महाकाली नदीमा पुल निर्माणका लागि नेपाल र भारतबीच सम्झौता

0
Shares

न्युजअफ नेपाल, काठमाडौं ।

महाकाली नदीमा पुल निर्माणका लागि नेपाल र भारत सरकारबीच सम्झौता सम्पन्न भएको छ । मंगलबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवको उपस्थितिमा मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राबीच दार्चुला (नेपाल) र धार्चुला (भारत) जोड्ने महाकाली नदीमा पुल बनाउने सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको हो ।

सिंहदरबारस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको सम्झौता हस्ताक्षर कार्यक्रममा बोल्दै मन्त्री यादवले नेपालको विकासका हरेक क्षेत्रमा भारत सरकारको सहयोग रहेको भन्दै महाकाली नदीमा बन्ने पुलले नेपाल र भारतबीचको आवागमन सहज हुने बताउनुभयो ।

उहाँले पुल बनिसकेपछि त्यहाँका जनताको जनजीवन तथा दुई देशबीचको सम्बन्धलाई अझै उचाईमा पुर्‍याउने विश्वास समेत व्यक्त गर्नुभयो । मन्त्री यादवले निर्धारित समयमै पुलको निर्माण कार्य सम्पन्न गरी दुवै देशका जनताको सहज आवागमनको चाहनालाई छिटो पूरा गर्नेतर्फ लाग्न पनि दुवै देशका सम्बन्धित अधिकारीहरुसँग आग्रह गर्नुभयो ।

कार्यक्रममा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले नेपाल र भारतको सीमा जोड्ने महाकाली नदीमा पुल बनाउने कुरामा भएको सम्झौता खुशीजनक रहेको बताउदै भारत सरकार र नेपाल सरकारको सहकार्यमा धेरै कामहरू भइरहेको उल्लेख गनुृभयो ।

राजदूत क्वात्राले नेपाल र भारत सरकारको तर्फबाट महाकाली नदीमा बनाइने पुलको काम दुवै देशको सहकार्यमा समयमा नै सम्पन्न हुने बताउनुभयो । कार्यक्रममा भौतिक पूर्वाधार त था यातायात मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठले महाकाली नदीमा पुल निर्माण हुन सुखद विषय रहेको बताउदै समयसीमाभित्र न सम्पन्न गर्ने विश्वास व्यक्त गर्नुभयो ।