जन्ती जिप दुर्घटनामा आठको मृत्यु

0
Shares

प्युठान ।

प्युठानको नौबहिनी–६ लुङबाट गौमुखी गाउँपालिका–६ लिवाङतर्फ जन्ती लिएर जाँदै गरेको जिप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । लुङबाट विवाह सकेर राति बेहुली लिएर फर्किएको जन्तीसहितको ग१ख ५०९२ नंको जिप गौमुखीकै वडा नं ६ ओखरपाटा भन्ने स्थानमा शनिबार बिहान ३ बजेको समयमा सडकदेखि करिब १५० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी मृत्यु हुनेमध्ये गौमुखी गाउँपालिका–६ का एकै परिवारका ३९ वर्षीय वसन्त खड्का, ३९ वर्षीया वसन्ता खड्का र ११ वर्षीया एलिसा खड्का रहेका छन् । त्यसै गरी सोही ठाउँकी २९ वर्षीया केशरी खड्का, गाडी चालक ५२ वर्षीय बलबहादुर बुढामगर, ३२ वर्षीय खिमबहादुर खत्री, ५२ वर्षीया नन्दी खड्का र नौबहिनी गाउँपालिका–६ की २० वर्षीया विपना जिसी रहेका छन् । मृतकमध्ये वसन्त र एलिसाको उपचारका क्रममा मृत्यु भएको हो भने अन्य ६ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा बेहुला र बेहुलीसहित पाँचजना घाइते भएका छन् । घाइते पाँच जनामध्ये बेहुली नौबहिनी गाउँपालिका–६ किमिचौरकी २० वर्षीया रिमा जिसी, बेहुला गौमुखी–६ लिवाङका २५ वर्षीय दानबहादुर खड्का, सोही ठाउँका १७ वर्षीय नरेश खड्का, २१ वर्षीय हरि बुढामगर र नौबहिनी ६ की २५ वर्षीय सावित्रा जिसी रहेका छन् ।

घाइतेहरूको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको छ भने घाइते बेहुली रिमा जिसीको अवस्था गम्भीर रहेको छ । बेहुला दानबहादुर खड्काको अवस्था भने मध्यम रहेको जनाइएको छ । यसै गरी किमिचौरकै २५ वर्षीया सावित्रा जिसी, २१ वर्षीय हरि बुढामगर र लिवाङका १७ वर्षीय नरेश खड्काको स्वास्थ्य अवस्था पनि गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।

दुर्घटनामा परी आठ जनाको मृत्यु भएको घटनाप्रति लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी तथा प्रदेशसभा सदस्य हरिप्रसाद रिजालले दुःख व्यक्त गर्नुभएको छ । मुख्यमन्त्री केसीले एक शोक वक्तव्य जारी गर्दै मृतकप्रति श्रद्धाञ्जली र परिवारजनमा समवेदना र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ । यसैबीच, शनिबार स्याङ्जामा भएको जिप दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । स्याङ्जाको बिरुवा गाउँपालिका–३ धोवादीखालीमा ग १ झ नम्बरको बोलेरो जिप दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी मृत्यु हुनेहरूमा धोवादीखाली–३ बस्ने चालक वेलबहादुर थापा र यात्रु भेषबहादुर थापा रहेका छन् ।
दुर्घटना भई जिप सडकबाट ५ मिटर तल खसेको प्रहरीले जनाएको छ । मृतकको शव पोस्टमार्टमका लागि पठाइएको तथा घटनाको सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।