अचम्म लाग्छ ! अचम्म लाग्दैन !!

0
Shares

  • मुक्तिबन्धु

नेपालमा आज शीर्ष भनिएका नेताहरुका हरकत र अनुहार मिडियामा देख्दा र पढ्दा तपाईंलाई कस्तो लाग्छ ? टिठ लाग्छ, घीन लाग्छ कि गौरव लाग्छ ? कि अचम्म मात्र लाग्छ ? सत्तामा उक्लेपछि सत्ताकै दुरुपयोगद्वारा भ्रष्टाचार गरेर बगरे शैलीमा देश दुनियाँ चरप्प निचोरे । अकूत सम्पत्ति कमाए । भव्य महल, महँगा गाडी, राजसी सवारी, विलास, वैभव, मोजमज्जा सबै भोगचलन गरे र गरिरहेका छन् ।

यी शीर्ष भनिएकाहरुले सत्ता र सम्पत्तिका लागि नीति, नैतिकता, सिद्धान्त, मर्यादा, प्रतिज्ञा प्रतिबद्धता सबै सर्पले काँचुली फुकालेजस्तै गरी फुकालेर फ्याँके । गति छाडेरै कमाए । आफू र आफ्नो परिवारले हजार वर्ष उपभोग गर्दा पनि नसकिने सम्पत्ति कमाए । कहिल्यै मरिँदैन भन्ने सोच राखेजसरी कमाए । यति गर्दा पनि यिनीहरुले काललाई जित्न सकेका छैनन् । देख्दादेख्दै यी सबै बूढा भएका छन् । शेरबहादुरको बोली नबुझिने भइसकेको छ । ओलीका गाला झोलिइसकेका छन् । प्रचण्डको कुम हल्लाइमा ऊर्जा छैन । भट्टराईका ताउरमाउर नसुहाउँदो देखिन थालेको छ । यसै गरी माधव, झलनाथ र मधेसवादी शीर्ष भनिनेहरु पनि बुढ्याइँका घोक्रेठ्याकबाट ढुन्मुनिएका देखिएका छन् । सत्ता–सम्पत्तिको दौडमा होसै गुमाएर खुर्मुरिएका यी नेता भनाउँदाहरु बुढ्याइँले सरदर विक्षिप्त पनि भइसकेका झैँ लाग्छन् । गढेर हेर्दा देखिन्छ, यिनका अनुहारमा बुढ्याइँले महाप्रयाणका गोरेटो कोरिसकेको छ ।

जति धन कमाए पनि, जति व्यञ्जन र भोजन ज्यूनार गरे पनि, जति बहुमूल्य मधुपान गरे पनि यिनका गालामा हिजोको लाली छैन । आँखामा हिजोको ज्योति छैन । पाँसुला–पाखुरामा हिजोको बर्गत छैन । कति त भर्याङ चढ्दा र ओर्लंदा अरुले समातिदिनुपर्ने अवस्थामा समेत देखिइसकेका छन् । तर पनि यिनीहरुलाई मर्ने जुनी हो, कुनै दिन त मरिन्छ जस्तो पनि लागेको आभास छैन । लाग्दैन कि कसो ? यसरी बूढो हुँदासम्म पनि नसुध्रिएर लगातार देश–दुनियाँ लुट्नेजस्तो भ्रष्ट आचरणमा लागिरहँदा अक्ष्यम्य रुपमा कलङ्कित भइन्छ, जनताले थुक्छन्, इतिहासले क्षमा गर्दैन भन्ने चेत पनि जागेको थाहा पाइएन । चेतना नै छैन कि कसो ? भए त जाग्नुप्रथ्यो । अझैँ यिनीहरुमा भ्रष्टाचारको आकाङ्क्षा झर्झराउँदो तरुनो छ । कमिसनको आकाङ्क्षा त्यत्तिकै तरुनो छ । भनौँ बर्बर शैलीमै तरुनो छ । नानीदेखि लागेको अर्थलोलुप बिचौलियागिरीको लत छुटेको छैन । नोट कमाउने भोक मरेको छैन । यिनीहरुलाई पृथ्वीको भन्दा पनि आफ्नो आयु बढी छ जस्तो लाग्छ कि कसो हो ? अचम्म लाग्छ ।

