९ दिनमा ३ साझेदारको हत्या, मुख्य योजनाकारसहित ५ जना पक्राउ

0
Shares

विराटनगर ।

मोरङको धनपालथान–७ कमलपुरस्थित उखुबारीमा दुई तथा ललितपुरमा एक गरी तीन जनाको हत्या प्रकरणको रहस्य प्रहरीले खोलेको छ । व्यावसायिक पार्टनरको हत्याका पाँच आरोपीलाई प्रहरीले पक्राउ गरेको छ भने तीन जनालाई शुक्रबार सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा सिरहा नगरपालिका–२१ घर भई काठमाडौंको बल्खु बस्ने ३१ वर्षीय अनिल मण्डल, मोरङको जहदा गाउँपालिका–४ सिस्वनी घर भएका अमित साह भनिने दिनानाथ सोनार र मोरङको धनपालथान गाउँपालिका–७ कमलपुरका ६२ वर्षीय नासिर आलम, सुनसरीको देवानगन्ज–६ का १८ वर्षीय हकिम मन्सुरी र मोरङको रंगेली–३ का ३० वर्षीय महमद सुभाम रहेका छन् ।

विभिन्न व्यवसायमा साझेदारी गरेका पार्टनरलाई हत्या गरी एकल बनाउने उद्देश्यले मण्डलले योजनाबद्ध रूपमा हत्या गरेको प्रहरीले जनाएको छ । तीनमध्ये मण्डल मुख्य आरोपित हुन् । पक्राउ परेका अन्य भने सहयोगी भएको प्रहरीको भनाइ छ । मोरङ प्रहरीका अनुसार उनीहरूले सप्तरीका शम्भुनाथ नगरपालिका–४ का ३२ वर्षीय शम्भुकुमार चौधरी र सुनसरीको धरान उपमहानगरपालिका–३ घर भई भक्तपुर बस्दै आएका ४८ वर्षीय राजेन्द्रकुमार श्रेष्ठको हत्या गरी उखुबारीमा गाडेका थिए ।

तेह्रथुमको संक्रान्ति–२ घर भई काठमाडौं महानगर–८ गोठाटार बस्दै आएका ६३ वर्षीय मोहन लिम्बुको पनि हत्या गरी शव गाडेको प्रहरीले जनाएको छ । चौधरीको शव माघ १२ गते र श्रेष्ठको शव माघ १३ गते उत्खनन गरी निकालिएको थियो । लिम्बुको माघ २० गते बिहीबार चरङ्गखेलको गोदामबाट उत्खनन गरेर निकालिएको थियो । पक्राउ पर्ने मण्डलसहित मारिएका तीनै जना व्यावसायिक साझेदार हुन् ।

हाइड्रोपावर, जग्गा कोराबारलगायत अन्य व्यवसायमा समेत साझेदार साथीहरूको हत्या गरेर एकलौटी कब्जा गर्ने उद्देश्यले हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको एसपी जनार्दन जिसीले बताउनुभयो । उहाँका अनुसार पक्राउ परेका साह र नासिरलाई पैसा दिएर हत्या गर्न लगाइएको हो । तीनैजनालाई डोरी तथा गम्छाले घाँटी कसेर हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । शव कुहाउन नुनको समेत प्रयोग गरेको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी जर्नादन जिसीले जानकारी दिनुभयो । श्रेष्ठको हत्या पुस ५ मा, चौधरीको पुस ७ र लिम्बुको मंसिर २८ गते हत्या भएको प्रहरीले जनाएको छ । ललितपुरमा लिम्बुको हत्या गरेको ७औं र ९औं दिनमा विराटनगरमा थप दुई साझेदारको हत्या गरेर उखुबारीमा शव व्यवस्थापन गरिएको प्रहरीले बताएको छ ।

मोरङको धनपालथान–७ कमलपुरस्थित उखुबारीमा शव भेटिएका दुई जनाको हत्या सोही स्थानमा भएको खुलेको छ । हत्याका मुख्य योजनाकार मण्डललाई पक्राउपछि शुक्रबार सार्वजनिक गर्दै मोरङ प्रहरीले हत्याको विवरण सार्वजनिक गरेको हो । साझेदारी कारोबारको रकम एकलौटी बनाउन मण्डलले भारतीय हत्याराको प्रयोग गरेर उनीहरूको हत्या गरेको प्रहरीको भनाइ छ । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट हत्यामा ८ जना भारतीय नागरिकको प्रयोग भएको देखिएको छ ।

थप दुई पक्राउ
तीन जना साझेदार साथीको हत्या गरेको आरोपमा थप दुई जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । प्रहरीले शुक्रबार राति थप दुई जनालाई पक्राउ गरेको हो । पक्राउ परेका सुनसरीको देवानगन्ज–६ का १८ वर्षीय हकिम मन्सुरी र मोरङको रंगेली–३ का ३० वर्षीय महमद सुभामलाई पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिनुभयो । बिहीबार प्रहरीले मुख्य योजनाकारसहित तीन जना पक्राउ गरी शुक्रबार ११ बजे पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको थियो ।

१५ लाख कमिसन एक्लै खान हत्या
‘कमिसन’ एक्लै हत्याउन मण्डलले १५ लाख दिने भएपछि भाडाका पेशेवर अपराधी झिकाएर फिल्मी शैलीमा तीन जना साझेदार साथीको हत्या गरेको खुलेको छ । ललितपुरको क्यान्सर अस्पताल नजिक रहेको २५ रोपनी ७ आना जग्गा बैंक ग्यारेन्टी मिलाएबापत आउने १ करोड ५० लाख रुपियाँ ‘कमिसन’ एक्लै हत्याउन मण्डलले फरकफरक मितिमा तेह्रथमु संक्रान्ति २ घर भई काठमाडौं बस्दै आएका ६३ वर्षीय मोहन लिम्बू, सुनसरीको धरान घर भई भक्तपुर बस्दै आएका ४८ वर्षीय राजेन्द्र श्रेष्ठ र सप्तरीको शम्भुनाथ नगरपालिका ४ घर भई काठमाडौं बस्दै आएका ३२ वर्षीय शम्भुकुमार चौधरीको हत्या गरेको मोरङ प्रहरी प्रमुख एसपी जिसीले जानकारी दिनुभयो ।

कारागारमै चिनजान
व्यावसायिक साझेदार मण्डलले श्रेष्ठ, चौधरी र लिम्बूको हत्या गरेवापत अनिलले १५ लाख रुपियाँ दिने भनेपछि जहदा–४ का २९ वर्षी अमित साह भनिने दिनानाथ सोनारले हत्याको जिम्मा लिएको प्रहरीको अनुसन्धानदेखि खुलेको छ । हत्या गर्नुभन्दा अगाडि अनिलबाट अमितले ३ लाख रुपियाँ लिइसकेका छन् । बाँकी रहेको १२ लाख रुपियाँ कमिसन रकम आएपछि दिने सर्त बनाएका थिए ।

‘अनिलले भनेअनुसार मोहनको हत्या गर्ने योजना बनाएपछि अमितले हत्या गर्न ६ जना मान्छे लिएर काठमाडौंसम्म पुगेको देखिएको छ,’ एक प्रहरी अधिकृतले भने । अनिल र अमित यसअघि जेल बसेका अभियुक्त पनि हुन् । उनीहरूको जेलमा रहँदा चिनजान भएको थियो । अनिल ठगी मुद्दा र अमित लागूऔषध मुद्दामा जेल जीवन बिताएका थिए । त्यहींबाट उनीहरूको चिनजान भएको हो । उनीहरूको नख्खु कारागारमा बस्दा चिनजान भएको थियो ।