केपी ओलीको भ्रम ?

0
Shares

सरकारले कोरोना बढेको भनेर माघ मसान्तसम्म भेला, जुलुस, गोष्ठी, राजनीतिक कार्यक्रम सबै स्थगित गरिदिएको छ । कुनै कार्यक्रममा २५ जनाभन्दा बढी सहभागी हुन नपाउने भनिएको छ । केही दिनअघि भक्तपुरको एक होटलमा एमालेको ठूलो भेला भएको थियो । एमाले अध्यक्षको निर्देशनमा बैठक बस्यो । बैठकमा सयजनाभन्दा बढी भेला भएका थिए । कोरोनाले तहल्का मच्चाइरहेको बेला त्यस बैठकमा कमैले मात्र मास्क लगाएको देखियो । न सामाजिक दूरी, न स्यानिटाइजर निस्फिक्री बैठक बस्यो । बैठक सिध्याएर बाहिर निस्किएका महेश बस्नेत, गोकुल बाँस्कोटा, भानु ढकाल आफैंले कोरोनाविरुद्धको मापदण्ड पालना गरेनन् ।

यता, सरकार नै हामी हौं भनेर ठूल्ठूला भाषण गरे । सरकारले गरेको निर्णय हामी पालना गर्दैनौं, हामीलाई जे मन लाग्छ त्यही गर्छौं भनेर सरकारलाई चुनौती दिए । एमालेका यी नेताहरुले ठ्याक्कै गुन्डाले दिनजस्तो भाषण दिए । गुन्डा पृष्ठभूमिबाट आएकाहरुबाट अरु अपेक्षा पनि के गर्न सकिएला ?

पहिला जे काम गर्थे, त्यही शब्द बोले । केपी ओलीले केही ख्याल नै नगरी बैठक राखे । यस्ता गुन्डाहरुलाई प्रयोग गरेर माथि आउनु केपीको सपना हो । २०७० सालमा चुनाव हारेका महेश बस्नेतलाई केपीले उद्योगमन्त्री बनाइदिएका थिए । २०७० सालभन्दा अघिको सरकारले काठमाडौं उपत्यकाभित्र र बाहिर सञ्चालित इँटाभट्टालाई विस्थापन गर्ने निर्णय गरेको थियो ।

क्रसर उद्योगलाई विस्थापन गर्ने भनेर सरकारले यसलाई उपत्यकाबाहिर सार्ने निर्णय भएको थियो । उद्योगबाट निस्किएको धुवाँले क्यान्सर हुने, छाला चिलाउने, आँखा पोल्नेजस्तो समस्या निम्तिएपछि यी उद्योगलाई बस्ती नभएको ठाउँमा राखिने भनिएको हो । तर, इँटाभट्टा साहुसँग करोडौं रुपियाँ खाएर बस्नेतले म्याद थपिदिएका थिए । इँटाभट्टा विस्थापन गर्ने निर्णय महेश बस्नेतले तुहाइदिएका हुन् । यता, क्रसर उद्योगीहरुसँग पनि आर्थिक लेनदेन गरेर उनले यी उद्योगहरुलाई उपत्यकाबाहिर सारेनन् । इँटाभट्टा बन्द नगर्दा प्रदूषण बढेको छ । स्वास्थ्यमा समस्या देखिइरहेको छ । यसले वायुमण्डलमा समेत हानि पुर्याएको छ । गोकुल बाँस्कोटा सूचना तथा सञ्चारमन्त्री हुँदा नेपालमै रकम छाप्ने मेसिन ल्याउने भनिएको थियो । सरकारले मेसिन खरिद प्रक्रिया अघि बढाउँदा उनले ७० करोड कमिसन मागेको भिडियो सार्वजनिक भएको थियो । जसको कारण बाँस्कोटाले मन्त्रीबाट राजीनामा दिएका थिए ।