अचम्म लाग्छ नि ! किन लाग्दैन ? सत्ता, सम्पत्ति, विलास, वैभवले भरिपूर्ण हुँदा पनि ‘मर्ने बेला हरियो काँक्रो !’ भनेजस्तो अभैm थप सत्ता, सम्पत्ति भोग्ने विक्षिप्त तृष्णाले घोक्रिएर अहिले यी बाबुराम, शेरबहादुर ओली प्रवृत्तिहरु आफ्नो मातृभूमिसमेत रहेको नेपाल र आफ्ना अन्नदाता रहिआएका नेपाली जनतालाई साम्राज्यवादीको वधशालामा हुल्न मरिहत्ते गरिरहेका छन् । क्रृरता, नृशंशता र कृतघ्नताको यो भन्दा अचम्म लाग्दो परिघटना के हुन सक्छ ?

‘सबैलाई रन्फन्याएर एमसीसी पास गरौँ’ ‘म एमसीसी पास गर्छु–गर्छु !’ ‘पास गर्न तपाईंलाई म मद्दत गर्छु !’ ‘छाती ठोकेर पास गरिन्छ !’ यी ‘म’ भन्नेहरु, ‘पास गरौँ’ ‘पास गर्छु,’ ‘मद्दत गर्छु’, र ‘छाती ठोकेर’ भन्नेहरु आफूलाई के ठान्छन् ? ‘ज्यूधन सरकारको’ भनिने शासनका ‘श्री ३’ हुन् यिनीहरु ? कि यिनीहरु ‘भेडीगोठका नाइकेहरु’ हुन् ? त्यसो भए यिनले आफ्ना ‘आज्ञाकारी भेडा’ ठानिएका निरीह प्राणीहरुचाहिँ को हुन् ? कि यिनीहरुले बेहोसमा बर्बराएका हुन् ? सम्झेर ल्याउँदा अचम्म लाग्छ नि ! लाग्दैन र ?

यसै त यसमा अचम्म मान्नुपर्ने कुरा के छ ? देश र जनतालाई विदेशीको वधशालामा हुल्ने ठेक्का लिएका ‘बगरेहरु’ले ठेक्का बुझाउन गति छाडेर मरिहत्ते गरिरहेका छन् । अथवा भनौँ नेपाली तबेलामा बस्न, खान र पालिन आइपुगेका यी विदेशीका ‘लाजबाव घोडाहरु’ आफ्ना मालिकको बग्गी तान्न नाइटादेखिको बल झिकेर लागिपरेका छन् । घोडालाई मालिकको बग्गी तान्न रमाइलै लाग्छ क्यारे ! यसमा के अचम्म ?

तैपनि अचम्म लाग्छ । अनुहार हेर्दा दुरुस्त मान्छे । मान्छे पनि सालाखाला होइन, सत्तामा हालिमुहाली जमाएर बसेका चिल्लाचापुल्ला सुकिलामुकिला मान्छे । पढेगुनेका मान्छे । यतिसम्म विवेकहीन र कृतघ्न कसरी बन्न सकेका होलान् ? साँच्चै अचम्म लाग्छ । विवेकहीनताकै कारण यिनीहरुले आफ्नो त बदनाम गरे–गरे, नेपालमा अमेरिकी सरकारको पनि बदनाम गरिछाडे । नोकरले आफ्नै मालिकको बदनाम गरेको देख्दा पनि त अचम्म लाग्छ ।

