राराको होटल हटाउन सर्वसाधारणको माग

0
Shares

मुगु ।

कर्णालीको मुख्य पर्यटकीय गन्तव्य रारातालमा २२ वर्षदेखि बिनाप्रतिस्पर्धा एउटै व्यक्तिले होटल सञ्चालन गरिरहेको भन्दै स्थानीयले होटल हटाउन माग गरेका छन् । २०५६ सालदेखि राराको हुटुमा प्रतिनिधिसभा सदस्य गोपालबहादुर बमले क्यान्टिनको नाममा डाँफे गेस्ट हाउस सञ्चालन गर्दै आइरहेका छन् ।

तालनजिकै होटल सञ्चालनले परेको वातावरणीय प्रभावलाई मूल्यांकन गर्न सरकार उदासीन भएको स्थानीयको आरोप छ। वन तथा वातावरण मन्त्रालयले उक्त होटलको म्याद थप्दै आएको छ । करिब ३ वर्षसम्म अर्का व्यवसायी राजु कार्कीले निकुञ्जको घर भाडामा लिएर अर्को होटल सञ्चालन गरेका थिए। त्यसमा आगलागी भएपछि उनले छोडे । तालनजिकै डाँफे गेस्ट हाउस मात्र सञ्चालनमा छ। एक वर्षअघि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले रारा निकुञ्जभित्रका होटलहरू हटाउने तयारी गरे पनि गत जेठ ४ मा बमले ५ वर्षको म्याद थप गराएका थिए। मन्त्रालयले गरेको म्याद थप्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेको थियो। उक्त मुद्दा विचाराधीन रहेको रारा राष्ट्रिय निकुञ्जका अधिकृत बद्रीविनोद दाहालले बताउनुभयो।

‘पहिले क्यान्टिन भनेर सम्झौता भएको रहेछ’, स्थानीय डबलबहादुर रोकायाले भन्नुहुन्छ– ‘त्यसैलाई होटल बनाइएपछि एउटै व्यक्तिको एकाधिकार त चलेकै छ, होटलको फोहोर तालमा फालिएको छ।’ पर्यटकीय क्षेत्रमा लामो समयदेखि रारामा सीमित व्यक्तिलाई मात्र फाइदा लिन दिइनु ठीक नभएको उहाँको छर्क छ।

रारा क्षेत्रको होटल हटाउन माग गर्दै गत वर्ष मुर्मा, तुम, कार्कीबाडा, कोटीलालगायत मध्ययवर्ती क्षेत्रका स्थानीयले निकुञ्जमा ज्ञापनपत्र बुझाएका थिए। रारामा होटल मात्र नभई पूर्वाधार योजना सञ्चालनमा पनि एउटै व्यक्तिको एकाधिकार हुने गरेको छ। रारामा भ्यु टावर, सार्वजनिक शौचालय, बाटो मर्मत र तालवरिपरि साइकल लेन निर्माणलगायतमा बिनाप्रतिस्पर्धा योजना वितरण हुने गरेको छ।

गत वर्ष प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले रारा तालवरिपरि साइकल लेन निर्माणका लागि ३ करोड रुपियाँ विनियोजन गरेको थियो। डिभिजन वन कार्यालयले शंकरमाली कम्पनीसित सम्झौता गरी निर्माणको काम अघि बढाएको थियो। उक्त बजेटले एक किलोमिटर पनि साइकल लेनको निर्माण पूरा भएको छैन। यसकै लागि चालू आर्थिक वर्षमा ४९ करोड रुपियाँ छुट्याइएको छ। यो वर्ष भने डिभिजन वन कार्यालयले टेन्डर खोलेको छ।

रारामा भौतिक पूर्वाधारका योजनामा एकल व्यक्तिको मनोमानी चलिरहेको निर्माण व्यवसायी संघका अध्यक्ष हिमाल टमाटाको भनाइ छ । ‘प्रदेशको मन्त्रालयदेखि डिभिजन वन कार्यालयसँग सेटिङ मिलाएर योजना लुट्ने काम भइरहेको छ’, उहाँ भन्नुहुन्छ– ‘अधिकांश योजना कोटेसनकै भरमा सञ्चालन भइरहेका छन्।’ ठूला बजेटको काम गर्ने फार्मले केन्द्रमै सेटिङ मिलाउँदा जिल्लाका व्यवसायी मर्कामा परेको उनको गुनासो छ।

पर्यटकीय क्षेत्र रारामा एउटै व्यक्तिको नाममा होटल सञ्चालन हुँदा एकाधिकार भई राराको मुनाफा जति एउटाको हातमा मात्र पर्ने र राराको सुन्दरतामा समेत ह्रास आउने गरेको छ । टेन्डरमार्फत अरूलाई पनि व्यवसाय गर्न दिनुपर्ने सथानीयको माग छ ।