प्रभावकारी भएन स्वास्थ्य बीमा

0
Shares

लमजुङ ।

लमजुङमा ७५ वटै वडामार्फत जनशक्ति परिचालन गरी स्वास्थ्य बीमा अभियान शुरू गरे पनि प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । जिल्लाका तथ्यांकअनुसार हालसम्म १२ हजार ४ सय ५३ जनाले मात्रै स्वास्थ्य बीमा गरेका छन् ।

सामाजिक न्यायमा आधारित स्वास्थ्य बीमा कार्यक्रममा एक वर्षको अवधिमा यो संख्याले बीमा गरेको पाइएको हो । नागरिकलाई स्वास्थ्य सेवामा सहज पहुँच पुर्याउने उद्देश्यले सरकारले शुरु गरेको स्वास्थ्य बीमा कार्यक्रम लमजुङमा अघिल्लो आर्थिक वर्षदेखि शुरु भएको थियो । जिल्लामा साधरणतर्फ १ हजार ९ सय ६५ परिवारका ७ हजार ७ सय ९८ जनाको स्वास्थ्य बीमा भएको स्वास्थ्य बीमा कार्यक्रम फोकल पर्सन अनुपमा रेग्मीले बताउनुभयो । उहाँका अनुसार स्वास्थ्य बीमा गर्नेहरुमा सबैभन्दा धेरै बेंसीशहरका रहेका छन् । बेंसीशहरमा मात्रै ३ हजार २ सय ७८ जनाको बीमा भएको छ ।

कार्यक्रम फोकल पर्सन रेग्मीका अनुसार जिल्लाको मस्र्याङ्दी गाउँपालिकाअन्तर्गत २ हजार ३ सय ४४ जनाको स्वास्थ्य बीमा भएको छ । त्यसै गरी, सुन्दरबजार नगरपालिकामा १ हजार ६ सय ३३, राइनास नगरपालिकामा १ हजार ५ सय ८५, मध्यनेपाल नगरपालिकामा १ हजार ३ सय ३१, दोर्दी गाउँपालिकामा ८ सय २९, क्होलासोंथारमा ८ सय २३ र दूधपोखरी गाउँपालिकामा ६ सय २५ जनाको मात्रै बीमा भएको छ ।

साधारण बीमाबाहेक जिल्लाका १ सय ७९ महिला स्वास्थ्य स्वयंसेविकाको परिवारबाट ७ सय १० जनाले बीमा गरेको पाइएको छ । त्यस्तै, १ सय ३८ अपांगता भएका परिवारबाट ५ सय ४८ जना, एचआईभी संक्रमित ४६ जनाको परिवारबाट ९५ जना, कुष्ठरोग भएका एक जनाको परिवारबाट दुई जनाको स्वास्थ्य बीमा भएको छ । सोबाहेक जिल्लाका ३ हजार ३ सय जेष्ठ नागरिकको बीमा भएको तथ्यांकले देखाएको छ ।

स्वास्थ्य बीमा प्रभावकारी कार्यान्वयनका लागि जिल्लाका सबै वडामा बीमा दर्ता सहयोगी नियुक्त गरी तालिमसमेत प्रदान गरिएको थियो । प्रत्येक वडामा दर्ता सहयोगी नियुक्त गरे पनि आवश्यक सचेतनाको अभावका कारण स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी हुन नसकेको रेग्मीको भनाइ छ ।

सरकारले नागरिकको गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच र उपयोगमा सुधार ल्याई स्वास्थ्य बीमाका आधारमा सबैको स्वास्थ्य सेवा सुनिश्चित गर्ने राष्ट्रिय स्वास्थ्य बीमा नीति–२०७१ को दीर्घकालीन लक्ष्यअनुसार कार्यक्रम अघि बढाएको हो । स्वास्थ्य बीमा गर्नका लागि पाँच जनासम्मको परिवारले वार्षिक ३ हजार ५ सय र पाँच जनाभन्दा बढी सदस्य भएमा प्रतिसदस्यको थप ७ सय बीमा रकम तिर्नुपर्ने व्यवस्था छ ।

स्वास्थ्य बीमा गरेमा सरकारले निःशुल्क प्रदान गर्ने सेवासँगै बहिरंग, अन्तरंग र आकस्मिक कक्षबाट प्रदान गरिने सेवा, स्वास्थ्य बीमा कार्यक्रमले तोकेका निदानात्मक र परीक्षण सेवा पनि पाउने छन् । त्यस्तै, पाँच जनाको परिवारले आवश्यक पर्दा वार्षिक १ लाख र पाँच जनाभन्दा बढी सदस्य भएका परिवारले प्रतिसदस्य २० हजार थप गरी २ लाखसम्मको स्वास्थ्य सेवा उपभोग गर्न पाउने व्यवस्था पनि रहेको छ ।

कुनै पनि परिवारमा पाँच जनाले स्वास्थ्य बीमा गरेका छन् भने पाँचवटै कार्ड तथा परिचयपत्र स्वास्थ्य बीमाले उपलब्ध गराउने छ । उक्त परिचयपत्रको आधारमा नै बिरामी भएपश्चात् तोकिएको रकम बराबरको सेवा लिन सकिने व्यवस्था छ । स्वास्थ्य बीमा कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी बनाउन स्वास्थ्य बीमा ऐन–२०७४ र स्वास्थ्य बीमा नियमावली–२०७५ जारी भई कार्यान्वयनको चरणमा रहेका छन् ।