हिजोसम्म कति नेपालीहरु अमरिकालाई प्रजातान्त्रिक मित्र देश ठान्थे, सम्मान गर्थे । विकासमा सहभागिताको सराहना पनि गर्थे । अहिले अमेरिकाको यो एमसीसी सम्झौताको ढड्डा पढेपछि र त्यस्तो सम्झौता पारित गराउन अमरिकाले पटक–पटक आफ्ना प्रतिनिधि पठाएर र सत्तालाई फोन गरेर अनावश्यक रुपमा जिद्दी र ढिपी कसेको देखे–सुनेपछि अमरिका त ज्यादै ज्याद्रो र बदमास रहेछ । हाम्रो नेपालमाथि खतरनाक साम्राज्यवादी पञ्जा गाडेर यसलाई युद्धमैदान बनाउँदै रित्याउन र सिध्याउन खोज्दो रहेछ, भन्ने तथ्य नेपाली जनताले राम्ररी थाहा पाए । आज नेपालका घरघरमा अमेरिकी सरकारको नीतिप्रति विद्वेष र घृणाको आगो बलेको छ । अमेरिकन एमसीसीलाई नेपाली जनताले ‘एमछिःछिः !’ भन्न थालेका छन् । कामको मर्म बुझेर नाम राख्न पनि त नेपाली जनताले राम्रै जानेका छन् । देशभक्त नेपालीलाई आफ्नो देश नेपालको माया लाग्छ नि ! किन लाग्दैन ? नेपाल र नेपालीको अहित चिताउनेहरुप्रति घृणा पनि त लाग्छ नि ! किन लाग्दैन ? सबै नेपाली बाबुराम, शेरबहादुर र केपी ओलीजस्तै कृतघ्न बन्न त सक्दैनन् नि ! होइन र ?

नेपालका जति कमाए पनि नपुगेका द्रव्यलुब्ध कृतघ्नहरुमा धेरथोर विवेक रहे÷भएको भए नेपाली जनतामा अमेरिकी सरकारको साम्राज्यवादी मनसायको खातखुत्तै पोल खुल्ने यो खतरनाक एमसीसी सम्झौतामा सहीछाप हाल्दैनथे । हाल्नै हुँदेनथ्यो । यस्तो घातक सम्झौता नेपाली जनताले मान्दैनन् भनेर बाबुराम, शेरबहादुर र केपी ओलीहरुले अमेरिकीरुलाई सम्झाइ–बुझाइ गरेर त्यति बेलै फर्काइदिन्थे । फर्काइदिनुपथ्र्यो । त्यति गरेको भए नेपालमा अमरिकी गिद्धे मनसायको यतिसम्म चर्चा हुँदैनथ्यो । जनताले अमरिकी नीति र करतुतप्रति घृणा गर्नुपर्ने अवस्था नै आउँदैनथ्यो । दुर्बुद्धिहरुको सङ्गतले कथित प्रजातन्त्रको हबल्दार पनि नराम्ररी फस्यो ।

जनताले यो यस्तो खतरनाक युद्धोन्मादले ग्रस्त सम्झौताबाट दिइने डलर जतिसुकै होस्, हामीलाई चाहिँदैन, फिर्ता लैजाऊ भनेर सडकमा नारा लाउँदा पनि अमरिकीहरु शेरबहादुरको टुप्पी समातेर ‘लौ न पास गर, छिटो पास गर !’ भनेर नसुहाउँदो करकर गरिरहेका छन् । यसो गर्नुले के जनाउँछ ? ग्राहकले लिन्न चाहिँदैन भनेपछि पसलेले करकाप गर्ने किन ? यसबाट अनिष्टको शङ्का त बढ्छ, बढ्छ । यो अनावश्यक किचकिच र करकरबाट विश्वशक्ति भनिने अमरिकाको इज्जत बढेको छ त ? विश्वसनीयता बढेको छ त ? छैन । जो भएको पनि घटेको छ । पटक–पटकको करकाप र करकरले नेपाली जनमानसमा अमरिका पटक–पटक नाङ्गिएको छ र थप घृणाको पात्र बनेको छ ।

