वीरगन्ज ।
पुस ३० गते नारायणी एफएम वीरगन्जमा बिहानको डिउटी थियो । बिहान ११ बजेसम्म डिउटी सकाएर खाना खाई सार्वजनिक बस नै चढेर हेटौंडा आएँ । हेटौंडामा मेरो परिवारमा बस्ने गर्दछन्, मेरो भने कार्यक्षेत्र वीरगन्ज भएकाले शुक्रबारको डिउटी सकाएर घर फर्किएको थिएँ ।
मेरो स्वास्थ्य अवस्था सामान्य थियो । ओमिक्रोनको समाचारको विषयमा रेडियोबाट नै धेरै कुरा पटक–पटक जानकारी गराएका कारण जानकारी थियो । मलाई कोरोना हुने खतरा पनि उत्तिकै थियो किनभने पेसाले पत्रकार भएपछि यो जोखिम स्वाभाविक पनि थियो ।
माघ २ गते घरमा सामान्य पूजाको कार्यक्रम राखेको थिएँ । त्यसका कारण माघ १ गते नै घरमा एकखालको जमघट भयो, पारिवारिक । मलाई कोरोना भए त जित्न सकुँला तर आमाहरु (आमा र सासूआमा) ठूलोबुबा, बालबच्चाहरुलाई लागे त गाह्रो होला भन्ने सोच्दै पूजाको तयारीमा जुट्दै थिएँ । २ गते बिहानै पत्नी सीताको आग्रहमा बिहानै करिब ५ बजेतिर नै उठेर घरको पूजा गर्ने ठाउँ मिलाउन लाग्यौं ।
सोही समयमा अकस्मात् मलाई असहज भयो र निकै जाडो भयो । गह्रौं सामान तह लगाएपछि मैले श्रीमतीलाई तिमी आफैं अरू काम गर, मलाई गाह्रो भयो भनेर सुतें । निन्द्रा यस्तो लाग्यो कि उठ्न मन लागेन । क्षणभरमा शरीरमा के–के भयो भयो । धेरै गाह्रो बनायो । ८ बजेबाट पूजा शुरु गर्नुपर्ने भएकाले बल्ल–बल्ल ७ः३० बजेतिर उठी नुहाएर तयार भएँ । मनमा चिसो पस्यो तर होइन होला भन्ने लाग्यो । पूजा अपराह्नतिर सकियो । केही छिमेकीबाहेक अरूलाई खबर नगरेकाले भीडभाड थिएन, अलि टाढै बसेर पूजा गरें ।
पूजाकै दिनमा केही आफन्त घर गए, केही भोलिपल्ट गए । भोलिपल्ट झन् मलाई अप्ठेरो भयो र रुघाखोकी एकदमै लाग्यो । अनि घरमा मलाई कोरोना भयो भनें । घरका मान्छेले पत्याएनन् । खासै सावधानी भइएन । अनि ४ गते बिहानै हेटौंडाको गोरक्षश्वर मन्दिरमा (जहाँ स्वाब संकलन हुने गर्दछ) पुगें । हेटौंडा उपमहानगरपालिकाका स्वास्थ्य निरीक्षक भोला चौंलागाईं आफैं स्वाब संकलन गर्दै हुनुहुँदोरहेछ । उहाँसँग मलाई समस्या भयो कोरोना चेक गर्नुपर्यो भनें र स्वाब दिएर घर फर्कें ।
घरमा त्यति बेला मेरी श्रीमतीसहित छोराहरु र ६५ वर्षीया आमा हुनुहुन्थ्यो । आमालाई लाग्छ कि भनेर पनि डर लाग्यो । ४ गते बेलुका आउनुपर्ने रिपोर्ट आएन, खबर आउला भनेर त्यतिकै बसें । ५ गते राति करिब ८ बजेतिर भोला चौलागाईंलाई फोन गर्दा उहाँले पोजेटिभ भएको जानकारी दिनुभयो । स्वास्थ्यमन्त्रीको जिल्लाको कोरोना परीक्षण अनि लापारबाही वास्तवमा उदेकलाग्दो थियो । प्रदेश राजधानीको त हालत यस्तो छ भने अन्यत्र के होला भन्ने कल्पना आयो ।
