केरुङ हुँदै रसुवागढी नाका आउने सामान रोकियो

0
Shares

रसुवा (नेस) ।

सोमवारदेखि रसुवागढी नाका हुँदै केरूङबाट आउने समान रोकिएको छ । चीनको नयाँ वर्ष ल्होसार पर्व परेका कारण चीनको केरूङबाट सामान आयातीत नभएको बताइएको छ । केरूङबाट समान भरिएका लोड कन्टेनर नआएको र नयाँ वर्ष ल्होसारका कारण एक हप्ता बन्द भएपछि सामान आयात नहुने चिनियाँ पक्षले बताएको भन्सार प्रमुख रामप्रसाद मैनालीले जानकारी दिनुभयो ।

केरूङबाट दैनिक नौवटा चिनियाँ कन्टेनरले सामान रसुवागढी नाकासम्म ल्याइदिने गरेको छ । नयाँ वर्ष ल्होसार भएका कारण चिनियाँ सरकारी कार्यालय तथा प्राइभेट ट्रान्सपोर्ट बन्द हुने भएकाले एक हप्ताका लागि चिनियाँ सामान आउन बन्द भएको बताइएको छ ।

चीनबाट नेपालमा व्यापार गर्न नजिकको र पुरानो नाका रसुवागढी नाका भएकोले २०७२ को भूकम्पपछि तातोपानी नाका बन्द भएपछि यही नाकाबाट सामान आयात हुने गरेको छ । रसुवागढी नाकाबाट केरूङ पुग्न २४ किलो मिटर मात्रै रहेको छ ।