स्थानीय तह निर्वाचन वैशाखमै गर्न एमालेको माग

0
Shares

भक्तपुर ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको जनसंगठन समन्वय संयन्त्रको बैठकले स्थानीय तह निर्वाचनको मिति तत्काल घोषणा गर्न माग गर्दै आन्दोलनको घोषणा गरेको छ ।स्थानीय तहको निर्वाचन नगराउने षड्यन्त्र भइरहेको भन्दै चुनावका लागि सरकारलाई बाध्य पार्ने गरी एमालेका भातृ संगठनहरु आन्दोलनमा उत्रिएका हुन् ।

भक्तपुरको गठ्ठाघरमा बसेको संयन्त्रको बैठकले सत्ता गठबन्धन स्थानीय चुनाव नगर्ने र संविधान मिच्ने काममा खुलेआम लागेको ठहर गर्दै आन्दोलनको घोषणा गरेको हो ।बैठकले २२ वटै जनसंगठनलाई परिचालन गर्ने निर्णय गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको एमाले पोलिटब्युरो सदस्य तथा युवा संघ इन्चार्ज महेश बस्नेतले बताउनुभयो ।

एमाले सम्बद्ध २२ वटै जनबर्गीय संगठनले सोमबारसम्म निर्वाचनको मिति घोषणा गर्न सरकारलाई अल्टिमेटम दिंदै भोली र पर्सि ७७ वटै जिल्ला प्रशासन घेराउ गर्ने ,प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने र माइतीघर मण्डलामा धर्ना दिने लगायत निर्णय गरेको युवा संघ इन्चार्ज महेश बस्नेतले बताउनुभयो ।

संयन्त्रले प्रधानमन्त्री शेरबहादुर देउवालाई सोमबार भेटेर निर्वाचन घोषणा गर्न दबाब दिने र  माइतीघर मण्डलामा प्रदर्शन गर्ने लगायतका कार्यक्रम तय भएको उहाँले बताउनुभयो ।बैठकले २२ वटै संगठनले आआफ्नो तर्फबाट विज्ञप्ति निकालेर बिरोध गर्ने निर्णय गरेको छ । विशेषगरी बैठकले चुनाव सार्ने र टार्ने सरकारको षडयन्त्रप्रति आपत्ति जनाएको छ भने प्रधानमन्त्रीले राष्ट्रपतिसँग भएको कुरालाई गठबन्धनको बैठक मार्फत एक्सपोज गर्नु दूर्भाग्यपूर्ण भएको निष्कर्ष निकालेको बस्नेतले बताउनुभयो ।

यसै गरी  बैठकले सरकारले निर्वाचनको मिति घोषणा गर्न आलटाल गरे यो अधिकार निर्वाचन आयोगलाई दिनुपर्ने समेत माग गरेको उहाँले बताउनुभयो ।सोमबारसम्म निर्वाचनको मिति घोषणा नगरे आन्दोलन संयोजन समितिको बैठक बसी थप निर्णय गर्ने भएको छ । आन्दोलन समितिको संयोजकमा जनसंगठन समन्वय संयन्त्रका इन्चार्ज भानुभक्त ढकाल र सबै जनसंगठनका इन्चार्ज र अध्यक्ष सहित ४५ जना रहेका छन् । एमाले जनसंगठन समन्वय संयन्त्रको बैठकले सोमबारसम्म निर्वाचनको मिति घोषणा नगरे सशक्त आन्दोलन गर्ने निर्णय गरेको छ ।

महँगी, भ्रष्टाचार,स्वास्थ्य सामग्री हिनामिना,  खस्किँदो अर्थतन्त्र लगायतका विषयलाई समेत समेटेर निर्वाचनको घोषणा गर्न माग गर्दै जिल्ला प्रशासन घेराउ गर्ने र प्रमुख जिल्ला अधिकारीहरूलाई ज्ञापन पत्र बुझाउने निर्णय  बैठकले गरेको हो । अध्यक्ष केपी  ओलीको निर्देशन लगत्तै शनिवार जनसंगठन समन्वय संयन्त्रको बैठक बसेर आन्दोलनको घोषणा गरेको हो ।

यसैबिच सत्ता गठबन्धनले आगामी वर्षको जेठ महिना भित्र स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको केही बेरमै एमालेले वैशाख भित्र निर्वाचन गर्नुपर्ने माग अघि सारेको छ ।
जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकालले जारी गरेको विज्ञप्ती अनुसार संविधान कानुनको अपव्याख्या गरेर स्थानीय तहलाई जनप्रतिनिधी बिहिन बनाउने गठबन्धनको षडयन्त्रप्रति आन्दोलित हुने निर्णय पनि गरेको छ । ‘संविधानको धारा २१५ र २१६ ले गाउँ,नगरपालिकाको अध्यक्ष/प्रमुख, उपाध्यक्ष/उपप्रमुख वडा अध्यक्ष र सदस्यहरूको प्रत्यक्ष निर्वाचन हुने र निर्वाचित हुने मितिले ५ वर्ष पुगेकै दिन पदमुक्त हुने व्यवस्था छ’ ढकालले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘त्यसैले संविधानले गरेको व्यवस्था अनुसार नै वैशाख भित्रै स्थानीय तहको निर्वाचन गर्नुपर्दछ ।’

‘स्थानीय तहको निर्वाचन तुरुन्त गर,संविधान र लोकतन्त्रको रक्षा गर’ भन्ने मूल नाराका साथ सबै जनसंगठनहरुलाई आन्दोलनमा होमिन आह्वान गरिएको छ ।