‘एमसीसीमा सुधार गर्नुपर्ने विषय केके हुन् ?’

0
Shares

काठमाडौं, (नेस) ।

संसद्को चालू अधिवेशनबाटै अमेरिकी सहयोग परियोजना मिनेलियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) पारित गराउन लागिपरेका प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग एमसीसीमा सुधार गर्नुपर्ने विषयहरूका बारेमा सोध्नुभएको छ ।

प्रधानमन्त्री देउवाले बुधबार दुवै अध्यक्षसँग संयुक्त भेटवार्ता गर्दै सुधारका विषयमा सुझाव मागेको देउवाको सचिवालयले बताएको छ । देउवाले देशको हितबाहिर गएर सम्झौता नहुने स्पष्ट पार्दै सम्झौतामा सुधार गर्नुपर्ने विषयहरू आफूलाई उपलब्ध गराउन आग्रह गर्नुभएको सचिवालयले जनाएको छ । जवाफमा अध्यक्ष प्रचण्डले कतिपय बुँदा अध्ययन गर्दा संशोधन नगरी पारित गर्न नसकिने अवस्था रहेको पुरानै अडान दोहोर्याउनुभएको थियो । प्रचण्डको स्वकीय सचिव रमेश मल्लले एमसीसीको विषयमा दलहरूको आ–आफ्नै धारणा रहेको बताउँदै तीन नेताबीच पुनः छलफल गरेर अगाडि बढ्ने सहमति भएको बताउनुभयो ।

एकीकृत समाजवादीका अध्यक्ष नेपालले सबै देशसँग राम्रो सम्बन्ध राख्नुपर्ने तर सम्झौताको नाममा आन्तरिक मामिलामा हस्तक्षेप गर्न नदिने अडान राख्नुभएको बताइएको छ ।

प्रधानमन्त्री देउवा एमसीसी संसद्बाट पारित गराउने गृहकार्यमा हुनुहुन्छ । तर सत्ता सहयात्री माओवादीका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष नेपाल संशोधन गरेर मात्र एमसीसी अगाडि बढाउनुपर्ने आ–आफ्नै अडानमा हुनुहुन्छ । जसको कारण सत्ता गठबनन्धभित्र एमसीसी अगाडि बढाउने विषयमा साझा सहमति निर्माण हुन सकिरहेको छैन ।

सहमति निर्माणका लागि सत्ता गठबन्धले तीन सदस्यीय कार्यदल पनि गठन गरेको थियो । उक्त कार्यदलले संशोधन गरेर मात्र एमसीसी अगाडि बढाउन प्रधानमन्त्री देउवालाई सुझाव दिइसकेको छ ।