भानु ढकाल स्वास्थ्यमन्त्री हुँदा सामान खरिद बिक्रीमा अर्बौं रुपियाँ भ्रष्टाचार भएको तथ्य बाहिर आएको थियो । एमालेका नेता ईश्वर पोखरेलले पानी ट्यांकीमा रकम लुकाएको भनी केही वर्षअघि समाचार सार्वजनिक भएको थियो । यस्ता गुन्डैगुन्डाले चलेको पार्टी एमालेलाई अझै पनि हामी नै सत्तामा आउँछौं भन्ने घमण्ड छ । तर, पछिल्लो समय केपी ओलीले आफ्नो क्ष्।ेत्रबाट पनि चुनाव जित्दैनन् भनेर धेरैले अड्कलबाजी गरेका छन् । यता, महेश बस्नेत, भानु ढकाल र गोकुल बाँस्कोटाले पनि चुनाव जित्न सक्दैनन् भन्नेमा सबै विश्वस्त छन् । सरकारले चाँडो स्थानीय चुनावको मिति घोषणा गर्नुपर्नेमा एमाले छ ।

स्थानीय चुनाव चाँडो नगरेमा आन्दोलनमा आउने एमालेको चुनौती छ । तर, स्थानीय चुनाव हुनेबित्तिकै एमालेको घमण्ड पानीमा मिसिन्छ । सरकारले स्थानीय चुनाव घोषणा गरे पनि एमालेलाई जित्न निकै धौ–धौ छ । किनकि २०७४ सालमा स्थानीय चुनाव जितेको एमाले जनप्रतिनिधिहरुले सर्वसाधारणको केही काम नगर्ने, सरकारी गाडी चढ्ने र तलबभत्ता खानेबाहेक यिनीहरुले रत्तीभर पनि काम गरेका छैनन् । अझै ठेक्कापट्टा गरेर कमिसन खानमा एमालेका जनप्रतिनिधिहरु माहिर छन् । २०७४ सालको चुनावमा केपी ओलीले ज्येष्ठ नागरिक र एकल महिलालाई पाँच हजार रुपियाँ भत्ता पुर्याइदिने भनेर भोट मागेका थिए । तर, ओलीले आफ्नो बोलीमा टिकेर काम गर्न सकेनन् । ज्येष्ठ नागरिक र एकल महिलाको भावनामाथि यसरी खेलबाड गर्न पाइन्छ ? अब ज्येष्ठ नागरिकले पनि ओलीलाई भोट दिने छैनन् । अहिले भत्ता लिनको लागि ७० वर्ष कट्नुपर्छ ।

२०७४ सालमा शेरबहादुर देउवाले पद ओलीलाई हस्तान्तरण गर्नुभन्दा अघि एउटा निर्णय गरिएको थियो । देउवाले ६५ वर्ष नाघेकालाई ज्येष्ठ नागरिक भत्ता दिने निर्णय गरेका थिए । मृगौला, कलेजो फेल भएकालाई, मेरुदण्ड भाँचिएकालाई, मनस्थिति गुमाएकालाई मासिक पाँच हजार दिने घोषणा देउवा सरकारबाट भएको थियो । यो निर्णयले आर्थिक कमजोर भएका र रोगीहरु धेरै खुशी भएका थिए । तर, २०७४ फागुन ३ गते केपी ओली प्रधानमन्त्री हुनेबित्तिकै देउवाले गरेको निर्णय सबै खारेज गरियो । शेरबहादुर देउवाको निर्णयबाट एमालेकै कार्यकर्तासमेत हर्षित भएका थिए । अर्कोचोटिको चुनावमा जनताले कांग्रेसलाई भोट दिन्छन् भनेर ओली डराए । हाम्रो एमाले पार्टीले चुनाव हार्छ भन्ने डरैडरले ओलीले जनताको हितमा गरिएको निर्णय खारेज गरिदिए ।

यसको नतिजा एमालेले भोग्ने दिन आउँदै छ । ज्येष्ठ नागरिक, दीर्घकालीन रोगी र आर्थिक कमजोरमाथि ओलीले गरेको घातको जवाफ अब जनताले नै दिनेछन् । हाल मुलुकको प्रधानमन्त्री शेरबहादुर देउवा छन् । तर, देउवाले पहिले गरेको निर्णय किन फिर्ता ल्याउँदैनन् ? ज्येष्ठ नागरिकले ६५ वर्षमै भत्ता पाउने निर्णय किन गरिएन ?

