देशैभर वर्षा र हिमपात, जनजीवन प्रभावित

0
Shares

बैतडी/ताप्लेजुङ/काभ्रे/डोटी/मुगु/बाजुरा/दोलखा ।

देशैभर बुधबारदेखि परेको वर्षा र हिमपातले जनजीवन प्रभावित भएको छ । तराईमा वर्षासँगै हावाहुरी चलेको, पहाडी भेगमा वर्षा तथा उच्च पहाडी क्षेत्रमा बाक्लो हिमपात हुँदा जनजीवन प्रभावित भएको हो ।

देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव अझै रहेको मौसम पूर्वानुमान शाखाले जनाएको छ । आज आइतबार पनि देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ आँकलन गरिएको छ ।

यात्रामा ननिस्कन आग्रह
लगातारको वर्षा र हिमपातले जनजीवन प्रभावित भएपछि जिल्ला प्रशासन कार्यालय बैतडीले सावधानी अपनाउन आग्रह गरेको छ । हिमपात र वर्षाले यात्रा गर्दा समस्या हुन सक्ने भएकाले यात्रामा ननिस्कन प्रशासनले आग्रह गरेको हो ।

‘यहाँका अधिकांश क्षेत्रमा हिमपात भएको छ । अत्यधिक चिसो बढेकाले सकेसम्म बाहिर ननिस्कन आग्रह गरिएको हो’, जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले भन्नुभयो– ‘हिमपातका कारण यातायातसमेत अवरुद्ध भएकाले यस्तो अवस्थामा यात्रामा ननिस्कन आग्रह गरिएको हो ।’ चिसो बढिरहेकाले वृद्धवृद्धा तथा बालबालिका बढी समस्या हुन सक्ने भन्दै न्यानो लुगाका साथै तातो झोलिलो खाने कुरामा खानसमेत प्रशासनले अनुरोध गरेको छ ।

यसैबीच हिमपातका कारण यहाँको जनजीवन पनि प्रभावित भएको छ । हिमपातले चिसो बढेकाले जनजीवन कष्ठकर बनेको हो । हिमपातले चिसो बढेकाले जनजीवन कष्ठकर बनेको दशरथचन्द नगरपालिका–१ मुस्याचौरका महेश भट्टले जानकारी दिनुभयो । ‘वर्षा र हिमपातले अत्यधिक चिसो बढाएको छ । बाहिर निस्कनै मुस्किल भएको छ ।’ –उहाँले भन्नुभयो ।

वर्षासँगै हिमपात भएपछि किसान भने खुसी भएका छन् । हिमपात र वर्षाले बालीनाली सप्रिने भन्दै किसान खुसी भएका हुन् । यहाँ तेस्रोपटक हिमपात भएको हो । यसअघि माघ दोस्रो हप्ता र गत पुसमा पनि हिमपात भएको थियो ।

सातायता ताप्लेजुङले देखेन घाम
निरन्तर हिमपात भइरहने र मौसम नखुल्ने अर्थात् घाम नलाग्नाले ताप्लेजुङको जनजीवन पनि कष्टकर बन्दै गएको छ । यसरी हिमपातको क्रम अहिले पनि जारी रहेको छ ।

स्थानीयका अनुसार उच्च डाँडाहरुमा भारी हिमपात भइरहेको छ । ‘हिमाली बस्तीहरु फक्ताङ्लुङ गाउँपालिका–७ ओलाङ्चुङगोला, याङ्मा, फक्ताङ्लुङकै वडा नं. ६ लेलेपको घुन्सा, फले, ग्याब्लालगायतमा हिमपात भइरहेको छ’, घुन्साका स्थानीय कासाङ शेर्पा बताउनुहुन्छ– ‘लामो समयदेखि हिमपात जारी रहँदा जनजीवन कष्टकर बनेको छ ।’ गत पुस अन्तिम साता घुन्सा लगायत हिमाली बस्ती तथा उच्च हिमाली क्षेत्रमा बाक्लो हिउँ परेको र त्यस बेला परेको हिउँ नै अहिलेसम्म पग्लिन नपाएको र थप हिमपात हुँदा दैनिकीमा समस्या परेको उहाँको कथन छ ।

यता, ३ हजार ७ सय ९४ मिटर उचाइ भएको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा पनि बाक्लो हिमपात भएको फेदी बजारका स्थानीय राजेन्द्र महतले जानकारी दिनुभयो । महतका अनुसार पाथीभरा धाम, फेदीबजार र तल्लो फेदी काफ्लेपाटी क्षेत्रसम्म हिमपात भएको छ ।

