पत्रकार एलबी विश्वकर्माको मृत्युबारे छानबिन गरी दोषीलाई कारबाही गर्न माग

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

समयमै उपचार नपाएर ज्यान गुमाएका पत्रकार एलबी विश्वकर्माको घटनाको न्यायिक छानबिन गरी दोषीलाई कारबाहीको माग गरिएको छ । श्रमजीवी पत्रकार सङ्घ नेपालले परिवारलाई क्षतिपूर्ति दिनुपर्ने, परिवारलाई रोजगारी दिनुपर्ने र मृतकका छोराछोरीको पठनपाठनको व्यवस्था गर्नुपर्ने माग गर्दै आज नयाँवानेश्वरस्थित सिभिल अस्पतालमा एक घण्टा धर्ना दिएको छ ।

टिभी टुडे टेलिभिजनमा कार्यरत पत्रकार विश्वकर्माको स्वास्थ्यमा अचानक समस्या देखिएपछि यही माघ ५ गते बुधबार राति ललितपुरस्थित पाटन अस्पताल पुर्‍याइएपछि उपचारकै क्रममा ६ गते बिहीबार बिहान ३ बजे निधन भएको थियो ।

सङ्घले सिभिल अस्पतालले आफू खुसी छानबिन समिति गठन गरेको भन्दै तत्काल खारेज गरी नेपाल मेडिकल काउन्सिलको नेतृत्वमा न्यायिक छानबिन समिति गठन गर्नुपर्ने र पत्रकारलाई सिभिल अस्पतालसहित देशभरका अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गर्नुपर्ने मागसमेत गरेको छ ।

श्रमजीवी–पत्रकार सङ्घ, नेपालको आग्रहपछि टिभी टुडे टेलिभिजन व्यवस्थापनले स्व विश्वकर्माको किरिया खर्चबापत तत्काल रु २१ हजार उपलब्ध गराएको थियो । बाँकी बच्चाको पढाइ खर्च स्व पत्रकारको जीवनसँगिनीको खातामा जम्मा गरिदिने प्रतिबद्धता व्यक्त गरिएको छ ।

सङ्घले पत्रकार विश्वकर्माको उपचारमा लापरबाही गरेको भन्दै आन्दोलन गर्दै आएको छ । उपचारका लागि सिभिल अस्पताल पुर्‍याइएका पत्रकार विश्वकर्मालाई कोरोना टेस्ट विना उपचार नहुने भनेर लापरबाही गर्दा उनको मृत्यु भएको सङ्घको भनाइ छ ।

२६ वर्षीय स्व विश्वकर्माका श्रीमती र तीन वर्षीय एक छोरा छन् । अछामको रामारोशन निवासी विश्वकर्मा पछिल्लो समय काठमाडौँमा रही पत्रकारितामा सक्रिय थिए । उनले इमेज टेलिभिजन, जनता टेलिभिजन, इकागज डटकम लगायतमा काम गरेका थिए । राष्ट्रिय दलित पत्रकार सङ्घ, नेपालले पत्रकार विश्वकर्माले सहज उपचार नपाउँदा निधन भएको जनाउँदै सो विषयमा तत्काल छानबिन गरी उपचारमा लापरबाही गर्ने अस्पताललाई कारबाही गर्नुपर्ने माग गरेको छ ।