छेडागाडमा बाख्रा ब्लक स्रोत केन्द्र स्थापना



जाजरकोट ।

छेडागाड नगरपालिका–५ मा बाख्रा ब्लक स्रोत केन्द्र स्थापना भएको छ । समाज सुधार कृषि सहकारी संस्थाको आयोजना र पशु अस्पताल तथा पशु सेवा कार्यालयको आर्थिक सहयोगमा बाख्रा ब्लक स्रोत केन्द्र स्थापना गरिएको हो ।

संघीय सरकारबाट प्राप्त ३० लाख बजेट पशु अस्पताल तथा पशु सेवा कार्यालयले बाख्रा ब्लक स्थापना गर्न छेडागाड– ५ मा बाख्रा ब्लक स्थापना गरेको पशु अस्पताल तथा पशु सेवा कार्यालय जाजरकोटका प्रमुख जरबहादुर भक्रीले बताउनुभयो ।

गरिब विपन्न सीमान्तकृत वर्गको आय–आर्जनमा वृद्धि कृषि सहकारीले गर्न सक्ने भएकाले २०७२ सालमा २५ जना युवाले समाज सुधार कृषि सहकारी नामक संस्था दर्ता गरी १ सय रुपियाँ बचत गर्दै हाल छेडागाड नगरपालिकाका १३ वटै वडाका ७ सय ३८ जना सेयर सस्दस्यमा आवद्ध भएका छन् ।

आय–आर्जनमा सुधार ल्याउन संघीय सरकारमार्फत् पशु अस्पताल तथा पशु सेवा कार्यालय जाजरकोटबाट प्राप्त ३० लाख, संस्थाको आन्तरिक कोषबाट ९ लाख ५० हजार लागतमा १० वटा बोयर बोका, ५० वटा उन्नत जात जमुनापारी, खरी जातका १ सय वटा,पाठापाठीसहित २ सय बाख्रा संस्थामा आबद्ध ५० जना सदस्यलाई वितरण गरेको सेयर सदस्य कर्णबहादुर नेपालीले बताउनुभयो । कोरोनाको तेस्रो लहर संक्रमण उच्च जोखिम रहेका बेला गरिब विपन्न दलित सीमान्तकृत वर्गको आयआर्जनमा सुधार ल्याउन बाख्रा वितरण गरेका छौं, उहाँको कथन छ ।

पशु अस्पताल तथा पशु सेवा कार्यालयका प्रमुख भक्रीले जिल्लामै पहिलो बाख्रा ब्लक स्थापना गरेकोले आम्दानीको स्रोतका रूपमा लिनु पर्ने, किसानले पाएका बाख्राबाट धेरै बाख्रा उत्पादन गरी आयआर्जन बढाउन, अन्य पालिकामा आवश्यक परेका बेला निर्यात गर्ने गरी निजी सम्पतिको रूपमा लिएर पाल्न आग्रह गर्नुभयो । जिल्ला समन्वय समिति जाजरकोटका प्रमुख मनबहादुर रावलले बाख्रा पालन व्यवसायले गरिबी अन्त्य, आत्मनिर्भर, आय–आर्जनमा वृद्धि, व्यावसायिक बन्न उत्प्रेरणा पैदा गर्ने भएकाले स्रोतको रूपमा लिनुपर्ने बताउनुभयो ।

बाख्रा पालन व्यवसायीसँगै घाँस खेती गर्न सुझाव दिनुभयो । गरिब विपन्न सीमान्तकृत परिवारका सदस्यले बाख्रा, कुखुरा, तरकारी व्यवसायले आत्मनिर्भर हुने उहाँको भनाइ थियो । कोभिड १९ को संक्रमण दर उच्च भएकोले सतर्कता अपनाउन स्वास्थ्यका मापदण्ड पालन, स्वास्थ्य संस्थामा गएर अनिवार्य रूपमा खोप लगाउन प्रमुख रावलले आग्रह गर्नुभयो ।

छेडागाड नगरपालिका ५ की शारदा नाथले बाख्रा पाएपछि खुसी हुँदै संस्थाले व्यावसायिक बनाई दिएकोमा खुसी व्यक्त गर्नुभयो । बाख्रा पालन व्यवसायबाट आत्मनिर्भर हुने विश्वास व्यक्त गर्नुभयो । समाज सुधार सहकारी संस्थाले ५० जना सेयर सदस्यलाई प्रतिसदस्य ३ वटाका दरले बाख्रा वितरण गरेको थियो । प्रतिसदस्य मासिक एक सय रुपियाँ जम्मा गर्दै संस्थाले ८ लाख बचत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्