जिल्लाको हिमाली क्षेत्रमा हिमपातको क्रम जारी रहेसँगै धेरै दिनदेखि मौसम धुम्मिँदा चिसोले जनजीवन प्रभावित बनेको छ । चिसोले बालबालिका, वृद्धवृद्धा र पशुचौपायामा बढी प्रभाव परेको छ । चिसोकै कारण धेरै नागरिकलाई रुघाखोकीले सताउन थालेको पाइएको छ ।

अत्यावश्यक सेवा अवरुद्ध
बेथान्चोक गाउँपालिकाका अधिकांश वडामा अविरल परेको हिमपातका कारण जनजीवन कष्टकर हुन थालेको छ । हिमपातका कारण बिजुली, खानेपानीलगायतका अत्यावश्यक सेवाहरु रोकिएका छन् ।

जिल्लाको अग्लो स्थान बेथान्चोक मन्दिरमा हरेक वर्ष दुई/तीनपटक हिउँ पर्ने गरेको स्थानीय रामप्रसाद तिमल्सिनाले बताउनुभयो । ‘धेरै वर्षपछि बस्तीमा परेको हिउँ अडिएको छ, पहिले परेको धेरै दिन टिक्दैनथ्यो’, उहाँले भन्नुभयो– ‘शुक्रबार परेको हिमपात रमाइलो भए पनि शनिबार बिहानैदेखि परेको हिमपातका कारण जनजीवन कष्टकर बनेको छ ।’ स्थानीय होमस्टे व्यवसायी कमल नेपालले हिमपातका कारण सञ्चार सेवासमेत अवरुद्ध हुन पुगेको बताउनुभयो । ‘हिपातका कारण विजुली, पानी मात्रै नभई सर्वसाधारणको खेतीपातीमा समेत असर पुर्याएको छ’, उहाँले भन्नुभयो–‘बेथान्चोकमा परेको हिउँ खेल्न आउनेहरुको संख्या पनि थपिन थालेको छ ।’

हिमपातका कारण ग्रामीण सडक अवरुद्ध भएको छ भने मुख्य सडकहरुमा हिमपातका कारण सडक अवरुद्ध हुन नदिन गाउँपालिकाले आवश्यक तयारी गरेको छ । हिमपातका कारण ज्येष्ठ नागरिक, दीर्घरोगी र बालबालिकालाई समस्या परेको छ ।

राजमार्ग नखुल्दा यात्रुलाई सास्ती
हिमपातका कारण अवरुद्ध भएका भीमदत्त राजमार्ग तथा पहलमानसिंह स्वाँर राजमार्ग सुचारु नहुँदा यात्रुले सास्ती व्यहोर्दै आएका छन् । सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जोड्ने राजमार्गको यातायात सेवा दुई दिनदेखि ठप्प भएको हो ।

उता डोटीको सिलगढीदेखि अछामको साँफे बगर जोड्ने पहलमानसिंह स्वाँर राजमार्गको चौखुट्टेमा परेको हिउँ पन्छाए पनि राजमार्गमा ठूलो ढुङ्गा खस्दा राजमार्ग सुचारु हुन नसकेको जिल्ला प्रहरी कार्यालयका सहसूचना अधिकारी तथा प्रहरी निरीक्षक रवीन्द्र चन्दले जानकारी दिनुभयो । त्यस्तै, भीमदत्त राजमार्गको साहुँखर्क, हगुल्टे, गैरा, घण्टेश्वरलगायतका ठाउँमा बाक्लो हिमपात भएकाले सुचारु गराउन समस्या भएको प्रहरी चौकी गैराले जनाएको छ । उक्त राजमार्ग सुचारु नहुँदा अहिले सयौंको संख्यामा सवारीसाधन तथा यात्रुहरु अल्पत्रमा परेका छन् ।

राजमार्ग सुचारुका लागि सडक विभागको डोजर, सेना, प्रहरी तथा स्थानीयले प्रयास गरी रहे पनि हिउँ पन्छाउन नसकिएको सडक डिभिजन कार्यालय दिपायल कुल्पातेले जनाएको छ । उक्त राजमार्गमा अहिले पनि हिउँ परिरहेको राजमार्गमा रोकिएका डोटी उद्योग वाणिज्य संघका महासचिब दीपकबहादुर खड्काले बताउनुभयो ।

कर्णाली सेताम्य
कर्णालीका हिमाली जिल्ला जुम्ला, हुम्ला, मुगु, डोल्पा, कालिकोटलगायत उच्च हिमाली जिल्लामा बाक्लो हिमपात भएकाले कर्णालीलाई हिउँले छपक्कै ढाकेको छ ।जुम्ला र मुगुको रारा र ताल्चमा पनि बुधबारबाट हिमपात भएको छ । विगत वर्षभन्दा यो वर्ष ढिलै भए पनि भारी मात्रामा हिमपात भएको छ । जुम्लाको सबै भेगमा हिमपात भएको स्थानीयले बताएका छन् । मुगु, डोल्पा, हुम्लाको सबै भाग र कालिकोटको माथिल्लो क्षेत्रमा पनि हिमपात भएको छ ।