के पहिले गरेको निर्णय देउवाले सबै बिर्सिएका हुन् ? दीर्घकालीन रोगीको उपचारमा किन संलग्न भएनन् देउवा ? देउवा सरकारले यो निर्णय गर्न सक्ने हो भने अर्को चुनावमा कांग्रेसले जित्ने निश्चित छ । सरकारले आर्थिक कमजोर भएकालाई पनि मासिक भत्ता दिने व्यवस्था गर्नुपर्छ । कि युवाहरुलाई सरकारले रोजगार दिनुपर्छ, कि बेरोजगारी भत्ता दिनुपर्छ भन्ने नारा लगाएर महेश बस्नेतले चुनाव जितेको हो । आफू उद्योगमन्त्री बन्दा न युवालाई रोजगारी दिए, न बेरोजगारी भत्ता । कालो मोसो दलेर बजार घुमाउनुपर्नेजस्ता नेता छन् नेपालमा । केपी ओलीले आफू प्रधानमन्त्री हुँदा शैक्षिक योग्यताको प्रमाणपत्र राखेर व्यापार व्यवसाय गर्नलाई ऋणको व्यवस्था गर्ने भनेका थिए । तर, सो पनि भाषणमै सीमित भयो । जनता झुक्याएर चुनाव जितेका ओली सरकारबाट केही सेवासुविधाको अपेक्षा राख्नु पनि बेकार नै थियो । उखान टुक्काले प्रधानमन्त्री बनेकोले जनताको लागि कुनै राम्रो निर्णय गर्न सकेनन् । उल्टै अर्को सरकारले गरेको निर्णय खारेज गरिदिए ।

अब चुनाव गुन्डागर्दी र उखान टुक्काले जित्न सकिँदैन । अझै पनि अरुलाई भर्याङ बनाएर खुड्किलो चढ्छु भनेर ओलीले नसोच्दा पनि हुन्छ । आफू प्रधानमन्त्री भएको बेलामा ओलीले मुलुकको नक्सा समावेश केक काटेर जन्मदिन मनाए । आफ्नो नजिकको मान्छेलाई मन्त्री बनाउने, ठेक्का दिने, कमिसन खानेबाहेक केही नगरेकाले मुलुकको नक्सा अंकित केक काट्ने ?

दुर्गम जिल्लाबाट चुनाव जितेर आएका सांसदलाई मन्त्री नदिने तर बीसौं वर्ष सरकारी जागिर खाएर जनता र राष्ट्रको लागि केही नगरेको भूपू कर्मचारी युवराज खतिवडालाई अर्थमन्त्री बनाइयो । आफ्नो क्षेत्रको मान्छे भनेर अर्थमन्त्री बनाएको खतिवडाले केही गर्न सकेनन् । अझै पनि हाम्रो पार्टी सत्तामा आयो भने हामी जित्छौं भन्नु केपीको भ्रम हो । आफू प्रधानमन्त्री हुँदा के–के कर्तुत गरेको छु भनेर हेक्का नराख्नेलाई कसले भोट दिन्छ । अझै पनि नेपाली जनताको भावनामा चोट पुर्याउने ओलीलाई लाज लाग्दैन । अबको चुनावमा एमालेले भोट पाउँदैन । अब पनि आन्दोलन गर्छु, सरकारको निर्णय मान्दिन भन्ने हो भने ओलीलाई समातेर जेल कोच्नुपर्छ ।
अनुसा थापा, भक्तपुर