काठमाडौँ जिल्ला लिग विजेता एबीसीका खेलाडीहरुलाई सम्मान


न्युज अफ नेपाल, काठमाडौं ।

बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री बसन्त मानन्धरले काठमाडौं जिल्ला लिगका विजेता खेलाडीलाई सम्मान गरेका छन्। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रदेश मन्त्री मानन्धरले विजेता अनुशाशित बोइज क्लबका खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकहरुलाई सम्मान तथा प्रशंसा पत्र सहित सम्मान गरेका हुन्।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि मानन्धरले खेलाडीहरुका लागि खेलकूदको विकासको लागि आवश्यक सामग्रीहरुको खरिदका लागि प्रदेश सरकार सहयोग गर्न तयार रहेको बताए। खेलाडीहरु राष्ट्रका गहन भएको भन्दै उनीहरुको क्षमता र हौसलाका लागि बागमती प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे।

एबीसी क्लबका अध्यक्ष मीनबहादुर मानन्धरको सभापतित्वमा भएको कार्यक्रमको विशेष अतिथिमा काठमाडौँ जिल्ला फुटबल संघका अध्यक्ष विराट जङ्ग शाही, अतिथिहरुमा नारायण गमाल, गौतम प्रजापति, कृष्ण लाल मानन्धर, केदार गहतराज, नवीन महर्जन, हरी डंगोल लगाएत क्लवमा आबद्ध खेलाडीहरू, क्लबका सदस्यहरूको सहभागिता रहेको थियो।

काठमाडौं जिल्ला फुटबल संघले २०७८ पौष २९ बाट सुरु गरेको प्रतियोगिता माघ १० सानो गौचरणमा सम्पन्न भएको थियो। प्रतियोगितामा काठमाडौं बालाजुस्थित एबीसी क्लब प्रथम भएको थियो। एबीसीले हालसम्म ११ वटा उपाधिहरु जितेको छ।