हिमपातपछि मुगु जिल्लाको एकमात्र ताल्चा विमानस्थल र नाग्म गमगढी सडक पनि अवरुद्ध भएको छ । पशु चौपायालाई समेत चरनका लािग समस्या भएको छ । चिसोका कारण सर्वसाधारणमा ज्वरो आउने, पखाला चल्ने, रागन लाग्नेलगायतका समस्या देखिन थालेको वयोवृद्व गोरे शाही बताउनुहन्छ । चिसोका कारण यहाँको जनजीवन कष्टकर बने पनि बाली सप्रिने आशामा किसान भने हर्षित भएका छन् । मुगुको मुगमकार्मारोङ गाउँपालिकामा रहेका मुगु, डोल्फु, किमरी, मह, दाउरा, सेरोक बस्ती, सोरु गाउँपालिकाको सोरुकोट, धैन, कालै, खनाया, रुमलगायतका बस्तीहरु सेताम्मे भएका छन् ।

त्यस्तै, खत्याड गाउँपालिकाको खमाले, सेरी, श्रीकोट, लुमेरा तथा छायाँनाथ रारा नगरपालिकाको बाम, थार्प, पिना ताल्चा, तुम, रोवा, सोवालगायतका बस्तीहरुमा ३ फिटसम्म हिउँ परेको छ । गत वर्षको तुलनामा यो वर्ष चाँडो हिमपात भएको सोरू गाउँपालिका–८ का रामबहादुर शाहीको भनाइ छ । त्यसै गरी, समयमै पानीसँगै हिउँ परेकाले जौ, गहुँ, उवालगायतका हिउँदेबाली सप्रिने र च्याउलगायत जडीबुटी पनि राम्रोसँग सर्पिने भन्दै छायाँनाथ रारा नगरपालिका–१ छत्याडकी बस्ने धनबहादुर मल्लले खुसी व्यक्त गर्नुभयो ।

अत्यधिक चिसो बढेको कारण यहाँको सामुदायिक र निजी विद्यालयहरु बन्द गरिएका छन् । साथै चिसोका कारण सरकारी कार्यालयहरुमा समेत सेवा लिने र दिनेहरुलाई समस्या भएको स्थानीय मोतिउ मल्लको कथन । कर्णालीका ताल्चा, खलंगा, जुफाल, सिमिकोट चौरजाहरी विमानस्थल अवरुद्ध भएका कारण सुर्खेत, नेपालगन्ज र काठमाडौं जाने सयौं यात्रु अलपत्र परेका छन् । अर्कोतर्फ कर्णाली राजमार्गमा चल्ने यातायातका सेवासमेत बन्द भएका छन् ।यो महिनामा दोस्रोपटक हिमपात भएको हो । हिमपातकै कारण धनजनको क्षति भएको छैन ।

चार फिट बढी हिउँ
हिमपातले बाजुराको जनजीवन पनि प्रभावित भएको छ । बिहीबार रातिदेखि निरन्तर हिउँपानी पर्दा पोरखे लेखमा चार फिट बढी हिउँ जमेको छ । बाजुरामा तेस्रोपटक हिउँ पर्दा मार्तडी–कोल्टी सडकसमेत अवरुद्ध छ । हिमपातले गर्दा आवत–जावत गर्न समस्या हुनुका साथै केही गाउँ सम्पर्क विच्छेद बनेका छन् ।

चिसो बढेपछि बाजुराको सदरमुकाम मार्तडी, बझाङको सदरमुकाम चैनपुर, हुम्लाको सदरमुकाम सिमकोट लगायतको जनजीवन प्रभावित भएको छ । अत्यधिक चिसोले दैनिक कामकाजमा समस्या भएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनायो । नेपालगन्जबाट बाजुरा, हुम्ला, जुम्ला, डोल्पा, मुगुमा हुने नियमित उडानसमेत बन्द भएका छन् । दैनिक नेपालगन्जबाट ३० देखि ४० वटासम्म हुने उडान बन्द भएको नागरिक उड्डयन प्राधिकरण नेपालगन्जले जनाएको छ । त्यस्तै, धनगढीबाट हुने उडान पनि बन्द भएका छन् ।