एक कोणबाट हेर्दा हाम्रा शीर्ष भनाउँदाहरुका तुलनामा अमरिकीहरु स्पष्ट पनि छन् । उनीहरुले एमसीसी ‘लगानी’ हो र यसको ‘सामरिक स्वार्थ’ छ भन्ने यथार्थ आफ्ना डकुमेन्ट र ऐनहरुमा स्पष्ट खुलाएका छन् । सत्यतथ्य लुकाउने त नेपालका यी कमारा मानकिताका सत्तासीन राष्ट्रघाती मनुवाहरु हुन् । यी हत्केलाले घाम छेक्न खोज्नुजस्तो हास्यास्पद हर्कत गरिरहेका छन् । ‘यो अनुदान हो । यसले नेपालको गरिबी मेटिन्छ’ भन्दै मिडियामा बुरुकबुरुक हुने नेपालका नेता भनाउँदा दासानुदासहरु र कमारा बुद्धिजीवीहरु यो पुसमाघको ठण्डीमा पनि टिठ लग्दो रुपमा चरिनाङ्गा हुन पुगेका छन् । घर डढाएर खरानीको थुप्रोले धनी भइन्छ भन्ने उपदेश दिन लाज नमान्ने बिचरा बुद्धिजीवी जतिसुकै महँगा इन्डोअमरिकी परिधानमा सजिए पनि नेपाली जनजनका आँखामा नृशंश रुपमा नाङ्गिएका छन् । र, ह्वास्सै गन्हाएका छन् । देख्दा टिठ लाग्छ । तर के गर्ने ? ‘राम राम बोल्न सकिन्छ गाई लड्दा काँध थाप्न ता सक्छ को ?’

यहाँनिर नेपाली जनताले महाभारतभित्रको युधिष्ठिरको न्याय प्रसङ्ग सम्झनुपर्ने र तदनुसार इन्साफ गर्नुपर्ने जिम्मेवारी पनि बिर्सन मिल्दैन । जनताले बिर्संदैनन् । एक–एक हिसाब राखेका पनि छन् । तदनुसार राष्ट्रघाती आततायीहरुलाई एक–एक ठम्याएर जनताले तिनका शैक्षिक योग्यता र दिइएका जिम्मेवारीको दुरुपयोगका आधारमा उचित दण्ड सजाय दिने दिन पनि आउँछ । आउनै पर्छ । किनभने दण्डहीनताले बिग्रेको मुलुकलाई सपार्ने र सुधार्ने जिम्मेवारी अन्ततः जनताकै हो ।

नेपालका हिजोका राजनीतिक व्यक्तित्वहरु देश र जनताका लागि ज्यान दिन्थे, दिएका थिए । आजका नेता नामधारी कतिपय मनुवाहरु ज्यानका लागि देश सुम्पन अघि सरेका पनि देखिएका छन् । अचम्म लाग्छ । यिनका लोलुपता र लाछीपन देख्दा जनतालाई अचम्म लाग्छ । अचम्म लागेको छ । तर बहुसङ्ख्यक नेपाली जनता बहादुर जनता हुन् । विश्वविख्यात बहादुर जनता हुन् । ज्यूधन जोगाउन देशै वधशालामा हुल्न तम्सने सत्तासीन एकाध आत्मविक्रयी लाछीहरु त नेपाली नागरिकताधारी मानवाकार स्यालहरु मात्र हुन् । यिनीहरु स्वाधीन, सार्वभौम नेपाल र बहादुर नेपालीका प्रतिनिधि पात्र होइनन् । नेपालका आजका यी नालायक सत्तासीनहरुले अमरिकी ‘आची’को स्वादमा जबर्जस्ती एमसीसी पारित गराएछन् भने नेपाली जनता यी स्यालहरुलाई बा, हजुरबा भन्दै तिनका पछि लाग्दैनन् । बरु ती अपराधीलाई उचित दण्ड दिन्छन् । नेपालीहरु त देशभक्त छन् । देशका लागि ज्यान दिन तत्पर रहन्छन् । विदेशीले नेपालको भूमिमा आएर बिज्याइँ गरेको नेपाली जनताले टुलुटुलु हेरेर बस्दैनन् । नेपालीहरु संसारका जुनसुकै कुनामा पुगेका भए पनि नेपालमाथि अन्धकार आइलाग्दा ती राँको भएर दन्कन्छन् र नेपाल आइपुग्छन् । विदेशीहरु गलत मनसाय लिएर नेपाल पस्छन् भने ती धमिराको गोलामा पसेका सर्पजस्तै गरी नष्ट हुने छन् । ठेकेदार र घोडाहरुले पनि हेक्का राखे हुन्छ ।