्वरीमा भक्तजनको भीड लाग्ने गरेको छ ।

सात देवीमध्ये जेठी बूढीदेवीमाई र माइली छिम्केश्वरीमाई छिम्कालेकमै अवस्थित छन् भने साइली गोरखा कालीमाई, काइली मनकामनामाई, अन्तरी इच्छाकामनामाई, जन्तरी अन्नपूर्णामाई र कान्छी अकलामाईलाई सोही स्थलबाट दृश्यावलोकनसहित दर्शन गर्न सकिन्छ ।

छिम्केश्वरीबाट माछापुच्छ्रे, धौलागिरि, लमजुङ, अन्नपूर्ण, मनास्लुलगायतका हिमाल आँखैअगाडि हेर्न सकिन्छ । पृथ्वी राजमार्गस्थित आँबुखैरेनीबाट लाब्दीसम्म १५ किलोमिटर कच्ची सडकमा जिप यात्रा र त्यसपछि पदयात्रामार्फत छिम्केश्वरी पुग्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्