विद्यालय खोल्ने सम्बन्धमा आज निर्णय हुने सम्भावना

0
Shares

काठमाडौं, (नेस) ।

अभिभावक र विद्यालय सञ्चालकले विद्यालय खोल्नुपर्ने दबाब दिइरहेको बेला सरकारले त्यस विषयमा आज आइतबार निर्णय गर्ने सम्भावना रहेको जनाएको छ । प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले आज बस्ने कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले सो विषयमा निर्णय गर्नसक्ने जानकारी दिनुभयो ।

उहाँले आज आइतबार सीसीएमसीको बैठकले कुन आधारमा विद्यालय खुला गर्ने भन्ने विषयमा निर्णय गर्नेछ । त्यसपछि उक्त निर्णय मन्त्रिपरिषद्मा पेस गरिनेछ । उहाँले पहिलो चरणमा कक्षा १ देखि १२ सम्म खुला गर्ने र त्यसपछि कोभिड संक्रमणको अवस्था विश्लेषण गरी क्रमैसँग अन्य कक्षा पनि सञ्चालन गर्ने भन्ने विषयमा निर्णय हुनसक्ने बताउनुभयो ।

शुक्रबार शिक्षा, विज्ञान तथा प्रविधि, स्वास्थ्य, गृह मन्त्रालयका उच्च अधिकारीसहितको बैठकमा शिक्षक महासंघ, अभिभावक महासंघ, प्याब्सन, एन प्याब्सनका पदाधिकारीहरूले दुवै मात्रा खोप लगाइसकेको अवस्थामा भौतिक रूपमै विद्यालय खोल्न दिन आग्रह गरेका थिए । उनीहरूले संविधानमा उल्लेख भएअनुसार अवस्था विश्लेषण गरी विद्यालय खोल्न र बन्द गर्न दिने अधिकार स्थानीय तहलाई दिनसमेत आग्रह गरेका थिए ।

यसअघि नै शिक्षा मन्त्रालयले समेत विद्यालय बन्द र खोल्ने अधिकार स्थानीय निकायलाई दिन आग्रह गरिसकेको छ । सोही विषयमा समेत आज छलफल गरी निर्णय गर्ने तयारीमा रहेको राज्यमन्त्री श्रेष्ठले बताउनुभयो । मन्त्री श्रेष्ठका अनुसार सबैतिर चलायमान भइसकेको र कोभिड संक्रमितको संख्या घट्दै गएका कारण विद्यालय खोल्न दिने विषयमा सरकार सकरात्मक रहेको छ ।