खेल प्रतियोगितामा राजनीति हस्तक्षेप

0
Shares

लन्डन, (एजेन्सी) ।

चीनको राजधानी शहर बेइजिङमा हिउँदे ओलम्पिक शुक्रबारदेखि शुरु भएको छ । प्रतियोगिता शुरु हुन अघि देखि नै विवादको कुराहरु आइरहेको प्रतियोगिता शुरु भइसकेपछि पनि विवाद थामिएन । उद्घाटन समारोहमा चिनियाँ सैनिकलाई ओलम्पिक टर्च बियरर बनाएकोमा भारतले यसको विरोध गर्यो । साथै ओलम्पिकलाई कुटनीतिक बहिष्कार गरेको पनि भारतले घोषणा गर्यो ।

गलयानमा गत वर्ष भारत र चीनका सैनिकबीच झडप भएको थियो । उक्त घटनामा घाइते भएका चिनियाँ सैनिकलाई ओलम्पिक टर्च बियरर बनाएपछि भारतले ओलम्पिकको कुटनीतिक बहिष्कार गरेको हो । जबकी यसअघि नै अमेरिकासहित कयौं देशले बेइजिङ हिउँदे ओलम्पिकको कुटनीतिक बहिष्कार गर्ने निर्णय लिएका हुन् । कुटनीतिक बहिष्कारमा ती देशका खेलाडीले भाग लिन्छन् तर, देशका उच्च पदाधिकारीले भने सहभागिता जनाउँदैनन् ।

तर, राजनीति हस्तक्षेपको यो घटना पहिलो भने होइन । यसअघि पनि कयौं प्रतियोगितामा राजनीतिक हस्तक्षेप भएको थियो । सन् १९८० र १९८४ का गृष्मकालीन ओलम्पिकमा पनि राजनीतिक हस्तक्षेप भएको थियो । सन् १९८० को ओलम्पिक तत्कालीन सोभियत संघको राजधानी मास्कोमा आयोजना भएको थियो । उक्त प्रतियोगिता हुँदा अमेरिका र सोभियत संघबीच शीत युद्ध चलिरहेको थियो । अमेरिकाको आरोप थियो कि सोभियत संघले अफगानिस्तानमा हस्तक्षेप गरेको थियो । यही विषयमा दुई देशबीच शीत युद्ध चलेको थियो । यसैमा अमेरिकाले मास्को ओलम्पिक बहिष्कार गरेर भाग लिएको थिएन । यसैको लयलयमा अमेरिका समर्थक राष्ट्रहरुले समेत सो ओलम्पिकको बहिष्कार गरे । यसमा नेपालले भने तटस्थ भुमिका खेलेको थियो ।

यसपछि सन् १९८० को गृष्मकालीन ओलम्पिकको आयोजना अमेरिकाको शहर लस एन्जल्समा भएको थियो । यसपटक बहिष्कार गर्ने पालो आयो सोभियत संघको । सोभियत संघसहित १८ राष्ट्रले सो ओलम्पिकको बहिष्कार गरेका थिए । सोभियत संघले चार वर्ष अघि आफ्नो शहरमा भाग नलिएको भन्दै अमेरिकाको ओलम्पिक बहिष्कार गरेको थियो । यसपटक पनि नेपालले तटस्थ भुमिका खेलेको थियो ।

ओलम्पिक मात्रै होइन क्रिकेटमा समेत बहिष्कारको चलन चलेको छ । अस्ट्रेलियाले अफगानिस्तानसँग टेस्ट क्रिकेटको आयोजना गर्न असमर्थ जनाएको छ । गत वर्ष अफगानिस्तानमा सत्ता परिवर्तन भएर तालीवानले शासन चलाएपछि नै अस्ट्रेलियाले अफगानिस्तानसँग खेल्न अस्विकार गरेको हो । अस्ट्रेलियाली सरकारले बतायो कि जबसम्म अफगानिस्तानमा महिला अधिकारको हनन गर्छन तबसम्म अफगानिस्तान टिमलाई अस्ट्रेलियामा खेल्न दिइनेछैन ।

यस्तै भारत र पाकिस्तानबीच क्रिकेट सम्बन्ध राजनीतिले तय गरिरहेको छ । खेलाडीबीच मिलनसारको सम्बन्ध भएपनि राजनीतिस्तरमा दुई देशबीच ठूलो मनमुटाव रहेको छ । यसैले यी दुई देश छीमेकी भएपनि सन् २००७ देखि यी दुई देशबीच कुनै पनि सिरिज हुन सकिरहेको छैन । भारतमा हरेक वर्ष हुने इन्डियन प्रिमियर लिग क्रिकेटमा समेत हालसम्म पाकिस्तान खेलाडीले खेल्न पाइरहेका छैनन् ।

यस्तै पाकिस्तानमा हुने सुपर लिगमा पनि भारतीय खेलाडीको सहभागिता छैनन् । दुबै देशका क्रिकेट टिमको केवल आईसीसी प्रतियोगितामा मात्रै आमनासामना हुने गर्छ । यसअघि सन् १९८९ देखि २००४ को बीचमा पनि यी दुई देशबीच तनावपूणको स्थिति रहेको थियो ।