२० हजार ८ सय १५ क्याप्सुल नियन्त्रित लागूऔषधसहित ५ जना पक्राउ

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

२० हजार ८ सय १५ क्याप्सुल नियन्त्रित लागूऔषधसहित ५ जना पक्राउ परेका छन् । उनीहरुहरुलाई विभिन्न मिति र ठाउँबाट लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले पक्राउ गरेको जनाएको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं सिफल बस्ने रामेछाप गोकुलगंगा गाउँपालिका-१ का २५ वर्षीय सुनिल भन्ने निमा दोर्जे शेर्पा, काठमाडौं गोकर्णेश्वर बस्ने बझाङ चैनपुर नगरपालिका-८ का २९ वर्षीय उमेश कुमार केसी, काठमाडौं चाबहिलस्थित कल्याणकारी मेडिकल हलका संचालक संखुवासभा पाँचखपन गाउँपालिका-७ स्थायी ठेगाना भएका ३० वर्षीय पेम्वा शेर्पा, नुवाकोट म्यगङ गाउँपालिका-५ का ३४ वर्षीय राजाराम दवाडी र काठमाडौं टोखा बस्ने लमजुङ मध्यनेपाल नगरपालिका(१ ठेगाना भएका ३८ वर्षीय बद्रिनाथ पौडेल छन् ।

उनीहरूमध्ये निमाबाट १ सय १५ ट्याब्लेट ट्रामाडोल र उमेशकुमारबाट २० हजार ७ सय क्याप्सुल ट्रामाडोल बरामद भएको छ । यस्तै पेम्वा शेर्पाबाट २ सय ९० ट्याब्लेट लोबाजाम, १ सय ५३ ट्याब्लेट लोरी, १ सय ट्याब्लेट निट्रेस्ट, ९० ट्याब्लेट जोलियुम, २ सय ७५ ट्याब्लेट कोडोट्याब, ३ सय ९० ट्याब्लेट क्लोजिप क्लोजिप, १४ ट्याब्लेट क्लोप्रियुम, ५ सय १८ ट्याब्लेट पाज, २ सय ८५ ट्याब्लेट क्लोनाज, ३० ट्याब्लेट स्टागन र ५० ट्याब्लेट कोफटाब बरामद भएको प्रहरीले जनाएको छ ।

राजारामबाट बा. ११ च १०१४ नम्वरको भ्यानमा ल्याएको १ सय ८० ट्याब्लेट लेभोनोरजेस्ट्रेल, ९० ट्याब्लेट अन्वान्टेड लेभोनोरजेस्ट्रेल, ८ सय ५० थान सफ्टजेल क्याप्सुल, ६ सय ७२ ट्याब्लेट बर्थ स्पेसिङ पिल्स, ३० वटा ल्याबोडर्म, १ सय ८४ ट्याब्लेट जेनेग्रा, १ सय ६० ट्याब्लेट जेनेग्रा रेड र ९० ट्याब्लेट प्रेगौट किक तथा बद्रिनाथ पौडेलबाट नगद १ लाख ४० हजार रुपैयाँ बरामद पनि प्रहरीले जनाएको छ ।

उपत्यकामा नियन्त्रित लागूऔषध ट्रामाडोलको अवैध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा लागू औषध नियन्त्रण ब्यूरो तथा औषधी व्यवस्था विभाग बिजुलीबजारबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई लागूऔषध सहित पक्राउ गरेको हो ।

बरामद औषधी, सवारी साधन र नगद सहित उनीहरूलाई आवश्यक कानूनी कारबाहीको लागि औषधी व्यवस्था विभाग बिजुली बजार पठाईएको लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरले जनाएको छ ।