हिमाली र पहाडी भेगमा सडकहरु बन्द भएका छन् । मार्तडी कोल्टी सडक खण्ड दुई दिनदेखि बन्द भएको बूढिनन्दा नगरपालिका–९ का दाबा गुरुङले बताउनुभयो । बाजुराको उत्तरी क्षेत्रका ४ वटा स्थानीय तह हुम्ला, मुगुका केही क्षेत्र सञ्चार विहीन बनेका छन् । टावरमा रहेका सोलारका ब्याट्री चार्ज नभएपछि सञ्चारविहीन भउको नेपाल टेलिकम बाजुराले जनाएको छ । ती क्षेत्रमा फोन र इन्टरनेट नहुँदा स्थानीय तहको कामकाजसमेत प्रभावित भएको छ ।

चिसाकै कारणले हिमाली भेगका केही बस्ती बेंसीतिर झरेको छन् । बझाङ, दार्चुल्लाका उच्च भागमा पनि चिसोले जनजीवन प्रभावित भएको छ । बझाङको साइपाल गाउँपालिकामा पनि चिसोले जनजीवन प्रभावित बनेको स्थानीयले बताएका छन् ।

अवरुद्ध सडक १७ घण्टापछि सुचारू
दोलखाको खरीढुङ्गामा शुक्रबार बिहानैदेखि बाक्लो हिमपात भएपछि बेलुकाबाट अवरुद्ध बनेको लामोसाँगु–जिरी सडक झण्डै १७ घण्टापछि (शनिबार बिहान ११ बजेबाट) सुचारु भएको छ । शुक्रबार साँझ ६ बजेबाट अवरुद्ध भएको सडक खुलाउन नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले पहल गरेको भए पनि हिमपात जारी रहेकाले सम्भव भएको थिएन ।

शनिबार बिहानैदेखि नेपाल प्रहरी र सशस्त्र प्रहरीले हिउँ पन्छाएर ११ बजेबाट दुवैतर्फको सडक सुचारु गरेको सशस्त्र प्रहरी बल चरिकोटका प्रहरी नायव उपरीक्षक बुद्धिनारायण महर्जनले बताउनुभयो । बाक्लो हिमपातले लामोसाँगु–जिरी सडकको मुडे–खरीढुङ्गा सडक खण्ड अवरुद्ध बनेपछि थुप्रै सवारीसाधन रोकिएका थिए । सवारी साधन रोकिएपछि काठमाडौं तथा देशका विभिन्न ठाउँबाट दोलखा, रामेछापलगायतका जिल्लामा जान आएका सयौं यात्रु अलपत्र परेका थिए ।

दोलखा सदरमुकाम चरिकोटमा पनि निक्कै वर्षपछि शुक्रबार दिउँसो २ बजेबाट झण्डै आधा घण्टा हिमपात भएको थियो । हिमपातका कारण चरिकोट बजारमा अत्यधिक चिसो बढेको छ । बजार क्षेत्रमा हिउँ नदेखिए पनि बजारभन्दा माथितिर हिउँले सेताम्य भएको छ । समुद्री सतहदेखि १ हजार ९ सय ७० मिटरको उचाइमा रहेको चरिकोटमा दुई वर्षअघि सामान्य हिमपात भएको थियो । शुक्रबार भने पटक–पटक गरी आधा घण्टाभन्दा बढी समय हिमपात भएको स्थानीयले बताए ।

दोलखाको कालिञ्चोक, शैलुङ, खावाडाँडा, लामाबगर, जिरी, मैनापोखरी लगायतका क्षेत्रमा पनि अत्यधिक हिमपात भएको स्थानीयको कथन छ । ३ हजार ८ सय ४२ मिटरको उचाइमा रहेको कालिञ्चोक क्षेत्रमा माघ महिनामा मात्र चारपटक हिमपात भइसकेको छ । दुई हप्ताको बीचमा चारपटक हिमपात भएपछि कालिञ्चोकको कुरी, मन्दिर रहेको टाँपु, गणेशथुम्का, गैरीलगायत सबैतिर सेताम्य भएको स्थानीय होटल व्यवसायीहरु बताउँछन् । हिमपातमा सधैं पर्यटक भरीभराउ हुने कालिञ्चोकमा कोरोना संक्रमण बढ्दै गएकाले खासै पर्यटक नदेखिएको कुरीमा सञ्चालित होटल सुनपातिका विमल ओझा बताउनुहुन्छ । माघ महिनामा पटक–पटक हिमपात भएपछि शैलुङ क्षेत्रमा भने पर्यटक बढेका छन् ।

हिमपातपछि आलुखेती राम्रो हुने भएकाले किसान खुसी भएको शैलुङ–८ झोरका दीपेश श्रेष्ठले बताउनुभयो । दोलखाको लामाबगर, जिरी, मैनापोखरी लगायतका क्षेत्रमा पनि निक्कै वर्षपछि हिमपात भएको छ ।