होम आइसोलेसनमा बसें । सम्बन्ध नजिक भएका नाताले वीरगन्जको नारायणी अस्पतालका कोभिड संयोजक डा. उदयनारायण सिंहलाई आफू कोभिड संक्रमित भएको जानकारी गराएँ र उहाले चार प्रकारमा औषधि खान सुझाउनुभयो ।
भोलिपल्ट ६ गते डा. सिंहले लेखिदिनुभएको दबाई लिनका लागि हेटौंडा उपमहानगरपालिका–८ मा रहेको स्वास्थ्य चौकीमा गएँ । कोरोना संक्रमितलाई त्यहाँका स्वास्थ्यकर्मीको व्यवहार कस्तो हुन्छ भन्ने बुझ्नका लागि पनि त्यहाँ गएँ । त्यही दिनदेखि श्रीमतीमा पनि संक्रमणको लक्षण देखिएको थियो । तर, उनको परीक्षण भने भएन/गरिएन, सावधानी अपनाइयो ।
स्वास्थ्य चौकीमा जाँदा संयोगले त्यो दिन खोप लगाउने दिन परेको रहेछ । मैले स्वास्थ्यकर्मीलाई आफू संक्रमित भएको र केही दबाई आवश्यक रहेको बताएँ तर उनीहरुले तत्काल औषधि दिन नभ्याउने कुरा गरे । मैले पनि म टाढाबाट आएकाले औषधि दिन फेरि आउन नसक्ने बताएपछि बल्ल–बल्ल जुनियर महिला स्वास्थ्यकर्मीले झर्कीफर्की गर्दै सिनियर महिला स्वास्थ्यकर्मीकोमा गइन् । उनको पछि–पछि लागें । सिनियर स्वास्थ्यकर्मीको कोठा अर्को थियो अनि उनलाई पनि मैले जानकारी गराएपछि डा. सिंहले लेखिदिनुभएको औषधि अस्वीकार गर्दै अर्को दबाई लेखिदिइन् र त्यही खान भनिन् । उनी पनि झर्कीफर्की गर्दै थिइन् ।
उनीहरुले म कोरोना संक्रमित भनेर हेंला त गरेका थिएनन् तर व्यवहार भने एकदमै रूखो थियो । सायद भीड थियो, त्यही भएर होला, मैले यही बुझें । अनि जुनियर स्वास्थ्यकर्मीलाई दबाई दिन निर्देशन भएअनुसार उनी स्टोर रुममा छिरिन् र म पनि छिरें । उनले मलाइ थप भिटामिन डी र सी दिइन् अनि भन्दै थिइन्– ‘यो लुकाउनू ।’ मलाई खाने तरिका राम्रोसँग बताइनन् । उनको व्यवहार यस्तो थियो कि मानौं दबाई छैन तर पनि मैले लुकाएर दिएको छु ।
यद्यपि उनको र मेरो कुनै परिचय थिएन । म एक सेवाग्राही उनी स्वास्थ्यकर्मी । मनमा लाग्यो किन लुकाउन पर्छर, सरकारले नै दिने व्यवस्था गरेको औषधि । यस्तै कुरा मनमा खेलाउँदै घर फर्किएँ ।
सोही दबाई खाएर आइसोलेसनमा बसें । समस्या विस्तारै सुधार हुँदै गयो । एक दिन पनि यो बीचमा कुनै स्वस्थ्यकर्मीले फलो गरेनन्, चासो दिएनन् । सात दिन आइसोलेन बसें । डा. सिंहले भने पाँच दिन बस्न सुझाव दिनुभएको थियो । थप दुई दिन बसें । फेरि कोरोना परीक्षण गर्न पर्दैन भनियो । अब निको भएको आधार लक्षण नदेखिएकालाई मान्नपर्ने सोचें ।
अन्तिममा, मेरो अनुभव यहाँहरुलाई बताइरहँदा मुख्य कुरा खोपका कारणले हामीलाई ओमक्रोन जित्न सहज भयो भन्ने लाग्छ । हामी दुवैजनाले कोरोनाको दुवै डोज खोप लगाएका थियौं र धेरै गाह्रो हामीलाई भएन । त्यसैले जसले खोप लगाउनुभएको छैन भने लगाउन आवश्यक छ । लक्षण देखिए परीक्षण पनि गर्न आवश्यक छ । किनभने अरू राग र कोरोनाको औषधि फरक छ ।
प्रतिक्रिया