इंग्ल्यान्ड यू १९ विश्वकपको फाइनलमा

0
Shares

लन्डन, (एजेन्सी) ।

इंग्ल्यान्ड वेस्ट इन्डिजमा जारी यू १९ विश्वकप क्रिकेटअन्तर्गत फाइनलमा पुगेको छ । सेमिफाइनल खेलमा इंग्ल्यान्डले अफगानिस्तानलाई डकवर्थ लुइस नियमअनुसार १५ रनले हराएको हो । इंग्लिस टिम सन् १९९८ पछि पहिलो पटक फाइनलमा पुग्न सफल भएको छ । पहिलोपटक प्रतियोगिताको सेमिफाइनल खेलेको अफगानिस्तानको टिमले अनुभव कम भएको हुँदा इंग्ल्यान्डलाई दरो चुनौती दिन सकेन । वर्षाका कारण खेल दुवै टिमका लागि ४७ ओभर निर्धारण गरिएको थियो ।

खेलमा इंग्ल्यान्डले पहिले ब्याटिङ गर्दै २ सय ३१ रनको लक्ष्य दिएको थियो । जबकी अफगान बलरहरूले एक समय इंग्ल्यान्डलाई ६ विकेट लिएर १ सय ३१ रनमा खुम्च्याएका थिए । इंग्ल्यान्डका लागि ओपनर ब्याटर जर्ज थोमसले अर्धशतकीय इनिङ खेलेको थिए । उनले ५० रन बनाउँदा अरू माथिल्लो क्रमका ब्याटर भने चल्न सकेनन् । तर, मध्य क्रमका ब्याटर जर्ज बेल र तल्लो क्रमका ब्याटर एलेक्स हर्टनले सातौं विकेटका लागि ९५ रनको साझेदारी गरेका थिए । बेल ५६ रनमा र हर्टन ५३ रनमा नटआउट रहे । अफगानिस्तानका लागि सबैभन्दा बढी नूर अहमदले २ विकेट लिएका थिए ।

जवाफमा अफगानिस्तानले राम्रो ब्याटिङ गरेको थियो । १ विकेटको क्षतिमा ९४ रनमा रहेको टिमले १२ बलमा ३ विकेट गुमाउँदा पछि पर्नु परेको थियो । तापनि सम्हालिँदै खेलेको अफगान टिमले फाइनल पुगेर इतिहास रच्न २४ बलमा ४३ रन बनाउनु थियो । जेम्स सेल्सको बलिङमा २० रन बटुलेपछि अफगान टिम खेलमा फर्किने तरखर भएको पनि थियो ।
यसपछि इंग्ल्यान्डका बलर जोशुआ बोएडनले अर्को ओभरमा केवल चार रन मात्रै खर्चे ।

४६ औं ओभरमा रेहान अहमदले पहिलो, चौथो र पाँचौं बलमा विकेट लिएर अफगानिस्तानलाई ९ विकेट पतन गराएका थिए । अफगानिस्तानले ४७ ओभरमा ९ विकेटको क्षतिमा २ सय १५ रन बनाएको थियो । अफगान टिमका लागि नूरले सर्वाधिक ६० रन जोडेका थिए । अन्यमा ओपनर शिरजादले ४३ रन, टारिन ३३ रन र लकनवालले २५ रनको योगदान दिए भने हाडी ३७ रनमा नटआउट रहेका थिए । इंग्ल्यान्डका बलरमा अहमदले सर्वाधिक ४ विकेट लिएका थिए ।