६० विद्यालयले पाए ६ करोड

0
Shares

काठमाडौं ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षक दरबन्दी र राहत अनुदान प्राप्त नगरेका ६० विद्यालयलाई प्रति विद्यालय १० लाख रुपियाँका दरले ६० करोड रुपियाँ अनुदान दिएको छ ।

केन्द्रको शैक्षिक योजना तथा विकास महाशाखा शिक्षक व्यवस्थापन समन्वय शाखाले सूचना जारी गरी अनुदान लिने १ देखि ५ सम्मको कक्षा सञ्चालन गरिरहेका विद्यालयको नाम सार्वजनिक गरेको हो । ती विद्यालयले भविष्यमा दरबन्दी नलिने सर्त पालना गरेपछि अनुदान दिने निर्णय भएको हो । अनुदानका लागि केन्द्रले प्रस्ताव माग गरेअनुसार १ सय ५० विद्यालयले निवेदन दिएका थिए । तीमध्ये ६० विद्यालय छनौटमा परेका हुन् ।

अनुदान प्राप्त गर्ने विद्यालयहरूमा रोल्पाका सबैभन्दा बढी ११ विद्यायलय छन् । केन्द्रले विद्यालयले पाउने रकम वित्तीय अनुदानअन्तर्गत सम्बन्धित स्थानीय तहमा हस्तान्तरण गरिसकेको जनाएको छ । अनुदान प्राप्त गर्ने विद्यालयहरूमा रोल्पापछि सबैभन्दा बढी बैतडीका ९ विद्यालय रहेका छन् । त्यस्तै डोटीका ७, सर्लाहीका ६, प्युठानका ५, महोत्तरीका ४, सुनसरीका ३, हुम्लाका ३, बझाङ, कैलाली, दार्चुला र रुकुम पश्चिमका २–२, जुम्ला र उदयपुरका १–१ विद्यालय रहेका छन् ।

उक्त रकम आर्थिक वर्ष ०७८–७९ को फाल्गुण मसान्तभित्रै माग गर्न र सम्बन्धित गाउँ र नगरपालिकाहरूले उक्त कार्यक्रमका लागि सम्बन्धित विद्यालयहरूसँग ‘वार्षिक एकमुष्ट अनुदानबाट विद्यालय सञ्चालन गर्ने कार्यविधि २०७६’ बमोजिम करार सम्झौता गरेर निकासा गर्नुपर्ने केन्द्रले जनाएको छ ।

विद्यालय क्षेत्र विकास योजना (एसएसडीपी) अन्तर्गत शिक्षक दरबन्दी नपुगेको विद्यालय छनौट गरी रकम हस्तान्तरण गरिएको जानकारी गराउँदै केन्द्रका महानिर्देशक चुडामणि पौडेलले भन्नुभयो–‘योजना लागु भएको अन्तिम वर्ष बाँकी विद्यालयलाई रकम हस्तान्तरण गरिएको हो ।’ उहाँका अनुसार यो वर्ष ५ वर्षीय योजनाको अन्तिम वर्ष भएकाले बाँकी विद्यालयलाई रकम हस्तान्तरण गरिएको हो । एसएसडीपी योजना २०७३ सालदेखि शुरू भएको थियो । आगामी साउनदेखि १० वर्षे विद्यालय शिक्षा क्षेत्रको योजना लागु हुँदै छ ।